हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ। लेकाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले पशु चौपाया बेँसीका गोठमा सार्न थालेका हुन्।
मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पशु बेँसी झार्न थालिएको बताए।
हिउँ पर्न थालेपछि पशु चौपाया बेँसीको खर्कमा सारिएको उनले बताए। मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिकरूपमा भेडाच्याङ्ग्रापालन गर्दैआएका छन्। ‘चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु गरेका छौँ,’ उनले भने।
गत असार महिनादेखि अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी बेँसीतर्फ गोठालाले झारिरहेका छन्। चिसो बढेसँगै लेकका खर्क खाली हुँदै गएका छन्। कात्तिक मध्यबाट घरवरपर नै गोठ राखी खुवाउने गरिन्छ। अब होचा स्थानमा भेडाच्याङ्ग्रा र चौरीको गोठ राखिनेछन्।
व्यावसायिकरूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि यस तर्फ चासो नदेखाएको उनले बताए।
‘गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन,’ उनले गुनासो गरे।
गत वर्ष हिमपहिरामा परी दुई सय ५० भन्दा बढी भेडाच्याङ्ग्रा तथा चौँरी मरेका उनले बताए। अहिले त झन् हिउँचितुवाले पनि सताएको उनको भनाई छ।
पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताए। ‘पहिले चौँरी र भेडाच्याङ्ग्रा धेरै थिए। तर अहिले पाल्ने क्रम कम भएको छ। चितुवाको आक्रमण बढ्दा अझ समस्या थपिएको छ,’ उनले भने, ‘अहिले साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुने गरेको छ।’
केही बाच्छाबाच्छीलाई चितुवाले आक्रमण गर्दैगर्दा पनि गोठालाले धपाएर बचाएका छन्। क्षति हुँदा राहतका लागि पनि झन्झट छ । राहतको पाँच–दश हजार लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा २५ देखि ३० हजार खर्च हुने गरेको गुरुङले बताए।
‘पहिलेको जस्तो घाँस हुँदैन। घाँस अभावले अहिले झन्झन् माथिल्लो लेक गोठ सार्नुपरेको छ। न समयमा हिउँ पर्छ। यसले गर्दा पनि घाँसको समस्या हुँदै गएको हो,’ गुरुङले भने।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडाच्याङ्ग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताए। यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उनको भनाई छ।
Shares
प्रतिक्रिया