ad ad

कारोबार


चौधरी फाउन्डेसनले भूकम्प पीडितलाई ‘ट्रान्जिसनल होम’ निर्माण गरिदिने

चौधरी फाउन्डेसनले भूकम्प पीडितलाई ‘ट्रान्जिसनल होम’ निर्माण गरिदिने

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १३:१४, काठमाडौँ

चौधरी फाउन्डेसनले भूकम्पले घरविहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’ बनाइदिने भएको छ। भत्किएका घरहरू पूनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर घरविहीन भएका प्रभावितलाई ओतमुनि पुर्याउन यस्ता घर निर्माण गर्न लागिएको फाउन्डेसनले जनाएको छ।

स्थानीय प्रशासन/स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिनेछन्। यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तीय सहयोग चौधरी फाउन्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवश्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन्। यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउन्डेसनको छ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले भने,‘भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको छ। उहाँहरूको पीडामा मल्हम लगाउने काममा हामीले कत्तिपनि विलम्ब गर्नु हुँदैन। यही मर्मलाई आत्मसाथ गर्दै चौधरी फाउन्डेसनले तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहीन बन्नु भएका महानुभावका लागि चिसोबाट जोगाउन छानोमुनि फर्काउने कामलाई पनि तिब्रता दिने निर्णय लिएको छ। यस जिम्मेवारी वहनका लागि हाम्रो फाउन्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम शुरू गरिसकेको छ।’

मानवीय सेवाको यस्तो कार्यमा सबैले हातेमालो गर्न र सहकार्य गर्न पनि अध्यक्ष चौधरीले आव्हान गरेका छन्।

फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने सहमति भइसकेको पनि फाउन्डेसनले जनाएको छ। मंगलबार (कात्तिक २१ गते) चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीवीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको छ।

सहमतिपछि मेयर वादीले भने, ‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमा पुर्याउनु हाम्रो जिम्मेवारी हो। यो जिम्मेवारी लिन चौधरी फाउन्डेसन आफैं हाम्रो आँगनमा आइपुगेको छ। हामीबीच ‘ट्रान्जिसनल होम’ बनाउने सहमति भएको छ। र, छिटोभन्दाछिटो काम शुरू गर्न हामी प्रतिवद्ध छौँ।’

चौधरी फाउण्डेसनले गोर्खा केन्द्रविन्दू रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूका लागि करिब तीन हजार ‘ट्रान्जिसनल होम’ निर्माण गरि हस्तान्तरण गरेको थियो। साथै, सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरि हस्तान्तरण गरेको थियो। भूकम्प प्रभावितका लागि २०७२ सालमा चौधरी फाउन्डेसनबाट सम्पादन भएको सफल कार्यक्रमको अनुभवले अहिलेको भूकम्प पीडितको सेवामा जुट्न हामीलाई सहज हुने फाउन्डेसनको विश्वास छ।

फाउन्डेसनले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत वितरण कार्य पनि जारी राखेको छ। चौधरी फाउन्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगि भूकम्प प्रभावितका लागि तत्काल अत्यावस्यक राहत सामग्री वितरण गरिरहेको छ।

फाउन्डेसनले जाजरकोट र रूकुमका विभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरेको हो। चौधरी फाउन्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधिहरू भूकम्प प्रभावित क्षेत्रमा पुर्याएको जनाएको छ।

फाउन्डेसनका अनुसार फाउन्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवस्यक पर्ने राहत व्यवस्थापन गरिरहेको र, राहत वितरण कार्य जारी रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .