ad ad

कारोबार


रुपन्देहीको नयाँ गाउँमा ढुवानीग्राम निर्माण हुँदै

रुपन्देहीको नयाँ गाउँमा ढुवानीग्राम निर्माण हुँदै

प्रकाश न्यौपाने
पुस २३, २०७६ बुधबार ७:९,

अव्यवस्थित रुपमा छरिएर रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट) लाई एकै स्थानमा व्यवस्थित गर्ने उद्देश्यले रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ढुवानीग्रामको योजना अघि सारेको छ।

सबै ढुवानी व्यवसायीलाई एकै ठाउँमा एकीकृत गरी बजार क्षेत्रलाई जाममुक्त गर्न ढुवानी ग्राम निर्माण सुरु गर्न लागिएको उपमहानगरले जनाएको छ। यसका लागि उपमहानगरले वडा नं.–१२, नयाँगाउँको भैरहवा भन्ने स्थान छनौट गरिसकेको छ। यही ठाउँमा ढुवानी ग्राम अर्थात् ट्रान्सपोर्ट भिलेज बनाइँदै छ।

‘ढुवानीग्राम निर्माणपछि बढ्दो सवारी चापलाई कम गर्न सहयोग गर्ने नै छ, यसका साथै सहरको सुन्दरीकरणसमेत हुनेछ’, उपमहानगर प्रमुख शिवराज सुवेदीले भने । बढ्दो शहरीकरणले प्रदेश पाँचको अस्थायी राजधानीसमेत रहेको रुपन्देहीमा पछिल्लो समय सवारी चाप बढ्दो छ। यसले ट्राफिक व्यवस्थापनमा समस्या थपिँदो छ ।

अर्कोतर्फ प्रदेशको अस्थायी राजधानी भएपछि बुटवलमा सवारी थाप झनै बढीरहेको छ । ‘बजारको बीचबीचमा रहेका ट्रान्सपोर्टहरुले जथाभावी गाडी रोक्दा समस्या जटिल बन्दै गइरहेको छ। यसलाई व्यवस्थापन पनि हुने र बजार सुन्दरीकरण गर्न टेवा पुग्ने भएकाले योजना ल्याएका हौं’, नगर प्रमुख सुवेदीले भने ।

ढुवानीग्रामको गुरुयोजना नै बनाएर काम अगाडि बढाइएको छ । गत वर्ष माघमा नगर कार्यपालिका बैठकले निर्णय गरेअनुसार योजना अघि बढाइएको छ । ढुवानीग्रामको एक वर्षभित्र निर्माण सक्नेगरी उपमहानगर र रुपन्देही परिवहन प्रालिबीच ठेक्का सम्झौता भएको छ । उपमहानगरका तर्फबाट उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा र निर्माण कम्पनीका तर्फबाट प्रालिका अध्यक्ष कमल घिमिरे र कार्यदलका सदस्य माधव नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उपमहानगरले २०७६ असोज १८ मा मनसाय पत्र आह्वान गरेको थियो । ढुवानीग्राममा ५५० वर्गफिट क्षेत्रफलका ४९ वटा सेडहरु निर्माण हुनेछन्। ती सबै सेडहरु अन्तर्राष्ट्रिय मापदण्डका हुनेछन्। ढुवानीग्राम निमार्णपछि बुटवलका व्यस्त बजारमा हुने ढुवानी सोही क्षेत्रमा स्थान्तरण हुनेछन्। जसले बुटवलमा हुने भीडभाडलाई कम बनाउने र ढुवानीका सबै काम एकै ठाउँबाट व्यवस्थित तरिकाले हुनेछन्।

गुरुयोजनाअनुसार ढुवानीग्रामको कुल अनुमानित लागत रु.२३ करोड २४ लाख ७९ हजार छ। प्रतिसेड २६ लाख ३२ हजार तीन सय २० का दरले ४९ सेडको १२ करोड ८९ लाख ८३ हजार छ सय ८० रुपैयाँ तय गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए। ढुवानीग्राममा पार्किङ स्थल, व्यवसायिक भवनसहितको २ वटा होटल, मन्दिर, हेल्थपोष्ट, टायर मर्मतसम्भार पसल, प्रतीक्षालय, नुहाउने, युरिनलसहितका शौचालयहरु, अफिस, पुलिस चौकी निर्माण गरिनेछ।

सो क्षेत्रमा पहुचमार्ग, ढल तथा नाली, बिजुली र खानेपानी, शौचालय, तारबार लगायत संरचनाहरु बुटवल उपमहानगरपालिकाले निर्माण गर्नेछ। उपमहानगरले निर्माण गरिरहेको चक्रपथले यहाँको ढुवानीग्रामलाई पनि जोड्ने गरी योजना अघि बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .