ad ad

कारोबार


माघमा सुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन

माघमा सुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन

नेपालखबर
माघ ८, २०७६ बुधबार ११:१०,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताएका छन्।

सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरिने कार्यक्रमको आज सिंहदरबारमा सम्पन्न अर्धवार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले वार्षिक कार्यक्रममा रहेकामध्ये हालसम्म खर्च हुन नसकेको वा हुन नसक्ने अवस्थामा रहेका बजेट रकम फिर्ता गर्न निर्देशन दिए।

त्यसरी बाँकी देखिएका रकम अन्य सेवा र कार्यक्रममा लगाउन सकिने बताउँदै उनले शुरुआत नै गर्न नसकिएका कामको बजेट कायम राखेर जाम गर्नु अनुचित हुने र त्यस्तो गर्ने निकाय वा विभागीय प्रमुखलाई विभागीय कारवाही गरिने स्पष्ट गरे।

मन्त्री बाँस्कोटाले मन्त्रालयको समष्टिगत पूँजीगत खर्चको रकम थोरै भए पनि तोकिएको रकम समयमै खर्च हुन नसक्नाको कारण बताउन निर्देशन दिँदै भने, ‘जे काम गर्न प्रतिबद्ध भएको हो, त्यसमा खर्च हुनै पर्छ। हुनै नसक्ने कामको सूची तयार गरेर तीनचार दिनभित्र पेश गर्नुस्। काम गर्न थालेपछि रकम अपुग भएमा अर्थ मन्त्रालयले विचार गर्छ।’ मन्त्री बाँस्कोटाले भने, ‘स्वीकृत कार्यक्रम र बजेट नछुट्टिइकन जथाभावी खर्च गर्न पाइँदैन। रकम बाँकी राखेर आर्थिक वर्षको अन्तिममा सभा,गोष्ठी गरेर भए पनि खर्च गर्ने प्रणालीको अन्त्य हुनुपर्छ।’

उनले रेडियो नेपालको जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई बिक्री गर्ने निर्णय कार्यान्वयनमा भएको ढिलाइबारे एक साताभित्र टुंगो लगाउन, सामाजिक सञ्जाल फेसबुक आदिबाट भइरहेको खर्च र आम्दानीमा राजश्व र करका सम्बन्धमा रायसुझाव दिन अध्ययन समिति गठन गर्न र नेपाल टेलिभिजनको अंग्रेजी वर्ल्ड च्यानल सञ्चालनको खाका ल्याउन नेपाल टेलिभिजनका पदाधिकारीलाई निर्देशन दिए।

मन्त्रालयका सचिव दीपक सुवेदीसहितको सो बैठकमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष श्यामल अधिकारीले मन्त्रालयमा विचाराधीन राससको संशोधित विनियमावलीलाई चाँडो स्वीकृत गरिदिन आग्रह गर्दै रासस केन्द्रीय कार्यालयको नवनिर्मित समाचार भवनका लागि तत्काल नयाँ फर्निचरका लागि बजेट आवश्यक रहेको उल्लेख गरे।

अध्यक्ष अधिकारीले छिमेकी चीनको बेजिङ र भारतको नयाँदिल्लीमा स्थायी समाचारदाता राख्नेसम्बन्धी प्रस्ताव मन्त्रालयमा पेश गरिएको समेत अवगत गराए। उनले रासस स्थापना विसं २०१८ फागुन ७ देखि २०५२ सालसम्मका स्क्यान गरिएका नेपाली समाचार (बुलेटिन) इमेज फर्म्याटमा रासस अनलाइनमा अभिलेखीकरण गरिएको पनि जनाए।

बैठकमा मन्त्रालयसँग सम्बन्धित विभिन्न निकायमध्ये चारबाहेक अन्य निकायले अर्धवार्षिक समीक्षा प्रस्तुत गरेका थिए। मन्त्रालयका सहसचिव राधिका अर्यालले प्रस्तुत गरेको विवरणमा सो मन्त्रालयको चालु आवका लागि विनियोजित बजेटमध्ये हालसम्म चालूतर्फ ४५ दशमलव ४१ र पूँजीगतमा २४ दशमलव ०८ प्रतिशत मात्र खर्च हुन सकेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .