सरकारले दुईवटा केबलकार आयोजनालाई सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
गत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नवलपुर जिल्लाको मौलाकालिका पुग्ने र रुपन्देहीको सिद्धार्थ केबलकार आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दुई आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको जानकारी दिए।
उनका अनुसार मौलाकालिका केवलकार आयोजनाको रो अलाइनमेन्ट (१०–१० मिटरसहित केही संरचना रहने गरी) र माथिल्लो स्टेसन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापूर्व नवलपुर)को गैडाकोट नगरपालिका १ मा पर्ने मौलाकाली सामुदायिक वन÷मौलाकालिका धार्मिक वन समेत गरी कुल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न पाइनेछ।
त्यस्तै, सिद्धार्थ केवलकार आयोजनाले तल्लो स्टेसन निर्माण गर्न रुपन्देहीको बुटवल उपमहानगरपालिका १ स्थित राष्ट्रिय वन क्षेत्रको थप कुल जम्मा २.११८ हेक्टर जग्गा प्रयोग गर्न पाउने भएको छ।
Shares

प्रतिक्रिया