ad ad

कारोबार


महासंघमा चन्द्र ढकाल : तथ्यसहित सरकारसँग प्रस्तुत हुने तयारी

महासंघमा चन्द्र ढकाल : तथ्यसहित सरकारसँग प्रस्तुत हुने तयारी

महासंघ अध्यक्ष चन्द्र ढकाल।


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १९:३, काठमाडौँ

उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वचयन भइसकेको छ। 

व्यवसायीहरुको नेतृत्वमा पुगेसँगै महासंघ अध्यक्ष चन्द्र ढकालले सरकारसँग नयाँ ढंगले प्रस्तुत हुने तयारी गरेका छन्। 

अहिलेसम्म सरकारसँग उद्योगी व्यापारीका समस्याहरु मात्रै प्रस्तुत गर्ने निजी क्षेत्र ढकालको नेतृत्वमा अब समाधानको उपायसहित अघि बढ्ने देखिएको हो।  

अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुुझाव लिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गरिरहेको अवस्थामा महासंघले आफ्ना सुझावको मस्यौदा बनाउँदै छ। यहीबाट ढकालले नयाँ ढंगबाट अघि बढ्ने तयारी गरेका छन्। 

अवैतनिक सल्लाहकारहरुको रुपमा उनले विषयविज्ञहरुलाई ल्याएका छन्। 

उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल छन्। उनी अर्थविद् हुन्। उनीबाहेक आयोगका पूर्वसदस्य डा गणेश गुरुङ छन्। उनी वैदेशिक रोजगार क्षेत्रका विज्ञ हुन्। 

त्यस्तै, नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा छन् जो वाणिज्य आपूर्ति क्षेत्रका विज्ञ हुन्। त्यस्तै विज्ञ समूहमा राजस्वतर्फका विज्ञ मानिएका शिशिर ढुंगाना छन् भने अर्थविद् केशव आचार्य छन्। समूहमा चर्चित अनुसन्धाता (रिसर्चर) डा. कल्पना खनाल समेत रहेकी छिन्।

उक्त विज्ञ समूहको पहिलो बैठक समेत बसिसकेको छ। विज्ञ समूहको गठनबाट महासंघका सल्लाह सुुझावलाई प्रभावकारी रुपमा सरकारमा पेश गर्न थप सहयोग पुुग्ने विश्वास गरिएको महासंघ अध्यक्ष ढकाल बताउँछन्। 

अवैतनिक सल्लाहकारहरु समावेश गरिएको टोलीले सम्बन्धित क्षेत्रको ठोस कुरा ल्याएर समाधानका उपायहरु खोजी सरकारलाई बुझाउने तयारीमा महासंघ छ। 

आर्थिक अवस्था कमजोर भइरहेको अवस्थामा महासंघ प्रभावकारी रुपमा उपस्थित हुन चाहिरहेको छ। 

कसरी काम गर्छ विज्ञले?
उक्त टिममा समावेश भएका केशव आचार्यका अनुसार बैठक बोलाउने काम महासंघकै सचिवालयले गर्छ। त्यसमा एजेण्डा विज्ञहरुको केही पनि रहँदैन। महासंघले नै समावेश गरेको एजेण्डामा छलफल हुन्छ। 

समितिका सदस्यहरुले त्यसमा सुझाव प्रदान गर्ने र आवश्यक तथ्य तथ्यांकहरु प्रदान गर्ने काम गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .