ad ad

कारोबार


खर्च कटौती तलबाट होइन, राष्ट्रपति कार्यालयबाट गर्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

खर्च कटौती तलबाट होइन, राष्ट्रपति कार्यालयबाट गर्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

नेपालखबर
जेठ १७, २०८० बुधबार १५:३, काठमाडौँ

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्।

बुधवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन्। उनले बजेटमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य आन्तरिक स्रोतको कारण पुग्न नसक्ने बताए। उनले सरकारको आन्तरिक स्रोत नै कमजोर रहेको बताए।

उनले १५ औं योजनाको अन्तिम भएकाले सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य वैदेशिक लगानीमा सरकार लामो बोलेको अनुसार लगानी आए पुग्ने सम्भावना रहेको पनि बताए। उनले बैंकिङ क्षेत्रको निक्षेप र सरकारको बचतले समेत नपुग्ने भएकोले ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताए।

खतिवडाले नेपालको जिडिपीको ६ प्रतिशत मात्रै बचत रहेको भन्दै नेपालमा बचत प्रणाली कमजोर रहेको बताए। उनले सरकारले साधारण खर्च कटौतिको शुरुवात गर्नु राम्रो भएको बताए।

उनले अर्थमन्त्रीले खर्च कटौती तलबाट नभएर राष्ट्रपति कार्यालयबाट शुरुवात गर्न आवश्यक रहेको बताए।

उनले सामान्य मन्त्रालयहरुको ओभर टाइम, प्रोत्साहन भत्ता कटौतिमा १० अर्बको फरक परेपनि समग्र अर्थतन्त्रमा प्रभाव नपर्ने बताए।

सरकारले सुरक्षा रक्षासँग सम्बन्धित एउटै मन्त्रालयमा १० अर्बको बजेट बढाएपछि त्यसको असर विकास पुँजीगत खर्चमा भेट्न नसकिने उनको भनाई छ।

पूर्वअर्थमन्त्री खतिवडाले अब साउन १५ पछि खोलि दिनुपर्यो भनेर हस्ताक्षर गर्ने फाइल मात्रै मन्त्रालयमा आउने बताए। उनले विगत लामो समयदेखिको अर्थमन्त्रीहरु संसदीय प्रणलीमा अर्थतन्त्रका पोलीसी ट्रयापमा पर्ने गरेको बताए।

उनले भने,‘साँच्चै खर्च कटौतिको नीति लिने हो भने सरकारले टाउकोबाट शुरु गर्नुपर्छ। पञ्चायतको बेलामा खर्च कटौति गर्दा राजदबारबाट शुरु गरिन्थ्यो। अहिलेको राष्ट्रपतिको कार्यालयबाट शुरु गर्नुपर्छ। तलको कटौति गरेर केही अर्थ हुँदैन। प्रोत्साहन भत्ता ओभर टाइम भत्ता नदिने भने पनि पार लाग्दैन। अब केही दिन पछि देखि खोलि दिनुपर्यो भनेर साउन १५ देखि हस्ताक्षर गर्ने फाइल नै त्यही हुन्छ।’

उनले पुँजीगतभन्दा ऋणको सावाँ ब्याज भुक्तानीका लागि धेरै बजेट विनियोजन गर्नुपर्ने, राजस्वभन्दा चालु खर्चको आकार धेरै बनाउनु पर्ने भएकाले ट्रयापमा पर्ने समस्या रहेको बताए।
खतिवडाले आगामी वर्षको बजेट बनाउँदा अर्थमन्त्रीलाई चालु आर्थिक वर्षको बजेट अस्वाभाविक र अवास्तविक समग्र हिसावले भन्दा बजेट भन्न लायक नभएको बजेट अझ बढी ट्रयापमा पारेको बताए।

उनले चालु आर्थिक वर्षको बजेटको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउँदा फाउण्डेशन नै गलत भएपछि अर्थमन्त्रीले जति कोशिस गर्दा राम्रो हुन नसकेको बताए। उनले सरकारको बजेटमा नचाहिने किसिमले इस्पान्सनरि किसिमको पोलिसीमा जान खोज्दा पोलीसी ट्रयापमा परिने बताए।

पूर्वअर्थमन्त्री डा. खतिवडाले करका दरलाई लिएर पदको बाजी नराख्न अर्थमन्त्री डा. प्रकाशरण महतलाई सुझाव दिए। उनले अर्थमन्त्री आफूले गरेको कामको पूर्णजिम्मेवारी हुने हो पदबाट भाग्न नहुने बताए। उनले मन्त्रीले गरेको काममा छानबिन भए छानबिन गर्न तयार हुनु पर्ने बताए।

उनले अर्थमन्त्रीले आफूले गरेको निर्णयमा जीवनप्रायः मन्त्री जिम्मेवार हुनुपर्ने भन्दै पद गएपछि उम्कन नपाउने बताए। उनले करका दर हरेक आर्थिक अध्यादेशमा हेरफेर हुँदा सँधै शंका पैदा हुने हो भने आर्थिक ऐन नल्याए पनि हुने बताए। उनले  प्रणालीकै आवश्यकका आधारमा करका दर फेरिएको हुनसक्ने भन्दै आफू त्यसमा विश्वस्त रहेको बताए।

उनले अर्थमन्त्री मात्र इमान्दार भएर नहुने भन्दै कर्मचारीतन्त्र पनि इमान्दार हुन आवश्यक रहेको बताए।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .