ad ad

कारोबार


यातायात सामग्रीमा बाहिरियो ढुकुटीको ५ खर्ब, ५ वर्षमा ५७ खर्बकाे वस्तु आयात

यातायात सामग्रीमा बाहिरियो ढुकुटीको ५ खर्ब, ५ वर्षमा ५७ खर्बकाे वस्तु आयात

बसन्त अर्याल
माघ १, २०७६ बुधबार १०:१८,

बितेको पाँच वर्षमा यातायात क्षेत्रका सामग्री खरिदमा देशको ढुकुटीबाट अर्बौँ रुपैयाँ बाहिरिएको छ। नेपालमा आयात हुने रेल, हवाइ, अटोमाेटिभ र पानीजहाज तथा तिनका पार्टपुर्जा खरिदमा मात्रै ५ खर्ब १९ अर्ब ६ करोड रुपैयाँ बाहिरिएको हो।

आर्थिक वर्ष २०७१/०७२ देखि चालू आर्थिक वर्षको मंसिरसम्म कुल ५७ खर्ब ९० अर्ब बढी रकम नेपालबाट बाहिरिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। यसमध्ये अटोमोटिभमा सबैभन्दा धेरै ४ खर्ब १४ अर्ब २ करोड बढी र दोस्रोमा हवाइसाधनतर्फ १ खर्ब ४ अर्बको वस्तु आयात भएको हो। तथ्यांकअनुसार रेल वेसम्बन्धी ४५ करोड र पानीजहाजसम्बन्धी २२ करोडको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।

चालू आर्थिक वर्षको पाँच महिनामा कुल आयात ५ खर्ब ८१ अर्ब २५ करोडको हुँदा अटोमोटिभ क्षेत्रले ४१ अर्ब ३५ करोडको वस्तु आयात गरेको छ। चालू आवमा रेल वेसम्बन्धी एक करोडको आयात भएको देखिन्छ। सरकारले यो वर्ष रेल ल्यायो भने रेलसम्बन्धी आयात ह्वात्तै बढ्नेछ। मंसिरसम्म हवाइ क्षेत्रले १४ अर्ब ३७ करोडको आयात गरेको छ। त्यस्तै जल यातायातले पनि ६ करोडको आयात गरेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा १४ खर्ब १८ अर्ब बढीको आयात भएकोमा रेल वे १७ करोड, अटोमोटिभ ९१ अर्ब १५ करोड, हवाइ २३ अर्ब ४० करोड र पानीजहाजतर्फ ५ करोडको आयात भएको थियो।

आर्थिक वर्ष २०७४/०७५ मा कुल आयात १२ खर्ब ४५ अर्ब ४५ करोडको, रेल वे १४ करोड, अटोमेटिभ ८६ अर्ब ३१ करोड, हवाइ सवारी २३ अर्ब ४७ करोड र पानीजहाज २ करोड बढीको आयात भएको विभागले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आयात ह्वात्तै बढेको छ। उक्त आवमा ९ खर्ब ८४ अर्ब ३० करोडको कुल आयात भएको छ। यो वर्ष रेल वेसम्बन्धी सामग्री जम्मा ८६ लाखको मात्रै आयात भएको देखिन्छ भने अटोमोटिभ ७९ अर्ब ५० करोड, हवाइ सवारी १९ अर्ब ६५ करोड र पानीजहाजतर्फ १ करोड बढीको आयात भएको छ।

भूकम्प तथा नाकाबन्दीको कारण आर्थिक वर्ष २०७१/०७२ को तुलनामा २०७२/०७३ मा आयात घटेको देखिन्छ। २०७१/०७२ मा ७ खर्ब ८६ करोड आयात भएकोमा २०७२/०७३ मा ७ खर्ब ७४ अर्ब ७१ करोड मात्रै आयात भएको देखिन्छ। २०७२/०७३ मा रेल वे १२ करोड, अटोमोटिभ ६६ अर्ब २० करोड, हवाइ ९ अर्ब ३५ करोड र पानीजहाजसम्बन्धी आठ करोड रुपैयाँको आयात भएको छ।

आर्थिक वर्ष २०७१/०७२ मा पानी जहाजसम्बन्धी जम्मा ६० लाखको मात्रै आयात भएको देखिन्छ। उक्त वर्ष रेल वे १ करोड, अटोमोटिभ ४९ अर्ब ५१ करोड र हवाइ सवारी १४ अर्ब ८६ करोडको आयात भएको विभागले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .