कारोबार


राजस्व चुहावट रोक्नकै लागि प्रचण्डले राजस्व विभागको डीजी बनाएका थिए ढुंगानालाई

राजस्व चुहावट रोक्नकै लागि प्रचण्डले राजस्व विभागको डीजी बनाएका थिए ढुंगानालाई

फाइल तस्बिर


सागर न्यौपाने
साउन ४, २०८० बिहिबार १४:४६, काठमाडौँ

१० पुसमा प्रधानमन्त्री नियुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा आफूलाई केन्द्रित गर्ने बताएका थिए।

त्यसबेला ७ दल मिलेर सरकार बनेकाले अर्थमन्त्रालय एमालेको भागमा परेको थियो। गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा थियो।

राजश्व संकलन गर्ने निकायहरु अर्थमन्त्रालयसँग र राजश्व चुहावट रोक्ने जिम्मेवारी गृह मन्त्रालय मातहतमा हुन्छ। त्यसकारण यी मन्त्रालयले एक आपसमा सहजीकरण गर्नुपर्ने हुन्छ।

चोरी, तस्करीबाट वस्तु नेपाल भित्रिँदा सरकारको आम्दानीमा नै धक्का लाग्छ। हुन पनि यो वर्ष राजश्व संकलनमा निकै दबाबमा पर्‍यो। संकलित राजश्वले कर्मचारीको तलबभत्ता समेत पुगेको थिएन। साथमा अर्थतन्त्र एक खालको निस्क्रिय अबस्थामा थियो।

देशको अर्थतन्त्र निकै संकटको अवस्थामा रहेका कारण प्रधानमन्त्री समेत दबाबमा परेका थिए। त्यसबेला प्रचण्डले सबै मन्त्रीहरुलाई विश्वासमा लिँदै सुशासन कायम गर्ने घोषणा गरे।

तर त्यसका लागि उनले केही आक्रामक योजना अघि सार्नुपर्थ्यो। सोही अनुसार पहिलो काम राजश्व चुहावट रोक्ने रणनीति लिए।

उनले राजश्व अनुसन्धान विभागको नेतृत्व परिवर्तन गरेर अघि बढेका थिए।

‘संकटबाट उठेर आर्थिक समृद्धि हासिल गर्ने प्रधानमन्त्रीको योजना अनुसार उहाँले सुरुमा सचिवालय सानो र चुस्त बनाउनुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालखबरसँग भने।

अर्थतन्त्र र राजस्वसम्बन्धी राम्रो ज्ञान भएका सहसचिव नवराज ढुङ्गानालाई गत पुस १७ गते निजी सचिव नियुक्त गरे।  

त्यसअघि उपसचिव तहका कर्मचारीलाई प्रधामन्त्रीको निजी सचिव राखिन्थ्यो। 

सचिवालयलाई प्रभावकारी बनाउन भन्दै प्रचण्डले नयाँ सुरुवात गरेका थिए। 

प्रशासन पृष्ठभूमिका ढुंगानाले केही राजस्व कार्यालयहरुमा काम गरिसकेका थिए। 

ढुङ्गाना राजस्व चुहावट र यसको नियन्त्रणबारे काम गर्न सक्षम सहसचिव मानिन्छन्।  

सम्बन्धित समाचार

‘मुलुकको अर्थतन्त्र बिग्रनुको कारण पत्ता लगाउन जान्ने र बुझेकै कर्मचारीलाई साथमा राख्नुपर्छ,’ प्रचण्डको योजनाबारे उनको सचिवालयका एक सदस्यले भने, ‘पीएमले भन्नुभएको थियो, मेरै यो कार्यकालमा सुशासन दिलाउनु छ, अर्थतन्त्र सुधार्नुपर्छ। किन र कसरी बिग्रियो? यो खोजी गर्नुपर्‍यो।’

निजी सचिव भएकाले बढीजसो सूचना ढुङ्गानासँग आइपुग्थ्यो, उनी प्रधानमन्त्रीलाई रिर्पोटिङ गर्थे।

नेपालमा राजस्व चुहावट हुने केही ठाउँहरु छन्। 

पहिलो, व्यापारभित्र तस्करी, दोस्रो अवैध व्यापार वा वैध व्यापारभित्र हुने अवैध व्यापार, तेस्रो, न्युन बिजकीकरण र चौथो, करको दायरामा रहेका सिष्टमकै लिकेज।’

ढुङ्गानाले यसबारे प्रधानमन्त्रीलाई प्रष्ट बुझाएका थिए। ‘आर्थिक अवस्था कमजोर हुनुमा कि तस्करीमा ठूलो पैसा लगानी भइरहेको हुनुपर्छ,’ ढुङ्गानाले प्रधानमन्त्रीलाई गरेको रिर्पाेटिङबारे सचिवालयका ती सदस्यले भने, ‘कि धेरै लगानी अवैध व्यापारमा वा चोरीमा लागेको हुनसक्छ।’

त्यसबेला करको दायरामा ल्याउने र सिष्टमकै लिकेज रोक्नुपर्ने उनले बताएका थिए। 

‘राजस्व संकलनभित्र हुने विचलन रोक्न नसक्दा अर्थतन्त्रमा गम्भीर धक्का लाग्छ,’ ढुङ्गानाले प्रधानमन्त्रीलाई प्रायः  गरेको रिर्पोटिङबारे जानकार आचार्यले थपे, ‘अवैध व्यापार वा बैध व्यापारभित्र अवैध काम गर्नेलाई कारवाही नगर्ने हो भने त्यसले विकराल रुप लिन्छ।’

तर, एमालेसहित रास्वपा र राप्रपाले प्रचण्ड नेतृत्वको सरकार छोडे।

फागुन १२ मा कांग्रेससहित नयाँ गठबन्धन बन्यो। प्रधानमन्त्रीमा प्रचण्ड निरन्तर रहे।

नयाँ गठबन्धन बनेपछि अर्थ कांग्रेसको भागमा पर्‍यो भने गृहमन्त्रालय माओवादीले पायो। चैत १७ गते कांग्रेस सरकारमा सहभागी भयो। 

देशको अर्थतन्त्र अझै सुधार भएको थिएन। यद्यपि केही संकेत देखिन थाले पनि राजस्व संकलन लक्ष्यभन्दा निकै कम उठेको थियो ।

यस्तै, बजार चलायमान हुन सकेको थिएन।

यही अवस्थामा सहसचिव ढुङ्गानाले वैशाख र जेठमा त्रिभुवन विमानस्थलमा विशेष ध्यान दिन थाले।

प्रधानमन्त्रीले निरन्तर अनुसन्धान गर्न निर्देशन दिए। ढुङ्गानाले सूचना लिने क्रम जारी राखे। 

प्रधानमन्त्रीको निजी सचिव नियुक्त भएको ६ महिनासम्म ढुङ्गानाले अर्थतन्त्रबारे अध्ययन र विश्लेषण गर्दै धेरै सूचना संकलन गरिसकेका थिए।

उनले प्राप्त सूचना प्रधानमन्त्रीलाई रिर्पाेटिङ गर्दै गए।

असार १२ गते प्रधानमन्त्री प्रचण्डले निजी सचिव ढुङ्गानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाउने निर्णय गरे। यस्तै सहसचिव अर्जुन भण्डारीलाई निजी सचिव नियुक्त गरे। 

त्यहाँका महानिर्देशक नारायणप्रसाद सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगेर ढुङ्गानालाई महानिर्देशक बनाएको भन्दै आलोचना पनि भएको थियो। प्रधानन्त्रीमातहत रहने भएकाले उनी निर्णयमा अडिग रहे। 

यो निर्णय गर्नुको कारणबारे प्रधानमन्त्री सचिवालय स्रोत भन्छ, ‘अर्थतन्त्र धरासयी बनाउन ठूलै गडबडी पुष्टि भएपछि त्यही रोक्न लगिएको हो।’

उनलाई प्रधानमन्त्रीको निर्देशन नै थियो, ‘देशको ढुकुटी भर्नुछ, तपाईँले के गर्न सकिन्छ गर्नुहोला।’

राजस्व चुहावटबारे जानकार भएकैले उनले सबैतिर विशेष ध्यान दिए। 

‘एउटा मात्रै पक्षबाट गयौँ भने अन्य ठाउँ छुट्छ, त्यही भएर एकैसाथ सबैपक्षतिर ध्यान दिनुपर्छ,’ ढुङ्गाना भन्छन्, ‘राजस्व विचलन रोक्न सकियो भने मुलुकको अर्थतन्त्र सुधार हुन्छ।’

त्यहीक्रममा उनले असार अन्तिम साता ढुङ्गानाले त्रिभुवन विमानस्थलबाट अवैध सुन भित्रिरहेको सूचना पाएका थिए। 

नेपालमा प्रतिदिन सुन १५ केजी मात्रै ल्याउन राष्ट्र बैंकले कोटा दिएको छ। 

तर, राष्ट्र बैंकले तोकेको कोटाभन्दा धेरै बढी सुन भित्रिने गरेको नयाँ सूचना आएपछि ढुङ्गानाले थप निगरानी बढाए। 

बुधबार (साउन ३) त्रिभुवन विमानस्थलमा ठूलो परिणामको सुन भित्रिसकेको सूचना पाएपछि उनी खटिए। 

सय किलो बढी सुन त्रिभुवन विमानस्थलबाट जाँचपास भएर बाहिरिसकेको थियो। फुत्किसकेको सुन उनले तत्काल छापा मारेर पक्रन सफल भए।

नेपालको इतिहासमा यति ठूलो परिमाणको सुन एकै पटक बरामद भएको थिएन।

सुनमा कस–कसको संलग्नता थियो? अझै खुलिसकेको छैन। तर, राजस्व विभाग प्रष्ट भइसकेको छ,– ‘ठूलै रकम सुन तस्करीमा प्रयोग भइरहेको छ।’

प्रधानमन्त्री प्रचण्डले नजिकका भएर मात्रै ढुङ्गानालाई राजस्व अनुसन्धानको महानिर्देशक बनाएका थिएनन्, साँच्चै अर्थतन्त्रलाई कमजोर बनाउने गरी केही गतिविधि भएकै सूचना पाएर त्यो रोक्न खोजेका छन् भन्ने देखाएको छ। 

ढुङ्गानाले प्रधानमन्त्रीलाई कहिलेसम्म साथ दिन्छन् हेर्न बाँकी छ। किनभने राजस्व अनुसन्धान विभागलाई कमाउ अड्डाका रुपमा लिइन्छ। सबैभन्दा बढी महानिर्देशक फेरिने अड्डा त्यही हो। 

फेरि प्रधानमन्त्री मातहत रहने भएकैले प्रचण्ड रहन्जेल उनी टिकिरहन पनि सक्छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .