कारोबार


पार्किङ निषेधपछि सटर बन्द गरेर सडकमा उत्रिए न्युरोडका व्यवसायी (भिडिओ)


नेपालखबर
माघ ९ , काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यवसायीले विरोध गरेका छन्। 

न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन्। 

सवारी आवागमनलाई सहज बनाउन महानगरले विकल्प दिँदै पार्किङ रोके पनि व्यवसायीले विरोध गरेका हुन्। 

पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिह्न राखिएका छन्। यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी दिइरहेको छ। यस क्रममा आज बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ। 

नयाँ सडक जानुपर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ। 

पार्किङ निषेध गरिएको ठाउँमा आज बिहानैदेखि विशेष सरसफाइ गरिएको थियो। महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो।

यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महाबौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो। 

सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ।

माघ ९, २०८० मंगलबार १२:१८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .