कारोबार


विकासका लागि वैदेशिक स्रोत आवश्यक छ: अर्थमन्त्री खतिवडा

विकासका लागि वैदेशिक स्रोत आवश्यक छ: अर्थमन्त्री खतिवडा

नेपालखबर
माघ १५, २०७६ बुधबार १२:३,

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिक लगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन्।

आज अर्थ मन्त्रालयमा स्वीज इन्भेष्टमेन्ट फण्ड फर इमेर्जिङ मार्केटस का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत जर्ज फ्रिडेनको नेतृत्व टोलीसँग भएको भेटवार्तामा अर्थमन्त्री डा. खतिवडाले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकोले वैदेशिक स्रोतको आवश्यकता भएको बताए।

भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए। अर्थमन्त्री डा. खतिवडाले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, विभिन्न देशहरुसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अगाडि बढाइएको, च्यालेन्ज फण्डको सुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानूनहरु निर्माण गरिएको र विद्यमान कानुनको परिमार्जन गर्न लागिएको बताए।

अर्थमन्त्री डा. खतिवडाले पूर्वाधारको विकास गरी पर्यटन र उर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धि सँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने बताए। उनले पूर्वाधार विकाससँगै सेवाको गुणस्तरयुक्त विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेको बताए। मुलुकको समग्र विकासका लागि नवप्रवर्तन अन्वेषण तथा युवा लक्षित सिप र प्रविधिक ज्ञानको सहयोगमार्फत साना मझौला व्यवसायको प्रवद्र्धन र रोजगारी सिर्जना अहिलेको मुख्य आवश्यकता भएको स्पस्ट पारे। उनले विकसित मुलुकले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पुँजी परिचालनमार्फत नेपालले सहकार्य गर्न चाहेको समेत स्पष्ट पारे।

फ्रिडेनको नेतृत्व टोलीले अर्थमन्त्रीसमक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर भएकोमा खुशी व्यक्त गरे। सो भेटमा नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन च्यापलर तथा उदाउँदो अर्थतन्त्रको लागि स्विस लगानी कोषका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। टोलीले विभिन्न सरकारी, निजी तथा गैरसरकारी क्षेत्रसँग भेट गरी विकास प्राथमिकताका विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad