कारोबार


क्यान मेलामा मार्केटिङ र अफरको वहार, १५ सयमा २ वटा मोबाइल

क्यान मेलामा मार्केटिङ र अफरको वहार, १५ सयमा २ वटा मोबाइल

सन्तोष न्यौपाने
फागुन ३, २०७६ शनिबार १३:२५,

सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो मेला शुक्रबारबाट सुरु भएसँगै काठमाडौं भृकुटीमण्डपमा चलहपहल बढेको छ। भित्र क्यान इन्फोटेक–२०२० स्टलहरुमा भीडभाड छ।

बाहिर खाजापसल र पानीपुरीका स्टलहरुमा पनि त्यस्तै। भृकुटीमण्डपको प्रवेशद्वारसँगै किताब प्रदर्शनी र जुत्ता मेला समेत हुँदा सो क्षेत्र अहिले खचाखच छ।

विगत दुई दशक जस्तै यसपालीको क्यान इन्फोटेकमा पनि विशेष छुटहरु र मार्केटिङमै जोड दिइएको छ। नवीन प्रयोग गर्ने इनोभेसन र स्टार्टअपसम्बन्धी स्टलहरुले मेलामा आउनेलाई नयाँपन अनुभुति गराउँछन्।

विभिन्न ब्रान्डका मोबाइलको स्टलमा ग्राहकको तानातान छ। कोही डिस्काउन्ट दिइरहेका छन् भने कोही ‘बाइ वान, गेट वान फ्रि’ भनेर ग्राहक लोभ्याइरहेका छन्।

त्यस्तै मध्यको एक स्टल हो, भिरेन इन्टरनेसनलको। उसले १ हजार ५ सय रुपैयामा २ वटा मोबाइलको अफर ल्याएको छ। जहाँ हेर्ने र किन्नेको भीड छ।

‘भोली रहला नरहला आजै लैजानुस्,’ भिरेन इन्टरनेसनलका सञ्चालक दिपक शर्मा दर्शकलाई भनिरहेका थिए।

मोबाइलको नाम ओपल। शर्माका अनुसार भारतीय कम्पनीले चीनमा उत्पादन गरेको मोबाइल फोन हो यो।

‘अरु बेला १५ सयमा बेचिरहेको यो मोबाइल मेलाको अफरको रुपमा दुईवटा दिएको हो,’ मोबाइललाई ओल्टाइपल्टाइ हेरिरहेका दर्शकलाई शर्माले भने, ‘१ वर्षको वारेन्टी पनि छ।’

can 2१ हजार ५ सय रुपैयामा २ वटाकाे दरमा बिक्रि भइरहेकाे मोबाइल

यो मेबाइलमा दुईटा सिम लाग्छ। १.८ इन्च डिस्प्ले भएको यस मोबाइलमा क्यामरा, ब्लुटुथ, वायरलेस एफएम, एमपी थ्रि र एमपी फोरका साथै एक हजार मिलिएमआवर (एमएएच) व्याट्री जडित छ।

दुई दिन मै धेरै बिक्री भइरहेकाले अरु बेला पाउन नसक्ने शर्मा बताउँछन्। ‘स्टकमा रहेका मोबाइल सकिनै लागेको छ,’ शर्माले ग्राहक तथा दर्शकलाई भनिरहेका थिए, ‘आजै लैजाउनुहोस्।’

यस्ता अफर ओपल मोबाइलमा मात्र होइन इन्टरनेट, ल्यापटप, प्रिन्टरदेखी टेलिकमसम्म दिइएकोछ।

ओपो मोबाइलले एक्सचेन्ज अफर ल्याएको छ। जुनसुकै मोबाइल पनि ओपो मोबाइलसँग केही रकम थपेर साट्न सकिने सुविधा दिएको छ उसले।

नेपाली बजारमा धेरै बिक्री हुने ल्यापटपमध्ये पर्छ ‘एसर’। एसरका विभिन्न ल्यापटपमा १० हजारसम्म डिस्काउन्ट (छुट) दिइएको सेल्समा काम गर्ने सन्देश महर्जनले बताए। दोस्रो दिनसम्म आइपुग्दा यस स्टलबाट ३ वटा प्रिन्टरको बुकिङ भइसकेको छ।

त्यस्तै, तोसिबा कम्पनीका विभिन्न उत्पादनको स्टल राखेको वर्ल्ड डिस्ट्रिब्युसन नेपालले मुलुककै लागि नयाँ खालको प्रिन्टर ल्याएको छ। जसले एक पटक छपाई गरेको पेपरलाई मेट्न सक्छ।

can 3

‘यदि कुनै प्रिन्टमा गल्ती भयो भने अर्को कागज प्रयोग गरेर पुन प्रिन्ट गर्नुपर्ने हुन्छ। यस प्रिन्टरले यो समस्या समाधान गरिदिएको छ,’ आफ्नो स्टलमा प्रिन्टरको बारेमा बताउँदै विजनेस डेभलपमेन्ट म्यानेजर अमन मानन्धरले भने, ‘यसले पेपरको खर्च बचाउँदै गल्तीहरुलाई सच्याउने अवसर दिन्छ।’

नेपालमा एक वर्षअघि आएको यस प्रिन्टरको मूल्य ६ लाख रुपैया पर्छ। मेलामा यो प्रिन्टर बेच्ने भन्दा पनि मार्केटिङको लागि राखेको उनले बताए।

सामान्य ग्राहकले यसलाई किन्न नसक्ने हुनाले ठूला कर्पोरेट कम्पनी, अन्र्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई लक्षित गरिएको उनले बताए।

त्यस्तै, सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पनि सिम बिक्रीमा अफरसहितको स्टल राखेको छ। टेलिकमले यस मेलाभर सिम किन्ने ग्राहकलाई एक सय रुपैयाँमा २ वटा र एक सय २५ रुपैयामा ३ सिमको अफर दिइरहेको छ। उक्त सिममा ४० रुपैया व्यालेन्स पनि रहेको छ।

त्यस्तै, पछिल्लो समय आक्रामक बजारीकरण गरिरहेको प्रभुपेले आफ्नो एप प्रयोग गर्ने ग्राहकलाई इन्सुरेन्ससहित बचतमा २ प्रतिशतको व्याज दिने घोषणा गरेका छ।

इन्टरनेट सेवा प्रदायकले पनि ग्राहकलाई आफ्नो कम्पनीको इन्टरनेट प्रयोग गराउन विभिन्न छुटहरु दिएका छन्।

‘प्रयोग गरिरहेको इन्टरनेटबाट कति सन्तुष्ट हुनुुहुन्छ? परिवर्तन गर्न चाहनुहुन्छ की,’ जस्ता प्रश्नसहित भायनेटको स्टलमा खटिएका कर्मचारीले विभिन्न अफर पस्किररहेका देखिन्थे।

भायनेटले १५ महिनाको इन्टरनेट र टिभीको अफर ल्याएको छ। साथै, त्यसमा राउटर निशुल्क उपब्ध छन् भने जडान शुल्कमा छुट दिइएको छ।

उता, सुविसु पनि के कम। उसले पनि उत्तिकै आक्रामक रुपमा डिस्काउन्ट अफरलाई दर्शकमाझ पस्किरहेका छ। इन्टरनेट जडानमा छुट, मोडेम, तार र एक महिनाको इन्टरनेट निशुल्क अफरलाई जोडतोडका साथ दर्शकमाझ राखिरहेको छ।

can 4

मेलामा इनोभेसन र स्टार्टअपका केही झलकहरु पनि देख्न पाइन्छ। त्यसैमध्येको एक हो क्याइन्टस्केप सफ्टवर डेभलपमेन्ट।

यस कम्पनीले विभिन्न प्रकारका सफ्टवयर बनाउँदै आएको छ। ‘हामीसँग रेडिमेड सफ्टवयर छन्,’ मार्केटिङ म्यानेजर प्रकाश गिरीले नेपालखबरलाई भने, ‘अर्डरअनुसार पनि बनाउँछौं।’

मेलामा केहीले रेडिमेड सफ्टवयरको मार्केटिङ गरिरहेका छन्। जस्तो कि उनीहरुसँग अहिले रेष्टुरेन्ट म्यानेजमेन्ट, एकाउन्टिङ, स्पा म्यानेजमेन्ट, मल म्यानेजमेन्ट जस्ता सफ्टवयर छन्।

अहिले सबैभन्दा धेरै रेष्टुरेन्ट म्यानेजमेन्ट सफ्टवयरको बिक्री भएको गिरीले बताए। यो सफ्टवयरले होटल र रेष्टुरेन्टमा मेन्यु, ग्राहकको अर्डर, बिल हिसाबदेखि सबै काम गर्छ। यि सफ्टवयरमा २० प्रतिशत छुट दिइएको गिरीले जनाकारी गराए।

मेलामा फरक क्षमता भएका व्यक्तीहरुले कसरी सूचना प्रविधिको प्रयोग गरिरहेका छन् भनेर पनि देख्न सकिन्छ। ब्राइट स्टार सोसाइटीले आँखा नदेख्नेहरुले कसरी मोबाइल, ल्यापटप जस्ता पछिल्लो सूचना प्रविधि प्रयोग गरिरहका छन् भनेर जानकारी गराउने स्टल राखेको छ।

शुक्रबारदेखि सुरु भएको यो प्रविधि मेला बुधरबारसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad