ad ad

कारोबार


सिबिफिनबाट गोल्यानको राजीनामा, उपेन्द्र पौड्याल बने नयाँ अध्यक्ष

सिबिफिनबाट गोल्यानको राजीनामा, उपेन्द्र पौड्याल बने नयाँ अध्यक्ष

नेपालखबर
पुस २६, २०८० बिहिबार १६:२१, काठमाडौँ

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

बुधबार बसेको सिबिफिन कार्यसमितिको १५औँ बैठकले अध्यक्ष गोल्यानको राजीनामा स्वीकृत गरेको हो।

एनएमबी बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुने घोषणा गरेका गोल्यानले संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताए।

निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा वि.सं २०७६ सालमा स्थापित सिबिफिनको उनी संस्थापक अध्यक्ष समेत हुन्।

सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आएका गोल्यानको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको छ।

निवर्तमान अध्यक्ष गोल्यानको फराकिलो र दुरगामी सोच एवं मार्गनिर्देशनमा अगाडि बढेको सिबिफिनले आर्थिक एवं बैंकिङ क्षेत्रमा खेलेको भूमिका र योगदानका आधारमा प्रवल जनसेवाश्री जस्तो राष्ट्रिय पदकबाट समेत विभूषित भइसकेको संस्थाले जनाएको छ।

निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौड्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको छ।

नवनिर्वाचित अध्यक्ष पौड्याल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन्। सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौड्यालले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए। 

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात  उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका अध्यक्ष पौडेल आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको दिगो विकासमा काम गर्ने विश्वभर रहेका बैंक तथा बैंकिङ संस्थाको स्वतन्त्र सञ्जाल ‘ग्लोबल एलोन्स फर बैंकिङ अन भ्यालुलज (जीएबीभी) को सन् २०१८ देखि एसिया प्यासिफिक क्षेत्रीय प्रतिनिधिको जिम्मेवारमा समेत छन्।

सन् २०१४ देखि नोभेम्बर २०१६ सम्म नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष रहेका पौडेल सन् २०२२ देखि म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) को समेत अध्यक्ष हुन्।

त्यसैगरी अध्यक्ष पौडेलले डिसेम्बर २०१० देखि मार्च २०१७ सम्म ‘युरोपियन इकोनोमीक च्याम्बर अफ कमर्स’ को कोषाध्यक्ष तथा जुलाई २०१५ देखि अगस्ट २०१९ सम्म नेपाल बैंकिङ इन्टिच्युटको बोर्ड सदस्यको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका थिए।

बैंकिङसहित राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विविध क्षेत्रमा उनले हासिल गरेको बृहत्तर ज्ञान, अनुभव तथा दुरदर्शी नेतृत्व क्षमताबाट सिबिफिनले नयाँ उचाइ प्राप्त गर्ने सो संस्थाको विश्वास छ।

साथै, आर्थिक एवं बैंकिङ क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरुको न्यूनीकरण र समग्र अर्थतन्त्रको सबलीकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा समेत सिबिफिनले गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .