ad ad

कारोबार


सुनको मूल्य माघयताकै उच्च, ७६ हजार ३ सय रूपैयाँ प्रतिताेला

सुनको मूल्य माघयताकै उच्च, ७६ हजार ३ सय रूपैयाँ प्रतिताेला

नेपालखबर
माघ १६, २०७६ बिहिबार ७:२९,

निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार पुगेको छ ।

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले बढेको हो। यही सोमबार र मङ्गलबार प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला ७५ हजार ६०० पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला १० ले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ८ सय ८० रूपैयाँ पुगेको छ ।

यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ। विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५ सय ८२ अमेरिकी डलर पुगेको छ ।

खपत ओरालो
पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनाव केही मत्थर भए पनि निष्कर्षमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ओरालो लाग्न थालेको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ। सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .