ad ad

कारोबार


चोलादेवीको मौरीपालन : ४५ घारबाटै वर्षमा ६ लाख आम्दानी

चोलादेवीको मौरीपालन : ४५ घारबाटै वर्षमा ६ लाख आम्दानी

नेपालखबर
मंसिर २४, २०८० आइतबार ७:५७, बागलुङ

बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठकले आफ्नो घरमुनिको बारीमा मौरी पालन गरेकी छन्। 

पाठकले यो काम सुरु गरेको पाँच वर्ष भयो। ‘बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेकी हुँ। यसमा श्रीमानकाे साथ र सहयोग पनि रहेको छ,’ उनले भनिन्। 

अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार छन् । बाख्रापालनभन्दा मौरीपालनबाट राम्रो आम्दानी भएको उनले बताइन्। उनले वर्षमा पाँच सय ५० किलोग्रामसम्म मह उत्पादन गर्दै आएकी छन्। 

‘परिवारको सहयोग छ, आफैँ मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मौरी बिक्रीका लागि बजार पुग्न पर्दैन,’ उनले भनिन्, ‘भैरवस्थान मन्दिर दर्शनका लागि आएकाले खरिद गरेर लैजान्छन्। ४५ बाख्रासमेत पालेको थिएँ, तर बाख्रा पाल्न अलि धेरै खर्च हुनेरहेछ। अहिले १० वटामात्रै बाख्रा छन्, मौरीपालनमा चोखो आम्दानी छ, त्यसका साथसाथै तरकारी खेतीसमेत गर्दै आएको छु।’

उनका ससुराबुवा देवीप्रसाद पाठकले परम्परादेखि पाल्दै आएको मुडेघारको मौरीलाई तीन वर्षअघिदेखि व्यावसायिक बनाउन थालेकी हुन्। घरमा अझै पनि केही मुडेघार छन्। 

बाख्रापालनका लागि दुई सयवटा राइखन्यूका बिरुवा लगाइएको र आगामी दिनमा बाख्राको सङ्ख्यासमेत बढाउँदै लैजाने गरी आधुनिक खोर व्यवस्थापनसमेत गरिएको उनले बताइन्।

उनले पचासवटा बाख्रा अट्ने गरी खोर व्यवस्थापन गरेकी छन्। ‘बाख्रालाई भन्दा केही सहज छ मौरीपालन, मौरीपालनमा जोखिम भए पनि आम्दानी राम्रो छ, गत वर्ष रु एक लाख ५० हजारबराबरको अनुदानसमेत पाएको थिएँ’, उनले भनिन्, ‘४५ घारबाटै वार्षिक रु छ लाख बढी कमाउन सकिनेरहेछ, त्यसैले बाख्रापालनमा भन्दा मौरीपालनमा बढी ध्यान दिन थालेको छु। आगामी दिनमा एक सय मौरीका घार पुर्याउने हाम्रो परिवारको योजना छ।’

मौरीपालनलाई रोगबाट जोगाउन सकेमात्र पुग्छ। 

चार वर्षअघि कुश्मा पुगेर मौरीपालन तालिम लिएपश्चात मौरीपालनमा लागेकी पाठकले यसबाट राम्रो आम्दानी गर्न थालेपछि दङ्ग छिन्।

अहिले प्रतिकेजी रु एक हजार दुई सयमा मह बिक्री भइरहेको छ। बजारको अभाव छैन। अर्गानिक मह उत्पादन गर्नसके बजारको चिन्ता लिन नपर्ने उनले बताइन्। 

उनको फार्ममा बलेवामै उत्पादन भएको बलेवा मौरीपालन उद्योगको आधुनिक घार र जसन घार भारतबाटसमेत निर्यात गरिएको छ । मौरीलाई चिसोबाट जोगाउन जस्ताको छाना लगाइएको छ।

कोट भैरव कृषि मौरी र पशुपक्षी फार्ममा गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्रले मह उत्पादन वृद्धि कार्यक्रमअन्र्तगत रु एक लाख ५० हजार अनुदानसमेत दिएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिए। 

बागलुङमा महको उत्पादन बढाउन आधुनिक मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .