ad ad

कारोबार


व्यावसायिक तरकारी खेतीमा लागेपछि सुधारियो किसानको आर्थिक अवस्था

व्यावसायिक तरकारी खेतीमा लागेपछि सुधारियो किसानको आर्थिक अवस्था

नेपालखबर
असोज १, २०८० सोमबार ५:१०, म्याग्दी

म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यावसायिक सिमीखेती गरेका छन्। 

परम्परागत खाद्यबाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए।  करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि उनले सिमी लगाएका छन्।

छन्त्यालजस्तै यहाँ बसोबास रहेका २१ घरधुरीले नै परम्परागतरूपमा हुने कोदो, मकै, जौ, फापरलगायतका खाद्यबालीलाई छाडेर खायन आलु र घ्यूसिमीको व्यावसायिक खेती सुरु गरेका हुन्। 

चिसो हावापानी भएकाले खाद्यबाली पाक्नसमेत समय लाग्ने र नगद आम्दानी नहुने भएपछि स्थानीयवासीले आयआर्जनका लागि व्यावसायिक आलु र सिमीखेती विस्तार गरेको बताउँछन्।

जिल्ला कृषि ज्ञान केन्द्र र रघुगङ्गा गाउँपालिकाले समेत कुइनेमंगलेलाई आलु र सिमी पकेट क्षेत्र घोषणा गरेका छन्। यो गाउँको करिब एक हजार २०० रोपनीमा अहिले सिमीखेती गरिएको श्रीकृष्ण कृषि तथा पशुपालन कृषक समूहका सचिव बदेवी छन्त्यालले जानकारी दिए। 

आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ। आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको उनले बताए।

आलु खनेर घरमा भित्र्याइसकेर बिक्री गर्न थालेका स्थानीयको बारीमा सिमी फल्न थालिसकेको छ। बारीभरि थाक्रोमा सिमी लहलह भएका छन्। सिमीको बोटमा कोसा लाग्न थालिसकेको छ। 

रैथाने खाद्य बाली पाक्न पाँचदेखि छ महिना लाग्ने र त्यसले आयआर्जन नहुने अवस्थामा गाउँमा उत्पादन हुने आलु र सिमी बिक्री गरेर आम्दानी गर्न थालेपछि स्थानीयवासीको आयआर्जनमा सघाउ पुर्‍याएको छ।
 
तीन महिनामै बाली पाक्ने र बजारीकरण गरेर नगद आम्दानी गर्न सकिने भएकाले आलु र सिमीखेतीले व्यावसायिकता पाएको कृषक समूहका अध्यक्ष बिना छन्त्यालले बताइन्। 

सदरमुकाम बेनीबाट गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै मंगलेखानीसम्म सडकको पहुँच पुगेकाले यहाँ उत्पादन हुने आलु र सिमी बजारीकरणमा सघाउ पुगेको उनले जानकारी दिइन्। 

‘यहाँ आलु पहिलेदेखि नै हुने गर्थ्यो। तर बिक्री भने हुने थिए। स्थानीयवासीले आफैँले प्रयोग गर्ने र आफन्तलाई कोसेलीका रूपमा पठाउने चलन थियो, तर गाउँमा सडक आएपछि गाउँको आलु बेनी, पोखरालगायतका बजारमा पुग्न थालेको छ, गाउँबाट सिमी पनि निर्यात हुन थालेको छ, कच्ची सडकको अवस्थालाई बाह्रै महिना सञ्चालन हुने बनाउन सकेमा यहाँका धेरै कृषकलाई राहत हुने थियो’, अध्यक्ष छन्त्यालले भनिन्।

यो गाउँमा आलुबाट मात्रै वार्षिकरूपमा ६० लाख रुपैयाँ बढी नगद भित्रिन्छ। यो वर्ष विगत वर्षको तुलनमा आलुको उत्पादन बढेको छ। बजारमा माग नबढेका कारण अझै पर्याप्त मात्रामा आलु निर्यात हुन नसकेको स्थानीय कृषक निश्मा छन्त्यालले बताइन्। 

परीक्षणको रूपमा गरिएको सिमीखेती सफल भएपछि तीन वर्षदेखि समूह नै दर्ता गरेर व्यावसायिकरूपमा खेतीलाई विस्तार गरिएको उनको भनाइ छ।
 
यो गाउँका हरेक घरले तीनदेखि पाँच टन आलु उत्पादन गर्छन्। आलुखेती गरेको अधिकांश जमिनमा अहिले सिमीखेती गरिएको छ। हरेक घरले दुईदेखि आठ मुरीसम्म सिमी उत्पादन गर्छन्। यहाँ उत्पादन भएको सिमी प्रतिपाथि ६०० मा बिक्री हुने गरेको छ।

गत वर्ष रघुगंगा गाउँपालिकाले मङ्गलेका कृषकलाई अनुदानमा आलुको बीउ, सिँचाइ पाइप, बोरा, रोग कीरा नष्ट गर्ने विषादीलगायत सहयोग गरेको थियो। 

गाउँमा आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था आएकाले स्थानीयवासीले यस क्षेत्रमा चिस्यानगृह भवन निर्माण गर्न माग गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .