लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि स्विटजरल्याण्डको ज्युरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ। विमानस्थल निर्माणको लागि सातवटा कम्पनीमध्ये छानिएपछि कम्पनीसँग बोर्डले प्रस्ताव मागेको हो।
बोर्डले शुक्रबार जारी गरेको सूचनामा सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनको दफा २५ बमोजिम एजी छानिएको उल्लेख गरेको छ। अन्तिम सूचीमा एजी मात्रै परेकाले विमानस्थल निर्माणको जिम्मा पनि उसैले पाउने पक्काजस्तै भएको छ।
एजीलाई मार्च १ गते (फागुन १८) सम्म लगानी बोर्डमा आवश्यक प्रस्तावसम्बन्धी कागजात पेश गर्न भनिएको छ।
सरकारले गत वर्ष चैतमा लगानी सम्मेलन गरी निर्माण गर्न इच्छुकलाई प्रस्ताव माग गरेको थियो। ज्युरिचसहित विमानस्थल निर्माणका लागि म्याट्रिक्स इन्टरप्राइजेज नेपाल, चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी, भारतको जीएमआर, कतार एयरवेज र फ्रान्सको भिन्सी ग्रुपले इच्छा देखाउँदै प्रस्ताव पेश गरेका थिए। यसमा लगानी बोर्डले सातमध्ये ६ वटा प्रस्तावकले मापदण्ड नपुर्याएको ठहर गरेको छ।
याे पनि
निजगढ विमानस्थल निर्माणका लागि छानिएको जुरिख एयरपोर्टको क्षमता के छ?
नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने निर्णय बोर्डले गरिसकेको छ। यसअघि उक्त विमानस्थल बुट प्रणाली वा पीपीपी मोडलमा बनाउने भनिएको थियो। बुट प्रणाली भनेको जसले बनाउँछ उसैले स्वामित्व लिएर सञ्चालन गर्ने र पछि हस्तान्तरण गर्ने प्रणाली हो। यसको लागत झण्डै ३ खर्ब ४० अर्ब रुपैयाँ हुने अनुमान छ।
विमानस्थल निर्माणका लागि अति नै आवश्यक वातावरणीय प्रभाव मूल्याकंन रिपोर्ट समेत स्वीकृत भइसकेको छ। तर हाल सर्वोच्च अदालतले विमानस्थलको काम रोक्न अन्तरिम आदेश जारी गरी सरकारसँग लिखित जवाफ माग गरेको छ।
स्विट्जरल्यान्डस्थित जुरिख विमानस्थलको स्वामित्व तथा व्यवस्थापन गर्ने कम्पनी ज्युरिच एयरपोर्ट एजी हो। यसको माउ कम्पनी फ्लुखाफन ज्युरिच एजी हो। यसले २० वर्षदेखि युरोप, दक्षिण अमेरिका तथा एशियाली देशहरुका ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण, सञ्चालन तथा सेयर स्वामित्व लिएर काम गर्दै आएको छ।

प्रतिक्रिया