तमोर जलाशयुक्त आयोजना अगाडि बढाउने विषयमा लगानी बोर्ड नेपाल र चिनियाँ कम्पनी पावर चाइनाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
लगानी बोर्ड कार्यालयमा आइतबार भएको एक कार्यक्रममा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र पावर चाइनाका उपाध्यक्ष पानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
कूल ७५६ मेगावाट क्षमताको सो आयोजनाको सर्वेक्षण अनुमति लिएको दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने सहमति भएको छ।
समझदारी भएलगत्तै एचआइडिसिएल र पावर चाइनाले संयुक्तरुपमा डिपिआर तयार पार्नेछन्। सर्वेक्षण अनुमतिका लागि कम्तीमा छ महिना लाग्नेछ। त्यस आधारमा दुई वर्षभित्र आयोजनाको सम्पूर्ण डिपिआरको काम सम्पन्न हुने छ।
चिनियाँ राष्ट्रपतिले गत असोज २५ र २६ गते गरेको नेपालको दुई दिवसिय राजकीय भ्रमणका क्रममा सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (चआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितीमा कूल ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र १५७ मेगावाट क्षमताको माडी खोला जलाशयुक्त आयोजना निर्माण गर्ने विषयमा समझदारी भएको थियो।

प्रतिक्रिया