कारोबार


यात्रा समय छोट्याउँदै नेपाली, वार्षिक ५ लाखले बढे हवाइ यात्रु

यात्रा समय छोट्याउँदै नेपाली, वार्षिक ५ लाखले बढे हवाइ यात्रु

बसन्त अर्याल
माघ १२, २०७६ आइतबार १०:४९,

नेपालको आन्तरिक उडानमा हवाइयात्रुको संख्या वार्षिक औसत ५ लाखको दरमा वृद्धि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार गरेको सन् २०१५ देखि २०१९ सम्मको तथ्याङ्कमा आन्तरिक उडानका यात्रुहरुको संख्या वार्षिक ५ लाखले बढेको देखिएको हो।

प्राधिकरणका अनुसार सन् २०१५ मा आन्तरिक उडानबाट १५ लाख ११ हजार यात्रुले सेवा लिएका थिए। त्यस्तै सन् २०१६ मा १९ लाख ३० हजार, २०१७ मा २४ लाख ४८ हजार, २०१८ मा २९ लाख ३३ हजार र सन् २०१९ मा ३५ लाख ६५ हजार यात्रुले आन्तरिक उडानबाट हवाइ यात्रा गरेका छन्।

nepalair

तथ्यांकअनुसार सन् २०१९ मा यसरी यात्रा गर्ने यात्रु करिब ६ लाखले बढेका छन्। यो तथ्याङ्क त्रिभुवन विमानस्थल प्रयोग गर्ने यात्रुबाहेकको हो। नेपालका ३० वटा आन्तरिक विमानस्थलमार्फत यात्रा गर्नेको संख्या ५ वर्षमा १ करोड २३ लाख ८९ हजार पुगेको छ। यसमा पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज गरी मुख्य ४ वटा ‘हब एयरपोर्ट’ रहेका छन्।

सन् २०१९ मा कुल ३५ लाख ६५ हजार हवाइ यात्रुमध्ये पोखरा विमानस्थल प्रयोग गर्ने सबैभन्दा धेरै छन्। यहाँबाट मात्रै ७ लाख २० हजार जनाले यात्रा गरेका छन्। त्यस्तै दोस्रोमा विराटनगर विमानस्थलको प्रयोग गर्ने ६ लाख ५२ हजार, नेपालगञ्ज विमानस्थलबाट यात्रा गर्ने ४ लाख ५३ हजार र गौतमबुद्ध (भैरहवा) विमानस्थल प्रयोग गर्ने ४ लाख २० हजार रहेको तथ्यांकमा उल्लेख छ।

hawai yatru 123स्राेतः नागरिक उड्डयन प्राधिकरण

असुरक्षित सडक र कम भाडादरले बढे हवाइ यात्रु
हवाइयात्रु बढ्नुमा असुरक्षित सडकसँगै हवाइ भाडादरमा कमी आउनु मुख्य कारण रहेको सरोकारवालाले बताएका छन्। नेपालमा सडक दुर्घटना बढिरहेको त्यसको प्रभाव हवाइ यातायातमा देखिएको उनीहरुको बुझाइ छ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका अध्यक्ष अच्युत शर्मा गुरागाईंले हवाइ माध्यमबाट यात्रा गर्ने संख्या बढ्नुको मुख्य कारण सडकको अवस्था रहेको बताए। आवश्यक स्तरोन्नति हुन नसक्दा मानिसहरुले हवाइ यात्रा रोजेको उनको भनाइ छ।

‘भर पर्दो सडक नहुँदा कतिबेला पुगिन्छ, गन्तव्यमा भन्ने निश्चित हुँदैन’, उनले भने, ‘तर हवाइ यातायातमा छोटो समयमा दूरीमा पुग्न सकिने भएकाले हवाइ यात्रु बढेका हुन्।’ त्यस्तै उनले पहिलाभन्दा अहिले नेपालीले समयको महत्व बुझ्न थालेको दाबी गरे।

buddha air udan

‘समय नै पैसा हो भन्ने नेपालीले बुझ्न थाले। समयलाई पैसासँग तुलना गर्न थालेका छन्’, उनले भने, ‘पहिलाजस्तो दिन–रातको लामो यात्रा गर्न धेरै चाहँदैनन्। स्वास्थ्यको हिसाबले पनि सडक यात्राभन्दा हवाइ यात्रा राम्रो हुने देखिएको छ।’

उनले मानिसहरुमा घुम्ने इच्छा धेरै हुँदा पनि आन्तरिक हवाइयात्रुको वृद्धि भएको बताए। ‘पहिला मानिसमा घुमेर किन पैसा खर्च गर्ने भनेर सोच्थे। अहिले घुम्दा आनन्द लिनथालेका छन्’, गुरागाईंले नेपालखबरसँग भने।

पूर्वाधार तथा यातायात विज्ञ किशोर थापा समयको बचतको लागि हवाइ यातायातको प्रयोग गर्ने बढेको बताउँछन्।

Shree

‘पहिलो कुरा त मानिस समयको महत्व बुझेर हवाइ यातायात प्रयोग गर्ने गरेका छन्’, उनले भने, ‘अर्को, मानिसको आम्दानी पनि बढ्यो। पहिलाको तुलनामा नेपालीहरुको हवाइजहाज चढ्न सक्ने क्षमतामा वृद्धि भयो।’

सडक यातायातमा असुरक्षित, असुविधाजस्ता अनिश्चितता बढ्दै जाँदा हवाइ यात्रुको संख्या बढेको हुनसक्ने थापाको भनाइ छ। त्यस्तै, बुद्ध एयरका मार्केटिङ प्रमुख रुपेश जोशी टिकट मूल्य कम भएकाले हवाइ यात्रु बढेको बताउँछन्।

‘विगत ५ वर्षमा एयरलाइन्स कम्पनी र जहाजहरु पनि थपिए, जसले टिकटदर घट्यो, हवाइ यात्रु पनि बढे’, उनले भने, ‘नेपालका बाटोभन्दा हवाइ यातायात सुरक्षित देखिएकाले पनि हवाइ यातायात बढेका हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad