एनआईसी एसिया बैंकले हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सशस्त्र प्रहरीको एपीएफ क्लबका तर्फबाट सहभागी भई विभिन्न पदक जित्ने खेलाडीलाई झन्डै १० लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ।
सशस्त्र प्रहरीको १९औं स्थापना दिवसका अवसरमा बैंकले एपीएफ क्लबबाट सागमा विजयी विभिन्न खेलाडीका लागि नगद पुरस्कारस्वरूप एकमुस्ट ९ लाख ९५ हजार रकमको चेक सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको हो।
एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले एपीएफ क्लबका अध्यक्ष एवं सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई पुरस्कार रकमको चेक हस्तान्तरण गरेका हुन्।
सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा पुरस्कार रकमको चेक हस्तान्तरण गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधीरनाथ पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
आम जनताले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाका कारण मुलुकभर ३१३ शाखा कार्यालय, ४३० एटीएम, १०४ वटा एक्सटेन्सन काउन्टर एवं ४७ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको एनआईसी एसिया बैंकले जनाएको छ।
आफू मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक भएको दाबी उसले गरेको छ। आफूसँग २१ लाखभन्दा बढी ग्राहक रहेको बैंकले जानकारी दिएको छ।
बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि मुलनारासहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ अभ्यास गरिरहेको एनआईसी बैंकले जनाएको छ।
प्रत्यक्ष/अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा ३ अर्ब १५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया