केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा भनेका थिए –
‘ढुक्क हुनुहोस् दुई महिनाभित्र नेपालमा रेल सञ्चालन हुन्छ।’
उनले समितिलाई ट्रयाक र लिक निर्माणको काम सम्पन्न भइसकेको र नेपाल–भारत जीटुजीमार्फत निर्माण भइरहेको रेल केही समयमै नेपाल आउने बताएका हुन्।
मन्त्रीकै कुरालाई आधिकारिक मान्दा दुई महिनाभित्र जनकपुर–जयनगर रेल सञ्चालनसम्बन्धी पूर्वतयारी भने छैन। मन्त्रालय र रेल विभागले पहिलोपटक सञ्चालन हुनलागेकोले केही अप्ठ्यारो भएको बताए। तर २ महिनामा जसरी पनि सञ्चालन गर्ने उनकाे दाबी छ।
सबै कर्मचारी भारतबाट
रेल विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनमा ल्याउन रेलसँगै कर्मचारी पनि भारतबाटै ल्याउन लागेको बताए। सामान्य कर्मचारी नेपालकै हुने र सबै प्राविधिक भारतीय हुने उनकाे भनाइ छ।
‘हामीले ढाँटेर हुँदैन प्राविधिक कर्मचारी नेपालसँग छैनन्। सबै कर्मचारी भारतबाट ल्याउने हो। नेपालीहरु सहयोगी मात्रै हुन्छन्’, उनले भने, ‘रेल हेर्ने, स्टेसन सञ्चालन गर्ने, रेल चलाउनेलगायतका कोर टेक्निकल कर्मचारी भारतबाटै ल्याउँछौँ। दुई वर्षसम्म भारतीय कर्मचारीले नै रेल चलाउँछन्।’
उनले २ वर्षमा नेपालले रेलसम्बन्धी दक्ष जनशक्ति तयार गरिसक्ने दाबी गरे।
रेलसम्बन्धी इन्जिनियर अडियो/भिडियोको काम गर्दै
महानिर्देशक मिश्रले नेपालसँग कुनै पनि दक्ष जनशक्ति नभएको दाबी गर्दैगर्दा विभागले रेलसम्बन्धी पढ्न चीन पठाएका कर्मचारीलाई सरकारले अडियो/भिडियो सम्बन्धी काम गराइरहेको छ।
सन्त महर्जन
विभागले सन्त महर्जनलाई चीनको छात्रवृत्तिमा रेलसम्बन्धी अध्ययन गर्न चीन पठाएको थियो। ‘रेलको पनि विभिन्न विधा छ, त्यसमा रेलको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्ससम्बन्धी दुई वर्षे स्नातकोत्तर गरेर आएको हुँ। म अहिले शिक्षा तथा मानव विकास केन्द्रमा छु’, उनले नेपालखबरसँग भने, ‘यहाँ इन्जिनियरिङसम्बन्धी भन्दा शिक्षासँग सम्बन्धित अडियो र भिडियो कार्यक्रम उत्पादन गर्ने जिम्मेवारी पाएको छु।’
उनलाई सरकारले नै रेलसम्बन्धी पढ भनेर पठाएको हो। नेपालमा रेल सञ्चालनको लागि भारतबाट प्राविधिक ल्याउँदै छ नि भन्ने नेपालखबरको प्रश्नमा महर्जन भन्छन्, ‘रेल विभागको लागि प्राविधिक आवश्यक छ भनी विभागले मनोनयन गरी चाइना गएको थिएँ। नेपाल फर्किँदा मेरो पदस्थापना शिक्षा तथा मानव विकास केन्द्रमा भएको रहेछ। मैले पढेको कुनै पनि कुरा यहाँ काम लाग्दैन!’
उनी चीनबाट फर्किएर रेल विभागमै काम गर्ने बताएका थिए। विभागले राख्न खोजे पनि उनलाई सरुवा गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेल विभागमै पदस्थापना गर्न मानेन।
उनी भन्छन्, ‘म त सरकारी जागिरे, जहाँ गर भन्छ त्यहीँ गर्ने हो।’
उनले नेपालको लागि आफूले उक्त विषय चीन गएर पढेको बताए। ‘विभाग/मन्त्रालयले नेपाल सरकारको तर्फबाट सोच्नुपर्ने हो। नेपालमा रेलको इलेक्ट्रिकल विषय बुझेको अरु सायद छैन होला’, उनले भने।
नेपालले रेल ल्याउँदै छ, तिमी पढ्न चीन जाऊ भनेर नै आफूलाई चीन पठाइएको महर्जन बताउँछन्। तर अहिले आफूले रेलसम्बन्धी काम गर्न नपाउँदा नराम्रो लागेको बताउँछन्।
‘यो कुरा सोचेर आफैँलाई अचम्म लाग्छ। मैले रेलसम्बन्धी पढेको तर अहिले अडियो भिजुअल बनाउने काम गर्छु भन्नै लाज लाग्छ। कसलाई के भन्ने?’, उनले भने।
पूर्वतयारी छैन
रेल नेपाल आइसकेपछि पनि सञ्चालनको भने कुनै टुङ्गो भएको छैन। रेल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ऐन तथा नियमावली केही पनि बनेको छैन। रेलसम्बन्धी विधेयक राष्ट्रियसभामा छलफलकै चरणमा छ भने नियमावलीको कुनै टुङ्गो छैन। रेल आउने तर ऐन तथा नियमावली नहुँदा सञ्चालनमा समस्या आउने सम्भावना छ।
महानिर्देशक मिश्रले भने, ‘नयाँ कुरा हो, झमेला त हुन्छ नै। त्यसलाई सल्टाउँदै जान्छौं र विस्तारै सबै मिल्छ।’
नेपाल–भारत जीटुजी सम्झौतामा निर्माण भएको रेलका लागि नेपाल सरकारले गत मे १०, २०१९ मा भारतको रेल कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडसँग सम्झौता गरेको थियो। कुल ८४ करोड ६५ लाखमा दुईवटा डेमो रेल निर्माण गर्ने गरी सम्झौता भएको थियो।
विभागका महानिर्देशकका अनुसार नेपालले २० प्रतिशत मोबिलाइजेसन भुक्तानी गरिसकेको छ भने ८० प्रतिशत दुईवटै रेल नेपाल भित्रिसकेपछि मात्र भुक्तानी गर्ने सम्झौता भएको छ। उनले नेपालमा ल्याएर परीक्षण गरेपछि मात्रै ८० प्रतिशत पैसा दिने बताए।

प्रतिक्रिया