गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुनर्निर्माण भइरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रालिले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन्।
त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालय हो । पुस्तकालयको भवन संरक्षणविहिन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो ।
भूकम्पपछि स्थानीय बासिन्दा र गोरखा नगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माण कार्य भइरहेको छ। भवन दुई तलाको ढलान सम्पन्न भइसकेको छ।
गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्मणबाबु श्रेष्ठको नाममा भवनको भुइतलाको हल नामकरण गर्ने निर्णय भएको पुस्तकालय पुनर्निर्माण समितिले जनाएको छ।

प्रतिक्रिया