कारोबार


आईएमएफ टोलीलाई अर्थमन्त्रीले भनेः सम्भावित जोखिम व्यवस्थापन गर्न नेपाल सक्षम छ

आईएमएफ टोलीलाई अर्थमन्त्रीले भनेः सम्भावित जोखिम व्यवस्थापन गर्न नेपाल सक्षम छ

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ११:५९,

अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्टिकल (धारा) ४ मिसनको समापन बैठक सम्पन्न भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा आज भएको बैठकमा मिसन प्रमुख लाउरा जरमिलोले नेपालले पछिल्लो समयमा समग्र आर्थिक स्वास्थ्यमा गरेको सुधारको प्रशंसा गरेको अर्थ मन्त्रालयले जनाएको छ। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिव तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरुको समेत सहभागिता थियो।

वि.सं. २०७२ को भूकम्पपछि राजनीतिक स्थिरता, नीतिगत सुधार, विद्युत आपूर्तिमा भएको सुधार र पुनर्निर्माण क्रियाकलापले गर्दा नेपालको अर्थतन्त्र विगत केही वर्षहरुमा पूर्व अनुमान गरेभन्दा बढी विस्तार भएको, चालू पुँजी खाता तर्फको घाटा सुधार हुँदै गएको, कर्जा प्रवाहमा सुधार देखिएको, विदेशी मुद्राको सञ्चिति बढ्दै स्थायित्वतर्फ अग्रसर भएको, व्यापार घाटा क्रमशः कम हुँदै गएको, पछिल्लो समय नेपालमा गरिएको सुधारको प्रयासले व्यावसायिक वातावरण अनुकूल बन्दै गएको बताउँदै उक्त सुधार कार्यक्रमलाई संस्थागत, दिगो र थप प्रभावकारी बनाउन जोड दिनुपर्ने प्रमुख लाउराले बताइन्।

Photo IMF Article IV

उनले गरिबी निवारणमा नेपालले हासिल गरेको प्रगति तथा संविधानले मार्गनिर्देश गरेअनुसार वित्तीय संघीयता कार्यान्वयनमा छोटो समयमा नेपालले प्राप्त गरेको उपलब्धिको सह्राहना गर्दै कसिलो समष्टिगत आर्थिक नीति सहित वित्तीय स्थायित्व हासिल गर्नुपर्नेमा जोड दिएकी हुन्। उनले भन्सार र राजस्व प्रशासनमा पछिल्ला समयमा गरिएका सुधारका प्रभाव क्रमश देखिन थालेको र सो तथ्य आयातमुखी राजस्व परिचालन क्रमश आन्तरिक श्रोततर्फ स्थानान्तरण हुन गएको घटनाले पुष्टि गरेको उल्लेख गरिन्।

मिसन प्रमुख जरमिलोले भारतको अर्थतन्त्रमा आएको गिरावट, विप्रेषणमा हुनसक्ने सम्भावित कमी र प्रतिकूल मौसमका कारण कृषि उत्पादनमा आउने सक्ने कमीका कारण चालु आर्थिक वर्षमा नेपालले अनुमान गरे अनुसारको आर्थिक वृद्धिमा केही कमी आउनसक्ने आँकलन गरे पनि सुधारका प्रयास सही दिशातर्फ उन्मुख भएकोले मध्यम तथा दीर्घकालमा यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिने बताइन्। उनले वित्तीय पहुँच तथा समावेशितामा भएको प्रगति, मौद्रिक तथा वित्तीय क्षेत्रमा भएका सुधार प्रयासलाई निरन्तरता दिँदै मध्यम आय भएको मुलुकमा रुपान्तरण हुन पूर्वाधार लगानीमा अझ बढी जोड दिनुपर्ने उल्लेख गरिन्।

सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले मिसनले प्रतिवेदन तयार पार्न गरेको अथक प्रयास प्रति धन्यवाद दिए। उनले नेपालमा हाल अर्थतन्त्रका अधिकांश परिसूचकहरु सकारात्मक रहेका, करिब १ अर्ब अमेरिकी डलर बराबर वैदेशिक लगानीको सम्झौता भइसकेको, सहमति भइसकेका आयोजनाहरु तुरुन्त कार्यान्वयन गर्न सकिने अवस्थामा रहेको, केही ठूला आयोजनाहरु यसै वर्ष सम्पन्न हुने र केही आगामी वर्षमा सम्पन्न हुने अवस्थामा रहेको, रेलमार्ग निर्माण तथा सडक मार्गको स्तरोन्नतिका ठूला आयोजना तयारी अवस्थामा रहेका, पर्यटन क्षेत्रमा सुधारका संकेत देखिन थालेको, आगामी वर्षदेखि विद्युत उत्पादनमा वृद्धि भै निर्यात वृद्धि र आयात प्रतिस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने कारण आर्थिक विस्तारका संभावना प्रचुर रहेको बताए।

छलफलका क्रममा अर्थमन्त्रीले दक्षिण एशियाली मुलुक लगायत अन्य मुलुकहरुमा समेत आर्थिक क्षेत्रमा आएको गिरावटको समीक्षा गर्दै त्यसबाट नेपाललाई पर्नसक्ने नकारात्मक प्रभावलाई रोक्न सजक रहेको तथा सम्भावित जोखिमहरुलाई व्यवस्थापन गर्न नेपाल सक्षम रहेको बताए। नेपालको विशिष्ठ अवस्थाको बारेमा समग्र मूल्याङ्कन गरी सही निष्कर्षमा पुग्न उपयुक्त हुने राय दिए।

सो कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषका दक्षिण पूर्वी एशियाली मतदान समूहका कार्यकारी निर्देशक अलिसारा महासन्दना समेत सहभागी थिए। समापन बैठकअघि उनले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरी नेपाल र अन्तर्राष्ट्रिय मुद्रा कोष बीच वित्तीय र प्राविधिक सहयोगका क्षेत्रहरु बारे परामर्श गरेका थिए।

अन्तर्राष्ट्रिय मुद्रा कोषको यस मिसनले पुस २० देखि माघ २ सम्म विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका निकाय तथा पदाधिकारीहरु लगायत नेपालमा अवस्थित विकास साझेदारका प्रतिनिधिहरुसँग छलफल तथा प्राप्त सूचनाको अध्ययन र विश्लेषण गरी आफ्नो धारणा प्रस्तुत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad