ad ad

कारोबार


चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्ड

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्ड

नेपालखबर
साउन ३१, २०८० बुधबार १५:५, काठमाडौँ

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ।

दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्वविजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीहरूकाबीच हुने एक भब्य समारोहमा यस अवार्डबाट चौधरी लाई सम्मान गर्ने कार्यक्रम छ।

एशियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्दै आएको छ। यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यान लगायत सम्मानित भएका छन्।

नेपालका एकमात्र फोब्र्समा सुचिकृत अर्वपति उद्योगी एवं समाजसेवी चौधरीले फाउन्डेसन मार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन्। नेपालमा सन् २०१५मा गएको महाभूकम्पका समयमा भूकम्प पीडितका लागि करिब तीन हजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरूलाई हस्तान्तरण गरेका थिए।

त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ओटा पक्की घर निर्माण गरेको थियो। भूकम्पका बेलामा गरेको योगदानमाथि फोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो।

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारीपश्चात कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरि सञ्चालनमा ल्याएको थियो।

कोभिड महामारीको समयमा आईसीयू बेडको अभावमा उपचार गर्न नपाएका सर्वसाधारण नागरिकका लागि उक्त वार्ड निर्माणले ठूलो राहत पुगेको थियो। फाउन्डेसनले कान्तिबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड)निर्माण गरि हस्तान्तरण गरेको थियो।

त्यस्तै, चौधरी फाउन्डेसनले सरकारलाई पीसीआर रिएजेन्ट र भेन्टिलेटरहरू पनि सहयोग गरेको थियो। अहिले चौधरी फाउन्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालहरुको गुणस्तर अभिवृद्धि गरि स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवा पाउने वातावरण बनाउन लागिरहेको छ।

चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन, उद्यमशिलता विकास, सीप र जीविकोपार्जन,महिला सशक्तिकरण,आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ।

चौधरी एक सफल नेपाली उद्योगी, लेखक, राजनीतिज्ञ तथा समाजसेवी हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रहेका छन्। अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त चौधरीको आत्मकथा विश्वका विभिन्न सात भाषामा प्रकाशित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .