कारोबार


खेर जाने खानाविरुद्ध उद्यमी मेटको लडाइँ

खेर जाने खानाविरुद्ध उद्यमी मेटको लडाइँ

एड्रिन मुरे
माघ ४, २०७६ शनिबार १२:४३,

धेरै मानिसका लागि राम्रो तलब पाइरहेको काम छोडेर झट्ट आफ्नै नयाँ व्यवसाय सुरु गर्नु कठिन हुनसक्छ तर डेनिस उद्यमी मेट लिक भने हाँसीहाँसी नयाँ व्यवसाय रोज्छिन्। उनले दुईपटक यसो गरिसकेकी छिन्।

सन् २००७ मा उनी मेनेजमेन्ट कन्सल्टेन्सी फर्म म्याककिन्सेमा काम गरिरहेकी थिइन्। त्यत्तिकैमा उनलाई अब काम परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो।

‘सायद म कुनै वास्तविक प्रभाव पर्ने सोचलाई लत्याइरहेकी थिएँ’, काम परिवर्तनको सोच आउँदै गर्दाको क्षण सम्झिन्छिन् मेट।

उनी न्युयोर्कमा थिइन्। सोही बखत जीवनलाई नयाँ मोड दिने स्थिति आयो। एक अञ्जान महिला उनको नजिक आइन् र हातमा एउटा पोस्टकार्ड थमाइदिइन्।

त्यसमा लेखिएको थियो– ‘हामीसँग जतिसुकै खत्रा सपनाहरु भए पनि तिनीहरुले सम्भव हुने कुराको सतह मात्र कोट्याउँन्।’

‘यो एकदमै राम्रो संकेत थियो’, ३८ वर्षीया मेट पुरानो दिन सम्झिन्छिन्, ‘म रातो बत्ती बलेको कारण सडकमा उभिइरहेको थिएँ, उनले मलाई पोस्टकार्ड थमाइन् र सुरुसुरु आफ्नो बाटो लागिन्।’

त्यसपछि मेटले यसलाई गम्भीर मनन गर्दै यसकै अनुशरण गर्ने निर्णय गरिन्। आफ्नो अफिसका सहकर्मी साथीहरु क्रिस्टिन बर्क र ज्याकोब जोन्कसँग व्यक्तिगत तालिम दिने एप ‘एन्डोमोन्डो’ ल्याउन साझेदारी गरिन्।

‘मैले जसरी पनि गरेकी हुनसक्छु’, उनी भन्छिन्, ‘तर, त्यतिबेला यो कुनै संयोग जस्तो लाग्दैनथ्यो।’

तर कोपनहेगनमा जन्मिएको यो विचार सफल बनाउने कुनै माध्यम थिएन।

त्यतिबेला अर्थात् आजभन्दा १३ वर्षअघि धेरै फोनहरुमा जीपीएस हुँदैनथ्यो। एन्डोमोन्डो लन्चपछिका सुरुवाती दिनहरु खल्ला भए। कसैले साइन अप गरेनन्।

कठिन अवस्थामा कसरी तयार रहने भन्ने कुरा मेटले सानैदेखि सिकेकी थिइन्।

A shop giving a customer a Too Good To Go bag

उनी पश्चिम डेनमार्कको सानो सहर जुटल्यान्डस्थित रिंगकोबिंगमा हुर्किएकी थिइन्। त्यतिबेला उनको परिवारले काष्ठसामग्रीको व्यवसाय गथ्र्यो। ‘मैले हुर्किने क्रममा व्यवसायको उतारचढाव देखेकै थिएँ’, उनी भन्छिन्।

एउटा उद्यमी जहिले पनि आशावादी हुने उल्लेख गर्दै उनी भन्छिन्, ‘हामीले सधैँ अर्को महिना चाहिँ फरक हुने आशामा काम गरिरह्यौँ।’

सन् २००८ मा एप्पलले एप स्टोर ल्यायो र स्मार्टफोनहरुको बिक्री पनि ह्वात्तै बढ्यो। तर पनि उनको कम्पनीले संघर्ष नै गरिरह्यो। एन्डोमोन्डोलाई पहिलो नाफा पाउन ६ वर्ष पर्खिनुपरेको उनी बताउँछिन्।

सन् २०१५ सम्म आइपुग्दा उक्त एप चलाउने संख्या २ करोड हुनपुग्यो। यसले अमेरिकी स्पोर्ट्सवेयर कम्पनी अन्डर आर्मरको ध्यान तान्यो।

‘उनीहरु विशेषगरी युरोपमा ब्रान्ड अवेरनेस (सचेतना) बढाउन चाहन्थे’, मेट भन्छिन्, ‘त्यसलाई हामी मद्दत गर्नसक्थ्यौँ किनकि हाम्रो धेरै प्रयोगकर्ता त्यहीँ थिए।’

अमेरिकी कम्पनीले एन्डोमोन्डोलाई ८ करोड ५० लाख डलरमा किन्यो। उनी त्यतिबेला ३३ वर्षकी थिइन्। त्यसपछि उनी र उनका दुई साथीहरु तत्कालै करोडपति बनिहाले।

‘आफूले स्थापना गरेको व्यवसाय बेच्नु साँच्चै अनौठो थियो’, उनी भन्छिन्, ‘व्यावसायिक रुपले भन्ने हो भने यो आफैँमा ठूलो सफलता थियो र म त्यो निर्णयबाट खुसी नै थिएँ।’

तर व्यक्तिगत रुपमा भने आफूले हुर्काएको व्यवसाय बिक्री गर्दा मेटलाई अप्ठ्यारो लागिरहेको थियो।

उक्त बिक्रीपछि पनि उनले एन्डोमोन्डो र यसको नयाँ कम्पनी छाडिनन्। टेक्सास र कोपनहेगन दुवैतिर कम्पनीको व्यवस्थापनमै बसिन्।

सन् २०१६ को अगस्टमा कोपनहेगनबाहिर बसमा उनलाई एउटा अवसर प्राप्त भयो। उनले आफ्नो अर्को मिसन तय गरिन्। त्यो थियो– खानेकुरा खेर नफाल्ने। सँगैको एउटा पेसेन्जरसँग उनी च्याट गर्न थालिन्। तिनै पेसेन्जरले उनलाई एउटा एप देखाए– टू गुड टु गो।

त्यतिबेलासम्म उनलाई समाजमा फुड वेस्ट (खानाको फोहोर) ठूलो समस्याजस्तो लाग्दैनथ्यो। तर, जब–जब उनी यसबारे अनुसन्धान गर्दै गइन्, पढ्दै गइन् र यसले जलवायुमा पार्ने प्रभावबारे जानकार भइन्। यो उनका लागि निकै चाखलाग्दो विषय बन्यो।

त्यसको केही महिनाअघि नै पाँच जना भर्खरका डेनिस उद्यमीले उक्त अनलाइन बजार सुरु गरिसकेका थिए। रेष्टुराँ र पसलहरुले बँचेको÷रहेका खानेकुरा संग्रहका लागि समय दिन्थे।
यसो गर्दा मानिसहरु छुट मूल्यमै एपको माध्यमबाट ती खानेकुरा किन्न सक्थे। यसले बढी भएका यस्ता खानेकुरा खेर जान पाउँदैनथे भने ती खानेकुरा बिक्रीबाट कम्पनीलाई पनि रकम जोहो हुन्थ्यो।

‘मुख्य कुरा के हो भने हामी समाजका यस्ता धेरै ठूला समस्या समाधान पनि गर्नसक्छौँ र सबैलाई फाइदा पुर्याउनसक्छौँ’, मेट भन्छिन्, ‘यो मेरा लागि साँच्चै शक्तिशाली लाग्यो।’

धेरै महिनापछि उनले ‘अन्डर आर्मर’ छाडिन् र ‘टू गुड टु गो’मा प्रमुख कार्यकारी भएर काम सुरु गरिन्। ‘मलाई योगदान गर्न सक्दिनँ जस्तो लागेको थियो भने म यसमा सायद आउँदिनथेँ कि !’, उनी भन्छिन्।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार विश्वको एक तिहाइ खानेकुरा खेर जाने गर्छ। देशहरुसँगै दाँज्ने हो भने कार्बनडाइअक्साइड उत्पादन हुने क्षेत्रमा फुड वेस्ट तेस्रो हो। त्योभन्दा अघि चीन र अमेरिका पर्छन्।

पछिल्ला वर्षहरुमा धेरै कम्पनीले यसलाई रोक्ने प्रयास गरेका छन्। ओलियो, फुडक्लाउड र कर्माजस्ता कम्पनीहरु यसमा पर्छन्। खानेकुरासम्बन्धी रिसर्च समूह आईजीडीका एलन हेयसका अनुसार यी एपहरुले फुड वेस्टसम्बन्धी सचेतना फैलाउन मद्दत गरिरहेका छन्। टु गुड टु गो एपले विशेषगरी खेर जानसक्ने खानेकुरा बिक्रीलाई प्रवद्र्धन गरिरहेको छ। यस्ता खानेकुरा छुट रकममा साँझपख किन्न सकिन्छ।

मेटको यस्तो अनौठो व्यवसाय अहिले विस्तारकै क्रममा छ। कम्पनीले ४ सय ५० जनालाई रोजगारी दिएको छ भने १३ युरोपेली देशमा यसले काम गरिरहेको छ। अब छिट्टै स्विडेनमा पनि विस्तारको क्रममा छ।

‘एन्डोमोन्डोले पहिलो १० लाख प्रयोगकर्ता पाउन तीन वर्ष कुर्नुप¥यो भने ‘टु गुड टु गो’ले १५ महिनामै १० लाख प्रयोगकर्ता पायो’, उनी भन्छिन्, ‘अहिले समय फरक छ र प्रविधि तयार छ।’

मेटका अनुसार यो युरोपको धेरै छिटो प्रभाव जमाउने एपमध्ये एक हो। यसका अहिले १ करोड ८० लाख प्रयोगकर्ता छन् भने दिनहुँजसो ४५ हजारका दरमा वृद्धि हुनेक्रम बढिरहेको छ।

यसमा विशेषगरी छुट खोज्ने विद्यार्थीदेखि वातावरणप्रति सचेत परिवार, ५० कटेका महिला नै मुख्य ग्राहक हुने गरेका छन्। त्यस्तै कम्पनीले ३० हजार खाद्य आपूर्तिकर्ताहरुदेखि एकर होटलसम्मलाई सम्पर्क गर्ने गरेको छ।

Mette Lykke

मेट यसलाई सामाजिक प्रभाव पार्ने कम्पनीका रुपमा वर्णन गर्छिन्। ‘हामीले कमाउने युरो असल कामका लागि हो’, उनी भन्छिन्।

कम्पनीले नाफा आर्जनलाई पनि ध्यान दिएको उनको भनाइ छ। तर, कहिले? यसको लागि समय नतोकिएको उनी बताउँछिन्। हाल सबै आम्दानी व्यवसायमै लगानी भएको र कम्पनी विकास र विस्तार हुँदै गइरहेको र त्यसैलाई आफूहरुले ध्यान दिएको उनी बताउँछिन्।

हाल यो कम्पनी हाँक्ने टोलीले २५ मिलियन खानेकुरा बचाउन मद्दत गरिसकेको छ। मेट यसलाई सुरुवात मात्रै मान्छिन्। आगामी ५ वर्षमा कम्पनीले एक अर्ब खानेकुरा बचत हुने उनको भनाइ छ। बीबीसी न्युजबाट अनुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad