ad ad

कारोबार


मकवानपुरको राक्सिराङमा खादाको सट्टा फूलको माला, ब्याचको सट्टा पिपलको पात

मकवानपुरको राक्सिराङमा खादाको सट्टा फूलको माला, ब्याचको सट्टा पिपलको पात

नेपालखबर
भदौ १, २०८० शुक्रबार १४:३८, हेटाैँडा

मकवानपुरको राक्सिराङ गाउँपालिकाले पालिकास्तरका कार्यक्रमहरूमा कपडाको खादा प्रयोग नगर्ने निर्णय गरेको छ।

गाउँमै फूलेका फूलहरुलाई प्रयोग गरेर कपडाको रेडिमेड खादा प्रयोग रोक्ने निर्णय भएको हो। गाउँपालिकाको सभाहलमा भएको कार्यपालिकाको बैठकले कपडाको खादा प्रयोग नगर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।

गाउँमा फूलेका फूलहरु प्रयोग गर्ने तथा स्थानीयलाई फूल रोप्नको लागि अभिप्रेरित गर्ने उदेश्यले यस्तो निर्णय भएको अध्यक्ष मल्लले बताए।

‘गाउँमै फूलेको फूलहरु सुकेर गइरहेका हुन्छन्। हामी एउटैको २ सय सम्म पर्ने खादा किनेर सम्मान गर्छौं। पैसाको पनि बचत, प्रकृति, सम्पत्तिको पनि उपयोग गर्ने उदेश्यले गाउँपालिका अन्तर्गतको कुनै पनि कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय भएको हो,’ अध्यक्ष मल्लले भने।

त्यसोत, विभिन्न कार्यक्रममा प्रमुख अतिथिदेखि अतिथिहरुलाई लगाइने ब्याच समेत कागज र कपडाले बनेको प्रयोग नगर्ने बताइएको छ। पिपलको पातमा लेखेर व्याज लगाइने अध्यक्ष मल्लले बताएका हुन्। बिना खर्चमा वातावरणमैत्री पिपलको पातबाट अतिथिको सत्कार गर्ने बानीको विकास गर्ने उदेश्यले कार्यपालिकाको बैठकले यस्तो निर्णय गरिएको बताइएको छ।  

यस्तै, कार्यपालिका बैठकले सार्वजनिक स्थलबाट १ सय मिटर आसपासको क्षेत्रमा सूर्तिजन्य तथा मदिराजन्य पदार्थको सेवन तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको अध्यक्ष मल्ले बताए। सार्वजनिक स्थलमा बसेर धुम्रपान तथा मद्यपान गर्ने गलत परम्परा हटाउनको लागि यस्तो निर्णय गरिएको बताइएको छ।

यसैगरी, पत्रु खाना (जंक फुड) मुक्त गाउँपालिका बनाउनको लागि रैथाने खानामा जोड दिने बताइएको भने गाउँपालिकाको शान्ति सुरक्षाको लागि नगर प्रहरी राख्नको लागि कार्ययोजना तयार गरिएको अध्यक्ष मल्लले बताए।

प्रहरी सहायक निरिक्षकको कमाण्डरमा पूर्वप्रहरी तथा सैनिकलाई नगरप्रहरीको भूमिकामा राख्ने योजना तयार गरिएको बताइएको छ। जसका कारण महिला हिंसा रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै गाउँनगर प्रहरी हुँदा अन्य राजश्व चुवाहटमा कमि आएर राजश्व संकलनमा बृद्धि हुने गाउँपालिकाले लक्ष्य लिएको छ।

महिला सुरक्षालाई ध्यानमा राखेर २ जना महिला नगरप्रहरी सहित ७ जना नगरप्रहरी राख्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। राक्सिराङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को कार्ययोजना तयार पारेर रोल मोडलमा काम गर्ने योजना बनाएको हो।

चालु आर्थिक बर्षका लागि कार्यपालिका बैठकबाटै कार्ययोजना तयार गरेर अघि बढ्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गार्तौलाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .