ad ad

कारोबार


विदेश घुम्न जानेलाई सटही सुविधा सहज बनाउँदा वार्षिक २ खर्ब बाहिरिने

विदेश घुम्न जानेलाई सटही सुविधा सहज बनाउँदा वार्षिक २ खर्ब बाहिरिने

फाइल फोटो


नेपालखबर
साउन ८, २०८० सोमबार १८:३१, काठमाडौँ

विदेश जानेलाई सटही सुविधा सजिलो बनाउँदा २ खर्ब भन्दा बढी रकम बाहिरिने देखिएको छ। अघिल्लो आर्थिक वर्ष नेपाली विदेश घुम्न जाँदा मात्रै डेढ खर्ब लगेकोमा राष्ट्र बैंक लचिलो हुँदा २ खर्ब बढी रकम बाहिरिने देखिएको हो।

राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती राम्रो रहेको उल्लेख गर्दै मुद्रा सटहीलाई सहज बनाइदिएको छ। विदेश जानेले अब थप १ हजार डलर सटही सुविधा पाउने भएका छन्। अहिलेसम्म १ हजार ५ सय डलर साट्न पाउने भएकोमा अब २ हजार ५ सय सटही सुविधाको व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै भनेको छ, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ।’

हालसम्म एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था थियो।

आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरेको छ।

‘२०७९ असार मसान्तको तुलनामा कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्तमा  १४८० अर्ब ८७ करोड पुगेको छ,’ मौद्रिक नीतिमा उल्लेख रहेको छ,‘अमेरिकी डलरमा यस्तो सञ्चिति १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड पुगेको छ।’

विप्रेषण आप्रवाहको वृद्धिदर उच्च नहुने तर आयातको वृद्धिदर भने उच्च रहन गएमा विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने जोखिम रहने उल्लेख रहेको छ।

यसर्थ, बाह्य क्षेत्रको दिगो सुधारको लागि निर्यात तथा पर्यटन प्रवद्र्धन गर्ने, वैदेशिक लगानी विस्तार गर्ने र औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह भित्र्याउने कार्यलाई प्राथमिकतामा राख्न आवश्यक छ।

नेपाल उद्योग वाणिज्य महासंघले अमेरिकी डलर सटही सुविधा २५०० पुर्याउने निर्णयको भने स्वागत गरेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालीले विदेशमा घुम्नका लागि अघिल्लो आर्थिक वर्षको ११ महिनामा १ खर्ब १९ अर्ब रुपैयाँ खर्च गरेका छन्। असार महिनामा कति बाहिरियो तथ्यांक सार्वजनिक हुन बाँकी रहेको छ।

कोभिड माहामारीअघि २०१९ मा नेपालीले विदेशमा गएर ८९ अर्ब ५८ करोड खर्च गरेका थिए। पर्यटन क्षेत्रको आम्दानी भन्दा दोब्बरले नेपालीले विदेशमा खर्च गरिरहेका छन्। राष्ट्र बैंकले डलर सटही सुविधा बढाएर विदेश जान झन् प्रोत्साहन गरेको छ।

वाणिज्य बैंकहरुलाई डलर सटही सुविधा
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा कागजातको आधारमा वाणिज्य बैंकहरु मार्फत नै उपलब्ध हुने व्यवस्था गर्ने भएको छ।

मौद्रिक नीतिमा सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग र व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न र आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योग व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातहरुको आधारमा वाणिज्य बैंकमार्फत नै उपलब्ध हुने व्यवस्था गरिने उल्लेख रहेको छ।  

सूचना प्रविधि लगायतका सेवा निर्यात गरे वापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाईने उल्लेख गरेको छ।

त्यस्तै राष्ट्र बैंकले हवाई सेवा प्रदायकले विदेशमा खर्च गर्ने एक लाख डलरसम्म वाणिज्य बैंकबाटै साट्न पाउने व्यवस्था गर्ने भएको छ।

‘हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति/सिफारिस र तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुमार्फत पठाउन सकिने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .