किंग्स कलेजले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन गर्न लागेको छ।
समुदाय आफैँमा एउटा महत्वपूर्ण पाठ्यक्रम हो भन्ने अवधारणामा आधारित रहेर सञ्चालन गर्न लागेको यस शैक्षिक कार्यक्रममा कक्षा १२, ए लेभल्स तथा सो सरहका परीक्षा दिएका विद्यार्थीहरू सहभागी हुन पाउने कलेजले बताएको छ।
यस कार्यक्रमका दिक्षितहरूले प्राप्त गर्ने क्रेडिटलाई किंग्स् कलेज, संयुक्त राज्य अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटी र फिनल्यान्डस्थित कायानी युनिभर्सिटी अफ एप्लाइड साइन्सले अनुमोदित गर्ने कलेजले जनाएको छ।
‘समुदायमा असंख्य ज्ञान, शिप, प्रविधिका साथसाथै अनेकन कथा र अनुभव हुन्छन्’, कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल कार्यक्रमबारे बताउँछन्, ‘शिक्षण संस्था एक्लैले जीवन र जगतका बहुआयामिक पक्षहरू सिकाउन सम्भव छैन। जसको कारण समुदाय र शैक्षिक संस्थाहरुको सहकार्य महत्वपूर्ण रहन्छ।’
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले यस कार्यक्रमले शिक्षामा आमुल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
शिक्षालाई जीवन, समुदाय र शिपसँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै उनी भन्छन्, ‘शैक्षिक हबको रूपमा अगाडि बढेको पाँचखाल नगरपालिकासँगको सहकार्यमा संचालन हुने यस कार्यक्रमप्रति हामी उत्साहित छौँ।’
साथै विद्यार्थी र समग्र समुदायको सहकार्यमा उत्पादन हुने ज्ञानलाई कार्यान्वयन गर्न पनि उनको नगरपालिका तत्पर रहेको खरेलले जानकारी दिए।
कार्यक्रमको समग्र नेतृत्व गरिरहेका प्राध्यापक उद्ग खड्काले यस कार्यक्रमको डिजानदेखि कार्यान्वयनसम्ममा समुदाय र उद्योगको सहभागिता हुने बताए।
‘नेपालको उच्च शिक्षालाई माटो सुहाउँदो र जीवनोपयोगी बनाउन ‘कम्युनिटी’ र ‘युनिभर्सिटी’ जोड्ने यस पहलले नयाँ मानक स्थापना गर्दछ भन्ने कुरामा हामी ढुक्क छौँ’, उनी अगाडि थप्छन्।
कलेजले यस कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कारखाना, एफ वान सफ्ट, फुडमान्डु र काठमान्डु अर्गानिक्स उद्योग साझेदारका रूपमा रहने जानकारी दिएको छ। स्थानीय समुदायबाट प्रत्यक्ष साझेदारी पाँचखाल नगरपालिका र सर्वमंगला कलेजसँग गरिएको छ।
Shares
प्रतिक्रिया