ad ad

कारोबार


कृषि प्रसार अधिकृतबाट सेवानिवृत्त भएपछि सुन्तला खेतीमा

कृषि प्रसार अधिकृतबाट सेवानिवृत्त भएपछि सुन्तला खेतीमा

नेपालखबर
मंसिर १०, २०८० आइतबार ९:१८, तनहुँ

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा सुन्तला खेतीमा व्यस्त छन्। कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि थापा पूर्णरूपमा सुन्तला खेतीमा लागेका हुन्।

छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गरेका छन्। चार सय बोट सुन्तलाबाट बर्सेनि रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको उनले बताए। 

सुन्तला खेतीमार्फत मनग्य आम्दानी गर्दै आएका थापा कृषिविज्ञ पनि हुन्। ‘३५ वर्ष सरकारको कृषि प्रसार अधिकृतका रूपमा काम गरेर सेवानिवृत्त भएपश्चात पुख्र्यौली पेसा सुन्तला खेतीमा आफूलाई समाहित गरी निरन्तर अगाडि बढेको छु। सुन्तला खेतीबाट मनग्य आम्दानी भइरहेको छ, यसमा सन्तुष्ट छु,’ उनले भने। 

यस वर्षको सुन्तला २५ लाखमा काठमाडौँका व्यापारीलाई ठेक्का दिएको उनले जानकारी दिए। ‘उमाचोकका किसानले व्यापारीलाई सिधै ठेक्कामा सुन्तला बिक्री गर्ने गरेका छन्। यसले गर्दा सहज भएको छ,’ थापाले भने, ‘सुन्तला खेतीबाटै कमाएको रकमले छोराछोरी विदेश पठाएको छु।’ 

उमेर अवस्थाका कारण पेसालाई निरन्तरता दिन कठिन रहेकोले छोराछोरी स्वदेश फर्किएर यही पेसालाई निरन्तरता दिए हुन्थ्यो भन्ने उनलाई लाग्ने गरेको छ।

तीन फिटको खाल्डो खनेर, पाँच मिटरको दूरीमा बिरुवालाई मलजल गरी सार्न सके छिटो उत्पादन हुनसक्ने उनले बताए। ‘कृषिमै काम गरेकाले यसबारेमा मलाई अलि बढी जानकारी छ । किसानलाई पनि सुन्तला खेतीको तरिकाबारे सिकाउने गरेको छु,’ उनले भने।

जिल्लाका अन्य ठाउँमा गितसिला नामको कीरा तथा ग्रिनिङबाट बोट नष्ट भए पनि आफूले आजसम्म बोट रोगमुक्त बनाउन सकेको दाबी उनले गरे।

तनहुँमा गत वर्ष रु २९ करोडको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । त्यस वर्ष नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। 

जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ। 

तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडाँैका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्। 

काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन्। 

ज्ञान केन्द्रले चालु आर्थिक वर्ष २०८०र८१ मा सुन्तला खेतीमा सहयोग गर्न रु एक करोड बजेट विनियोजन गरेको छ । कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .