सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी आएको छ।
उत्पादनमा कमी आएसँगै आँपको मूल्य बढेको छ। रोगको प्रकोपले यस वर्ष आँप उत्पादन घटेको हो।
सिरहामा पाँच हजार एक सय ७० हेक्टर क्षेत्रफलमा व्यवसायिक आँप खेती हुँदै आएको छ।
यस वर्ष प्रतिहेक्टर एक दशमलव पाँच प्रतिशतका दरले सात हजार ७५५ मेट्रिक टन मात्र आँप उत्पादन भएको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भगीरथ यादवले जानकारी दिए।
कूल पाँच हजार ७५५ हेक्टरमा आँप फल्ने जग्गा रहेको जिल्लामा गत वर्ष पाँच हजार १७० हजार हेक्टरमा प्रतिहेक्टर चार दशमलव पाँच प्रतिशतका दरले २३ हजार २६५ मेट्रिक टन आँप उत्पादन भएको थियो।
सप्तरीमा समेत यस वर्ष आँप उत्पादन ह्वात्तै घटेको छ। सप्तरीमा कूल पाँच हजार हेक्टरमा प्रतिहेक्टर एक दशमलव पाँच मेट्रिक टनका दरले सात हजार मेट्रिक टन आँप उत्पादन भएको यादवले बताए।
गत वर्ष सप्तरीमा प्रतिहेक्टर आठ मेट्रिक टनका दरले आँप उत्पादन भएको थियो । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सिरहाको जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीको कञ्चनपुर, रुपनगर, सीतापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायत आँपको पकेट क्षेत्र हुन्।
आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिनापानी र मधुवा किराले क्षति पु¥याएको बागवानी अधिकृत यादवले बताए।
सिरहा र सप्तरीको बजारमा माल्दा आँप प्रतिकिलो १००, बम्बई आँप १२०, सरही ८० तथा अन्य आँप प्रतिकिलो ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
गत वर्ष प्रतिकिलो ५० भन्दा कममै आँप बिक्री भएको थियो। शुरुआतमै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन्।

प्रतिक्रिया