ad ad

कारोबार


तिलिचो ताल क्षेत्रमा इन्टरनेट सेवा

पर्यटक बिरामी पर्ने, हराउने समस्या न्यूनीकरण हुने अपेक्षा
तिलिचो ताल क्षेत्रमा इन्टरनेट सेवा

तिलिचो ताल क्षेत्रमा इन्टरनेट। तस्बिर : रासस


रासस
असोज २८, २०८० आइतबार १०:४३, मनाङ

विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालमध्ये एक तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै क्षेत्रमा  इन्टरनेट जडान गरिएको हो। 

पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए। उनका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्नसक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाई जोडिएको हो। 

‘वाइफाई जडान गरिएपछि पर्यटक बिरामी पर्ने, हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ’, उनले भने, ‘इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन्।’

यसले गर्दा पर्यटकलाई नै इन्टरनेटको पहुँचमा रमाउन पाउने अवस्था बनेको उनले बताए। 

होटल व्यवसायी कर्म ढेण्डु गुरुङले पर्यटकलाई सहज बनाउन यहाँका पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा इन्टरनेट सेवा सञ्चालन गरिएको बताए।

‘पर्यटकको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्यअनुसार तिलिचो ताल क्षेत्रमा इन्टरनेट राखिएको छ, उच्च स्थानमा सकस हुन सक्ने भए पनि वाइफाइका माध्यमबाट पर्यटकले सहजरुपमा सम्पर्कमा आउन सक्नेछन्’, उनले भने। 

उच्च स्थानमा अवस्थित तिलिचो तालमा पुगेर टिकटक, रिललगायतका सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्ने वातावरण तयार भएको पर्यटन व्यवसायी बताउँछन्। 

पर्यटक आगमनको समय सुरु हुनासाथ इन्टरनेटको पहुँच पुर्‍याएर सहज बनाइएको व्यवसायी बताउँछन्। तिलिचो लेकमा पुगेपछि पनि होटल तथा पर्यटन व्यवसायीसँग समन्वय हुने र पर्यटकको स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने व्यवसायी गुरुङले बताउनुभयो । यसले गर्दा पर्यटक बिरामी परेको अवस्थामा समयमा नै उद्धार गर्न सकिने उनको भनाइ छ। 

मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन्। मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .