ad ad

कारोबार


अर्थमन्त्री महतको जवाफ : अर्थतन्त्र सम्हाल्नै नसक्ने गरी बिग्रिसकेको छैन

अर्थमन्त्री महतको जवाफ : अर्थतन्त्र सम्हाल्नै नसक्ने गरी बिग्रिसकेको छैन

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८० बुधबार १७:३५, काठमाडौँ

अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। 
     
बुधबार राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताए।

'अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या होइन। यो परिवेश कसरी विकास भयो र कहाँ–कहाँ सुधारको आवश्यकता छ भनेर हामीले सामूहिकरूपमा समाधानतर्फ जानुपर्छ', अर्थमन्त्री महतले भने, 'अहिलेको आवश्यकता भनेको अर्थतन्त्रलाई गति दिनका लागि सरकार र बाहिर बसेका सबै दलको साझा दृष्टिकोण बन्न जरुरी छ। त्यसमा हामी सहकार्य गरेर अगाडि बढ्नुपर्दछ।' 

अर्थतन्त्र सुधारका लागि सबै दल मिलेर साझा धारणामार्फत अघि बढ्नेबारे नेतृत्व तहमा छलफल अगाडि बढिरहेको पनि उनले बताए।

मुलुकको अर्थतन्त्र सम्हाल्नै नसकिने गरी खराब अवस्थामा पुगिनसकेको पनि अर्थमन्त्री महतको दाबी छ। 

'अर्थतन्त्र एकदमै कहालीलाग्दो अवस्थामा होइन। हामी अर्थतन्त्रलाई सुधारतर्फ उन्मुख गराउन सक्छौँ। अहिले देखिएका समस्यालाई हल गर्न सक्छौँ', उनले भने, 'त्यसका लागि ठोस प्रतिबद्धता हामीसँग छ। अवश्य पनि समस्याका चाङ छन्। सबै समस्यालाई हटाउन केही समय लाग्छ। केही धैर्य चाहिन्छ।' 

अहिले अर्थतन्त्रमा देखिएका दबाब र अप्ठेरा फुकाउन जरुरी रहेको डा महतको भनाइ छ। अर्थतन्त्रको समस्या अहिलेको वा यसभन्दा अघिको सरकारका कारणले सिर्जना नभएको पनि उनले स्पष्ट पारे। 

'यी एक-दुई वर्षमा आएका समस्या होइनन्। यसको एउटा शृङ्खला छ। त्यसमा समस्या थपिँदै थपिँदै गएर अहिलेको अवस्था आएको हो', उनले भने, 'अहिलेको सरकारले भर्खरै सिर्जना गरेको वा योभन्दा अगाडिको सरकारले एकै वर्षमा सिर्जना गरेको समस्या भन्ने होइन। लामो समयदेखिका विभिन्न समस्या जोडिँदै जोडिँदै आएर अहिलेको स्थिति बनेको हो।'

अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा आजको भोलि नै नतिजा देखाउन नसकिने पनि उनको भनाइ छ। तर सरकारले अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरिरहेको अर्थमन्त्री महतले दाबी गरे। 

कोभिड महामारीको समयमा मौद्रिक नीति खुकुलो बनाउँदा अहिले समस्या देखिएको उनको भनाइ छ। पूँजीगत खर्चको समस्या देखिनुमा यस वर्ष भएका चुनाव जिम्मेवार रहेको पनि उनको भनाइ छ। 

त्यस्तै, तरलता अभावका कारण ब्याजदर बढ्नु, पूँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको डा. महतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .