चर्चित भारतीय अर्बपति मुकेश अम्बानी आज (अप्रिल १९) मा आफ्नो जन्मदिन मनाइरहेका छन्।
बजार पुँजीका हिसाबले उनको रिलायन्स इन्डस्ट्रिज भारतकै सबैभन्दा ठूलो कम्पनी हो। अम्बानी यसका प्रमुख हुन्।
भारतीय मिडियाका अनुसार अम्बानीले वार्षिक १५ करोड भारु तलब लिने गरेका छन्। पछिल्लो ११ वर्षयता उनको तलब यही स्तरमा छ।
तर कोभिड महामारीका दुई वर्ष उनले तलब नै लिएका छैनन्। रिलायन्सको बागडोर सम्हालेपछि उनले कम्पनीका लगानीकर्तालाई मालामाल बनाएका छन्।
तेस्रो ठूलो दानवीर
मुकेश अम्बानी दान गर्नमा सबैभन्दा अगाडि रहेको नवभारत टाइम्सले उल्लेख गरेो छ।
हुरुनको दातासूचीअनुसार अम्बानी भारतका तेस्रो ठूलो दानवीर हुन्। उनले गत वर्ष करिब ४ अर्ब ११ करोड भारु दान गरेका थिए। अम्बानी १ खर्ब ४ अर्ब डलर मूल्यवान रिलायन्स हाँकिरहेका छन्।
ब्लुमबर्ग अर्बपति सूचीअनुसार अम्बानी विश्वको १२औँ ठूला अर्बपति हुन्।
लगानीकर्तालाई बनाए धनी
अम्बानीले आफूसँगै लगानीकर्तालाई पनि मालामाल बनाएका छन्। उनले रिलायन्सको बागडोर सम्हालेयता धेरै नयाँ कारोबार सुरु गरेका छन्। उनले आफ्नो बुबाको निधनपछि सन् २००२ मा रिलायन्सको नेतृत्व लिएका थिए।
त्यसयता कम्पनीले ठूलो प्रगति गरेको छ। अहिले कम्पनीको बजार पुँजी १५.८४ लाख करोड भारु पुगेको छ। सन् २००३ को जनवरीमा कम्पनीको सेयर करिब ५५ भारु स्तरमा मात्र कारोबार गरिरहेको थियो। जब कि अहिले यसको सेयर प्रतिकित्ता २ हजार ३ सय ५३ भारुको तहमा पुगिसकेको छ।
यसरी हेर्दा उनले लगानीकर्तालाई ४ हजार १ सय ४२ प्रतिशत आम्दानी दिएका छन्। उदाहरणको लागि कसैले २० वर्षअघि कम्पनीको सेयरमा १ लाख लगानी गरेको थियो भने अहिले त्यसको मूल्य ४२ लाख भारुभन्दा धेरै पुगिसकेको छ।
Shares

प्रतिक्रिया