ad ad

कारोबार


२ किलो चिनी किन्न धादिङका जनता काठमाडौंमा

२ किलो चिनी किन्न धादिङका जनता काठमाडौंमा

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १६:४५, काठमाडौँ

बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौं आएका छन्।

नेपालीको मुख्य चाड दसैँ, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका हुन्। दसैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताए।

उनले मुख्य चाडपर्वको समयमा २ किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौं आउनुपर्ने बाध्यता सरकारको लापरवाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गरे। उनले चिनी लगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता सयमा नै गराउनु राज्यको दायित्व भएको भन्दै राज्यले जनताप्रतिको दायित्व बिर्सेको आरोप लगाए।

भट्टराईले धादिङका खाद्यन्न पसलहरुमा चिनी नपाएको पाएपनि किलोको १६० रुपैयाँसम्म पर्ने गरेको बताए। उनले जन्मेदेखि पहिलो पटक धादिङबाट २ किलो चिनी किन्न काठमाडौंमा आउनु परेको बताए।

त्यस्तै, सहुलियत पसलमा चिनी किन्न लाइनमा बसेकी सावित्रा उप्रेतीले चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेका बताइन्।

उनले नेपालीको मुख्य चाड दशैँ, तिहार र छठ आउने समयमा सरकारले आवश्यकतालाई हेरेर समयमा नै उपलब्धता गराउन नसक्नु जनतालाई दुःख दिनुभएको बताइन्। उनले सरकारले सञ्चालन गरेको सहुलियत पसल भन्दा बाहिरका पसलहरुमा चिनी नपाएको भन्दै २ किलो भएपनि लाइन बसेर लिन आएको बताइन्। उनले सरकार जनताप्रति उत्तरदायी नहुँदा हेरक वर्ष ग्यास,चिनी,नुन लगायत अन्य खाद्यन्नको अभाव झेल्दै आएको भन्दै जनतालाई सधैँ सास्ती मात्रै दिएको बताइन्।

त्यस्तै, कीर्तिपुरबाट चिनी किन्नको लागि सहुलियत पसल आएकी पवित्रा थापाको पनि उस्तै गुनासो रहेको छ। उनले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताइन्। उनले २ किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताइन्। उनले सरकारले राम्रो काम गर्न नसक्दा चाडपर्वको मुखमा जनताले दुःख पाएको भन्दै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको उल्लेख गरिन्।

यता साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ केजी उपलब्ध गराउने बताए। उनले सरकारले चाडपर्व लक्षित सञ्चालनमा आएका सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्ताहरुलाई खाली हात पठाउने बताए। 

उनले लाइनमा बस्ने उपभोक्ताहरुले अनिवार्य २ केजी चिनी पाउने बताए। उनले चिनी अभावको कारणले सहुलियत पसलहरुमा चिनी किन्न आउने उपभोक्ताहरुको भीड रहेको बताए। उनले चिनी अभाव हुने विषयमा गत जेठ महिनामा नेपाल सरकारसँग आग्रह गरेपनि सरकारले तत्कालिन समय स्वीकृति नदिँदा चिनीमा समस्या आएको बताए। सरकारले समयमा नै स्वीकृत दिएको भए समयमा चिनी आयात हुँदा अभाव झेल्न पर्ने अवस्था आउने थिएन उनले भने।

उनले सरकारले भदौ २७ गते निर्णय गरेर १० हजार मेट्रिक टन साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिएपनि भारतमा चिनी निर्यातमा रोक लगाएको कारण समस्या भएको बताए।

उनले चिनी खरिद प्रक्रिया अगाडि बढाएपनि चाडपर्वमा ल्याउन नसकिएको बताए। उनले सरकारले आन्तरिक बजारबाट तत्कालको ७० टन चिनी २ केजीको दरले उपभोक्तालाई दिन उपलब्ध गएर ९७ रुपैयाँ प्रतिकेजीको दरले काठमाडौंका ८ वटै आउटलेटबाट बिक्री गरिरहेको बताए।

उनले विगतका वर्षहरुको भन्दा यो वर्ष सरकारले सञ्चालन गरेको सहुलियत पसलहरुको व्यापार कमी आएको बताए। उनले मानिसहरुसँग आर्थिक अभावको कारण बजारमा व्यापार घटेको देखिएको बताए।

उनले दशैँ, तिहार र छठमा चिनी अभाव हुन नदिन साल्ट ट्रेडिङ लिमिटेडले सरकारसँग समन्वय गरेपनि सरकारको निर्णयमा ढिलाइ हुँदा समस्या भएको बताए। आन्तरिक रूपमा उत्पादन भएको चिनी ‘स्टक’ सकिएपछि अहिले बजारमा चिनी मूल्य ह्वात्तै बढेको छ।

साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ।

चाडपर्वमा जनताले २ किलो चिनी पाउन समेत विभिन्न समस्या झेल्नुपर्ने बाध्यता सरकारको लाचारीपनको कारण भएको हो। हरेक वर्ष चाडपर्वमा नागरिकहरुले मूल्य वृद्धि र सामान अभाव झेल्नुपर्ने समस्या समाधानको लागि सरकारले समयमा नै सोच्नुपर्ने अवस्था आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .