ad ad

कारोबार


विदेशी लगानीकर्तालाई सभामुखको आग्रह : थोरै नाफा लिएर गइहालौँ भन्ने नसोचौँ

विदेशी लगानीकर्तालाई सभामुखको आग्रह : थोरै नाफा लिएर गइहालौँ भन्ने नसोचौँ

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १५:३३, काठमाडौँ

सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकूलताबाट अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग आग्रह गरेका छन्।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा सुरु भएको नवौं अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभामुख घिमिरले भने, ‘यस्तो बेलामा विदेशीहरूले यहाँ ठूलाठूला लगानी गरेर व्यवसाय गरिरहेका ठाउँमा लगानी फिर्ता लिन खोजेका केही कुराहरू आएका छन्, ती घटनाहरूप्रति मेरो ध्यान गएको छ। म के भन्न चाहन्छु भने अब हामी प्रतिकूलतामा रहेको अर्थतन्त्रलाई अनुकूलतामा लैजाने दिशामा गइरहेका छौँ। कोभिडबाट थलिएको स्थितिबाट अघि बढ्न लागिरहेका छौँ।

घिमिरेले पछिल्लो समय विदेशी लगानीकर्ताहरू केही नाफा कमाएपछि स्वदेश फर्किने क्रम बढेको बताए। उनले थोरै नाफा लिएर गइहालौँ भन्ने सोच्नुभन्दा पनि अनुकूलतातर्फ गइरहेको नेपालको अर्थतन्त्रबाट अब झनै फाइदा लिने गरी लगानी गर्ने बारेमा जोड दिनुपर्ने बताए।

सभामुख घिमिरेले सातै प्रदेशमा प्रदर्शनी कक्षको व्यवस्थापन गरी व्यापार व्यवसायलाई अघि बढाउन प्रोत्साहन गर्नुपर्ने बताए। उनले देशको खस्किँदो अर्थतन्त्रका पछाडि स्थायित्व नहुनु, भौतिक पूर्वाधारहरूको विकासमा कमी रहनु, औद्योगिक असुरक्षा महसुस हुनु, लगानीमैत्री वातावरणको कमी रहनु, करका दरहरूको अनिश्चितता लगायतका कुराहरूले निजी क्षेत्रले लगानी प्रोत्साहन गर्न नसकिरहेको बताए।

उनले निजी क्षेत्रले ढुक्कले काम गर्न पाए आर्थिक विकास, रोजगारी सिर्जना र लगानी आकर्षित हुने विश्वास व्यक्त गरे। उनले लगानीमैत्री कानुन निर्माणको नेतृत्वका लागि आफू प्रयत्नरत रहेको बताए।

सभामुख घिमिरेले आर्थिक मन्दी रहेको र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउनेभन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन लाग्न आग्रह गरे। पर्याप्त सम्भावना बोकेका कृषि, पर्यटन, पूर्वाधार लगायतका सेवा तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्न अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .