कारोबार


‘चितुवा’ ल्याएपछि बढे पर्यटक

‘चितुवा’ ल्याएपछि बढे पर्यटक

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ९:५२,

भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ।

पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताए। गणेशपुर नामले परिचित उक्त पार्कमा सवडिभिजन वन कार्यालय तनहुँको सहयोगमा चितुवा ल्याइएको उनको भनाइ छ। उनका अनुसार करिब एक वर्ष अघिदेखि पार्कको लागि चितुवा सहयोग गरिदिन माग गरिएको थियो। ‘हामीले लामो प्रयासपछि पार्कमा चितुवा ल्याएका छौँ’ उनले भने, ‘यसले यहाँ पर्यटकको ध्यान केन्द्रित गरेको छ।’

उनका अनुसार पाँच वर्षको ४० किलो तौलको चितुवा ल्याइएको हो। माघ २६ गते ल्याइएको उक्त चितुवा हेर्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्न थालेको अध्यक्ष भण्डारीले बताए। चितुवा ल्याएपछि हेरचाह गर्नका लागि दक्ष व्यक्ति नहुँदा समस्या हुने गरेको उनको भनाइ छ। ‘हामीले चितुवा त ल्यायौँ तर हेर्न सक्ने दक्ष व्यक्ति नहुँदा समस्या भएको छ’ उनले भने, ‘यसको समाधानका लागि हामीले तयारी गरिरहेका छौँ।’

अबको केही समयमा बाघ, अजिङ्गर, निलगाइ, भालु, जरायो, मयूरलगायतका जनावर ल्याउने गरी प्रक्रियाअघि बढाएको बताए। त्यसका लागि विभिन्न निकायसँग समन्वय भइरहेको बताए।

अहिले पार्कमा घाइते तथा अलपत्र जंगली जनावरलाई उपचार तथा संरक्षण गरिएको उनको भनाइ छ। उद्यानमा हाल २० वटा खरायो, पाँच वटा गिनिपिक (मुसा खरायो), दुई वटा राजहाँस, दुई वटा टर्की, एउटा कछुवा, दुईवटा हुईंचिल, एउटा चिल, एउटा दुम्सी, दुईवटा बाँदर र एउटा चित्तल रहेका छन्।

यी जनावर तथा पंक्षी ल्याएसँगै दैनिक अवलोकन गर्नेको सङ्ख्या बढेका छन्। अहिले पार्कमा पिकनिक स्पर्ट, बाल उद्यानलगायत संरचना रहेका छन्। पार्कमा गणेश मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने गौतमबुद्धको शालिक पनि निर्माण भइरहेका छन्। यहाँ पहिले वनभोजका लागि बढी मानिस आउने गरेको भए पनि पछिल्लो समय जनावर तथा पंक्षीको अवलोकन गर्न आउने गरेको वडा नं ७ का वडाध्यक्ष टोपबहादुर केसीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad