ad ad

कारोबार


किसानको विरोधपछि देशकै दुई ठूला उद्योगले उखु क्रसिङ रोके

किसानको विरोधपछि देशकै दुई ठूला उद्योगले उखु क्रसिङ रोके

सर्लाहीको इन्दु शंकर चिनी उद्योगमा ज्ञापत्रपत्र बुझाउँदै उखु किसानका प्रतिनिधि


नेपालखबर
मंसिर २५, २०८० सोमबार ११:७, सर्लाही

किसानको बिरोधपछि सर्लाहीको इन्दु शंकर र महोत्तरीको एभरेष्ट चिनी उद्योगले उखु क्रसिङ रोकेका छन्। यी दुई उद्योग आज (सोमबार)देखि सञ्चालनमा आउने तयारीमा थिए। 

सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर र महोत्तरीको रामनगरमा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज देशकै सबैभन्दा ठूला चिनी उद्योग हुन्।

गत वर्ष क्रसिङ भएको उखुको बाँकी भुक्तानी र यस वर्षको मूल्य निर्धारण नभएसम्म चिनी उद्योग सञ्चालन गर्न नदिने चेतावनीसहितको ज्ञापनपत्र उखु किसानसँग सम्बन्धित विभिन्न संगठनले आइतबार ती उद्योगलाई दिएका थिए। 

उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनको तयारी भएपछि सर्लाही, महोत्तरी र रौतहटमा क्रियाशील उखु किसानका विभिन्न संगठनको आइतबार हरिवनमा भेला भएको थियो।  

भेलापछि तीनवटै जिल्लाका उखु उत्पादक किसान संघ, मिलगेट उखु उत्पादक समिति सर्लाही र उखु हकहित समिति हरिवनका प्रतिनिधिले सम्बन्धित उद्योगमा पुगेर ज्ञापन पत्र बुझाएका थिए। 

गत वर्ष क्रसिङ भएको उखुको बाँकी भुक्तानी र यस वर्षको लागि मूल्य निर्धारण नभएसम्म चिनी उद्योग सञ्चालन गर्न नदिने निर्णय भेलाले गरेको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताए। 

उखु किसानका विभिन्न संगठनले मूल्य निर्धारण नहुँदै उद्योग सञ्चालन नगर्न भन्दै ज्ञापन पत्र दिएकाले उद्योग सञ्चालन रोकिएको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले बताए। 

‘हामीले आजबाट यस सिजनको लागि उद्योग सञ्चालनको तयारी अघि बढाएका थियौँ,’ उनले नेपालखबरसँग भने, ‘किसान प्रतिनिधिको आग्रहपछि हामीले उद्योग सञ्चालन रोकेका छौँ। यो विषय हामीले चिनी उत्पादक संघलाई पनि जानकारी गराइसकेका छौँ।’

उद्योग सञ्चालनको लागि चिनी एद्योगहरुले किसानलाई उखु काट्ने चलान एक साता साताअघि देखि नै वितरण गसिकेका थिए। 

‘हाम्रो उद्योगमा क्रसिङको लागि झण्डै सात हजार क्वीन्टल उखु पनि जम्मा भइसकेको थियो,’ नेपालले भने, ‘उद्योग सञ्चालन रोकिँदा त्यो उखु सड्ने अवस्था सिर्जना भएको छ।’

यही मंसिर १७ गते कृषि मन्त्रालयमा उखुको मूल्य निर्धारणको लागि उद्योगी र किसानबीच वार्ता भएको थियो।  

उक्त वार्तामा सरकारको तर्फबाट यस वर्ष उखुको मूल्य गत वर्षभन्दा प्रतिक्विन्टल ११ रुपैयाँ बढाउन प्रस्ताव भएको थियो। तर, किसान प्रतिनिधिले सरकारको प्रस्ताव अस्वीकार गरेपछि वार्ता विना निष्कर्ष टुंगिएको उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले बताए।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ कायम गरेको थियो। जसमा सरकारले किसानलाई अनुदान बापत दिने भनिएको प्रतिक्विन्टल ७० रुपैयाँसमेत जोडिएको छ। 

तर, सरकारले दिने भनेको अनुदानको ७० रुपैयाँ देशका अधिकांश किसानले अझै पाएका छैनन्। किसानले गत वर्षकै मूल्य नपाउँदै यस वर्ष फेरि उद्योग सञ्चालनको तयारी भएपछि किसानले विरोध गरेका हुन्। 

यस वर्ष किसानले उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ निर्धारण गर्न माग गर्दै आएका छन्। 

मिलगेट उखु उत्पादक समिति सर्लाहीले यस वर्षको लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ निर्धारण गर्न माग गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .