समाज


व्यक्तिको कब्जामा सरकारी धर्मशाला

व्यक्तिको कब्जामा सरकारी धर्मशाला

विमलबहादुर विष्ट
फागुन ४, २०७६ आइतबार १२:८,

जिल्लामा रहेका सयौँ सरकारी धर्मशाला पछिल्लो समय व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ।

यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयवासीको आरोप छ।

कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा बर्सेनि भत्किने तथा जीर्ण बन्दै गएको प्रति स्थानीयवासीले दुःखेसो पोख्ने गरेका छन्। यसै सिलसिलामा जिल्लाको दीपायल–सिलगढी नगरपालिका–३ दीपायलस्थित पुलबजारमा रहेको राणाकालमा निर्माण गरिएको सरकारी धर्मशाला एक भारतीय व्यक्तिले आफ्नो निजी आवासका रूपमा प्रयोग गरिहेको पाइएको छ।

तत्कालीन समयमा गाउँबाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दीपायललगायत ठाउँमा आवतजावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले निर्माण गरिएको उक्त धर्मशाला वर्षौंदेखि ‘घचेट्टा’ नामले चिनिने भारतीय नागरिकले आफ्नो निजी आवासका रूपमा प्रयोग गरेका छन्। उक्त धर्मशालालाई निज भारतीय नागरिक घचेट्टाले कोठाभित्र आपूm बस्ने तथा कोठाबाहिर चौरमा आफ्ना खच्चर बाँध्ने गरेको दीपायल पिपल्लाका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताए।

उनले भने, ‘घचेट्टाले धर्मशालालाई पूरै आफ्नो निजी आवास बनाएका छन् तर उनलाई हटाउन कसैले पनि प्रयास गरेको छैन।’ उक्त धर्मशालामात्र नभई जिल्लामा रहेका अधिकांश धर्मशाला केही व्यक्तिले प्रयोग गर्दै आएका छन् भने केही प्रयोग तथा मर्मतसम्भार नहुँदा दिनहुँ भत्किँदै जीर्ण बन्न थालेका छन्।

जिल्लाको शिखर नगरपालिका–१ नापानी भन्ने ठाउँको पर्यटकीय क्षेत्रमा रहेको तत्कालीन राजा स्व वीरेन्द्र शाहको पालामा निर्माण भएको सिलेटले छाएको पक्की धर्मशाला पनि निजी आवास जस्तै भएको छ। उक्त धर्मशालालाई त्यहाँका स्थानीय तथा लेकमा गोठ निर्माण गरेर बसेका भैँसी गोठालाले वर्षौंदेखि आफ्ना भैँसी बाँध्ने काममा प्रयोग गर्दै आएको शिखर नगरपालिका–१ गुठेउडीका स्थानीयवासी करन नेपालीले बताए। उनले भने, ‘पहिले धर्मशालामा गाईगोरु बाँधेको र मान्छे सुतेको पैसा लिन्थे, अहिले व्यक्तिले निजी बनाएको छ, कसैले किन व्यक्तिगत बनाइस् भनेर कुरा उठाएको छैन।’ उक्त धर्मशालाको बाटो हुँदै आवतजावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले सरकारले केही थान खटिया तथा बेड विस्तारासमेत उपलब्ध गराएको थियो।

उक्त सरकारी धर्मशालाको रेखदेखका लागि कर्मचारी खटाइए पनि पछिल्लो समय सरकारी क्षेत्रबाट कर्मचारी अर्थात् चौकीदारका लागि रकम आउन छोडेपछि धर्मशाला लथालिंग हुनाका साथै व्यक्तिले निजी आवास बनाउन थालेको स्थानीयवासी भरतबहादुर ऐरले बताए। उनले भने, ‘धर्मशाला रेखदेखदेखि मर्मतसम्भारका लागि सरकारबाट आउने रकम बन्द भयो, कर्मचारी पनि गए, अहिले व्यक्तिले निजी घरजस्तै बनाएका छन्।’

उता डोटीका प्रजिअ टेकनारायण पौडेलले जिल्लामा भएका पाटी–पौवा र धर्मशाला सार्वजनिक हुन् भन्दै यिनको संरक्षण गर्नु सबैको दायित्व भएकाले व्यक्तिगतरूपमा प्रयोग गर्न नहुने बताए। उनले भने, ‘कुन ठाउँमा भएको धर्मशाला कसले प्रयोग गरेको छ, त्यो सम्बन्धित स्थानीय तहले रेखदेख गर्नुपर्छ, संरक्षण गर्नु पनि उसको दायित्व हुन आउँछ, कसैले अटेर गरी निजी प्रयोजन गरेको भए कानूनबमोजिम सजाय हुने छ।’

जिल्लाभरिका सरकारी रूपमा निर्माण भएका पुराना धर्मशाला र पार्टी–पौवा कति छन् भन्ने यकिन तथ्यांक कुनै कार्यालयमा नभए पनि जिल्लाभरिमा कूल १०० भन्दा बढी यस्ता पुराना धर्मशाला, पाटी–पौवा भएको हुनसक्ने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए। उनले भने, ‘जिल्लाभरिमा कति धर्मशाला र पाटी–पौवा छन्, आधिकारिक तथ्यांक छैन तर सयभन्दा बढी नै छन्, कसैको पनि संरक्षण तथा मर्मतसम्भार गरिएको भने पाइँदैन।’

जिल्लामा भएका सरकारी धर्मशालाको समयमै उचित मर्मतसम्भार नगरे केही समयपछि यहाँका सरकारी धर्मशाला माटोमा विलीन हुने निश्चित भएको स्थानीयवासी बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad