ad ad

कारोबार


उद्योगमन्त्रीले मातहत प्रमुखहरूसँग भने– ‘तपाईंहरूको कामबाट म खुसी छैन’

उद्योगमन्त्रीले मातहत प्रमुखहरूसँग भने– ‘तपाईंहरूको कामबाट म खुसी छैन’

नेपालखबर
पुस ३, २०८० मंगलबार १७:३२, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखहरुलाई कडा निर्देशन दिएका छन्।

मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहसचिव, महानिर्देशक तथा मातहतका विभिन्न सार्वजनिक निकायका प्रमुखहरुमाझ खरो रूपमा प्रस्तुत हुदै यस्तो निर्देशन दिएका हुन्। 

आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्मको प्रगति समीक्षा गर्न आज मन्त्रालयमा बैठक बसेको थियो।

देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो। 

‘कानुन विपरित जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’, मन्त्री रिजालले भने, ‘आफ्ना कमीकमजोरीलाई ढाकछोप नगरी इमानदारीका साथ् काम गर्नुहोस, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस्।’ 

देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रह समेत गरे। यो समयमा अपेक्षित काम हुन नसकेको भन्दै मन्त्री रिजालले भने,  ‘तपाईंहरुको कामबाट म खुसी छैन, इमानदारीका साथ परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस्।’ 

 ‘विश्वासका साथ सबैलाई जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी पुरा गर्नुस्’, उनले भने।  

ऐनकानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरूपण गर्नेतर्फ आफ्नो ध्यान जाने भन्दै अब कहीँ पनि ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे।

आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्मको खर्चमा चालूतर्फ ३१ दशमलव शून्य दुई प्रतिशत अर्थात् १ अर्ब ५० करोड ३२ लाख रुपैयाँ, पुँजीगततर्फ ३ दशमलव शून्य छ प्रतिशत अर्थात् १० करोड १० लाख रुपैयाँ गरी कुल १९ दशमलव ७ एक प्रतिशत अर्थात् १ अर्ब ६० करोड ४२ लाख रुपैंया खर्च भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .