ad ad

कारोबार


दोहोरो अंकले घट्यो नेप्से, ३९ प्रतिशत आयकर लगाउनुपर्ने सिफारिसले डराए लगानीकर्ता

दोहोरो अंकले घट्यो नेप्से, ३९ प्रतिशत आयकर लगाउनुपर्ने सिफारिसले डराए लगानीकर्ता

नेपालखबर
असार ४, २०८१ मंगलबार १५:५८, काठमाडौँ

सेयर कारोबारबाट प्राप्त आयमा ३९ प्रतिशत आयकर लगाउनुपर्ने सिफारिसले मंगलबारको बजार प्रभावित बनेको छ। 

विद्याधर मल्लिकको संयोजकत्वमा गठित करप्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सेयर कारोबारबाट प्राप्त लाभमा लाग्दै आएको पुँजीगत लाभकर १० प्रतिशत पु¥याउनुपर्ने र व्यक्तिगत आयकरअनुरुप ३९ प्रतिशत कर लगाउन सरकारलाई सिफारिस गरेको थियो। 

लगानीकर्ताले हाल लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम मान्नुपर्ने माग गरिरहेका बखत व्यक्तिगत आयकर समेत लगाउन सिफारिस भएपछि त्यसको प्रत्यक्ष असर मंगलबारको धितोपत्र दोस्रो बजारमा देखिएको हो। 

मंगलबार १८.७६ अंकले नेप्से सूचक घट्दा लगानीकर्ताले ४ अर्ब ५ करोड रुपैयाँको मात्रै कारोबार गर्न पुगे। आइतबार मात्रै घटेको बजारमा पनि साढे ५ अर्बबराबरको कारोबार गरेका लगानीकर्ताले कर वृद्धिको समाचार आएसँगै कारोबार खुम्च्याएका छन्। मंगलबार कुल ३ सय १८ कम्पनीको ५८ हजार १ सय १९ पटक सेयर खरिदबिक्री भएको छ भने १०८ वटा कम्पनीको सेयर मूल्य घटेको छ।  

झण्डै पाँच महिनापछि उकालो लाग्दै गरेको कारोबारले बजार बढाउने अपेक्षा लगानीकर्ताले गरेका थिए। एक ब्रोकर लगानीकर्ताको मागविरुद्ध धितोपत्र कारोबारबाट प्राप्त आयलाई व्यक्तिगत आयकर सरह मान्नुपर्ने र थप पुँजीगत लाभकरलाई पनि अधिकतम १० प्रतिशतमा पु¥याउनुपर्ने व्यवस्थाले त्रसित बनाएको बताउँछन्। 

हाल पुँजीगत लाभकरबापत लगानीकर्ताले एक वर्षभन्दा बढी होल्ड गरेर सेयर बिक्री गरी आय गरेमा ५ प्रतिशत र एक वर्ष कम समयमा बिक्री गरी प्राप्त गरेको आयमा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था छ। 

सिफारिस समितिले एक वर्षभन्दा बढी समय होल्ड गरिएका सेयरबाट प्राप्त आयमा ७.५ प्रतिशत र सोभन्दा कम होल्ड गरिएको सेयर बिक्रीबाट प्राप्त आयमा १० प्रतिशतसम्म लाभकर असुल गर्नुपर्ने उल्लेख गरेको थियो। लगानीकर्ताले भने यस्तो आयकरलाई अधिकतम ५ प्रतिशतमा राख्नुपर्ने माग गर्दै आएका थिए। 

मागविपरीत कर बढाउनुपर्ने सिफारिस आएपछि लगानीकर्ता त्रसित बनेको जानकार बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .