भक्तपुरको सल्लाघारीमा अन्तर्राष्ट्रियस्तरको बिल्डटेक एक्स्पो शुक्रबारदेखि हुँदै छ। नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा उक्त एक्स्पो हुनलागेको हो।
महासंघले आफ्नो इतिहासमै पहिलोपटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको बिल्डटेक एक्स्पो निर्माण क्षेत्रमा रुचि राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा निर्माण व्यवसायीहरुलाई विश्वबजारमा आएका नयाँ–नयाँ प्रविधिको विषयमा जानकारी पाउने महासंघका अध्यक्ष रवि सिंहले नेपालखबरलाई जानकारी दिए।
‘महासंघले पहिलोपटक एक्स्पो गर्न लागेको हो। निर्माण व्यवसायीहरुलाई नयाँ प्रविधिसँगै सम्पूर्ण निर्माण सामग्रीबारे जानकारी पाउने थलो हो’, अध्यक्ष सिंहले भने।
एक्स्पोमा निर्माण क्षेत्रमा प्रयोग हुने उपकरण, इन्टेरियर डिजाइनका सामग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित सामग्रीहरु प्रदर्शन गरिने उनले बताए।
तीन दिनसम्म चल्ने एक्स्पोमा साना ठूला गरी १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु रहनेछन्।
महासंघको २१औँ साधारणसभा
यसैबीच, नेपाल निर्माण व्यवसायी महासंघको २१औँ साधारणसभा पनि एक्स्पोसँगै माघ ३ र ४ गते हुने भएको छ। देशभरका १ हजार ५ सयभन्दा बढी व्यवसायीको सहभागिता रहने साधारणसभाको तयारी पूरा भएको महासंघले बताएको छ।
अध्यक्ष सिंहले मुख्य एजेन्डा सार्वजनिक खरिद ऐन तथा नियमावलीको विषय हुने बताए। उनले सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधन र पूरा हुन बाँकी रहेका अन्य मागहरूका विषयमा साधारणसभामा छलफल गरिने बताएका छन्।

प्रतिक्रिया