ad ad

कारोबार


बैंकको ब्याजदर घट्ने क्रमतिर जाँदैछ : प्रधानमन्त्री प्रचण्ड

बैंकको ब्याजदर घट्ने क्रमतिर जाँदैछ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
चैत २७, २०७९ सोमबार १३:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर बिस्तारै घट्दै जाने बताएका छन्। 

सोमवार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकको ब्याजदर घटाउनको निम्ति पनि आफूले प्रयास गरिरहेको बताए।

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेको सय दिनमा अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएको दाबी पनि गरे। 

उनले देशको अर्थतन्त्रमा धेरै संकट नदेखिएको बताए। दश महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको उल्लेख गर्दै यसलाई सकारात्मक र उत्साहप्रदक स्थितिको रुपमा लिनुपर्ने उनले बताए। 

उनले भने, ‘गएको तीन महिनाको रेकर्ड हेर्ने हो भने हामी बिस्तारै प्रगतितिर अगाडी बढिरहेका छौँ। धेरै चिन्ता गर्नुपर्ने स्थिति छैन। चोरी पैठारी रोक्नेदेखि अन्य सबै उपायहरु अवलम्वन गरिएको छ। बैंक ब्याजदर घटाउने बारेमा मैले राष्ट्रबैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालयको बीचमा लगातार बैठक गरेको छु। बिस्तारै बैंकको ब्याजदर घट्ने क्रमतिर जाँदैछ। अहिले आतंकको स्थिति छैन। तर यसो भन्नुको अर्थ सबै समस्या समाधान भयो अब ढुक्क भए हुन्छ भन्ने चाहीँ होइन। अहिलेपनि अर्थतन्त्रमा जटिलताहरु छन्। हामीले केही गम्भिर प्रयास गर्नुपर्ने आवश्यकता छ।’

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रुपमा ल्याउन लागिएको पनि बताए।

उनले परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव नहुने कुरामा सरकार स्पष्ट भएको बताए। उनले भविष्यमा आउने सरकारले समेत प्रेरणा लिन सक्नेगरी बजेट र योजनाहरु तर्जुमा गरिने बताए।

प्रधानमन्त्री दाहालले सरकार र नीजि क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .