बैंकरहरुले बैंकहरुको नाफाबारे चर्चा धेरै भए पनि अब चाँडै घट्ने बताएका छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा वाणिज्य बैंकहरुका सीईओहरुले चालू आर्थिक वर्षको अन्त्यतिर बैंक वित्तीय प्रतिवेदनमा नै घाटा देखिने अवस्था आएको बताएका हुन्।
बैंकिङ क्षेत्रको हालको अवस्थाबारे गभर्नर अधिकारीले सोमबार सबै बैंकको सीईओसँग छलफल गरेका थिए।
नेपाल राष्ट्र बैंकले विषम परिस्थिति वा नयाँ नीति लिनुपरेको खण्डमा सबै बैंकलाई सँगै राखेर छलफल गर्ने गर्छ। सोहीअनुसार सोमबार साँझ राजधानीमा वाणिज्य बैंकका सबै सीईओहरुलाई निम्ता दिएर गभर्नर अधिकारीले छलफल गरेका हुन्।
छलफलमा सबै वाणिज्य बैंकको उपस्थिति थियो। बैंकको अहिलेको परिस्थितिबारेको छलफलबाट सुरु भएको थियो। गभर्नर अधिकारीले सबै सीईओहरुलाई बोल्ने अवसर प्रदान गरेका थिए।
सुरुमा बैंकको आम्दानीमा असर पर्न थालेको र आर्थिक वर्षको अन्त्यसम्म धेरै बैंक घाटामा रहन सक्ने धेरै बैंकर्सले बताएका थिए।
एक वाणिज्य बैंकका सीईओका अनुसार पछिल्लो समय केही व्यवसाय तथा बजार सक्रिय बन्न नसकेको र त्यो बैंकमा समेत देखापरेको विषय उठान भएको थियो।
ती सीईओले नेपालखबरसँग भने, ‘खराब कर्जा बढेको यथार्थ हो। त्योभन्दा ठूलो चिन्ता निक्षेप र कर्जा सक्रियता हुनुपर्ने थियो। त्यो देखिएको छैन। त्यसको असर अबका दिनमा बैंकको वित्तीय प्रतिवेदनमा नै देख्न सकिने कुरा छलफलमा उठेको थियो।’
उक्त छलफलमा बैंकको पुँजीको विषयमा समेत कुरा उठान भएको थियो। बैंकहरुको पुँजीकोष कसिलो भइरहँदा राष्ट्र बैंकले पुँजी वृद्धिको चाहना राखेको आरोप बैंकर्सले लगाएका थिए।
त्यस्तै कस्ता व्यवसायहरु बैंकमा आबद्ध भएका छन्, तिनको आम्दानी कस्तो छ र ती विषयहरुमा निगरानी राख्न गभर्नरको जोड थियो।
पछिल्लो समय बैंकको निष्क्रिय कर्जा बढेकोले कर्जा नोक्सानी देखिन थालेको छ। सोमबार साँझको छलफल पनि उक्त विषयमा धेरै केन्द्रित भएको थियो।
बैंक तथा वित्तीय संस्थाले चालू अर्थिक वर्ष २०७९÷०८० को माघ मसान्तसम्म ३४ अर्ब ८३ करोड रुपैयाँ कर्जा नोक्सानी (प्रोभिजन) गरेका छन्।
माघ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले ४८ खर्ब ५९ अर्ब रुपैयाँबापत ३४ अर्ब ८३ रुपैयाँ नोक्सानी प्रोभिजन गरेका छन्।
गत वर्ष यसै अवधिमा बैंक तथा वित्तीय संस्थाले ४६ खर्ब ९० अर्ब रुपैयाँ कर्जाबापत १५ अर्ब ६३ करोड रुपैयाँ प्रोभिजन गरेका थिए। गत वर्षको तुलनामा चालू आवको ७ महिनामा प्रोभिजन १९ अर्ब २ करोड रुपैयाँ धेरै हो।
चालू आवको ७ महिनामा वाणिज्य बैंकको कर्जा नोक्सानी दर २ दशमलव ४९ प्रतिशत पुगेको छ। गत वर्ष यसै अवधिमा वाणिज्य बैंकको कर्जा नोक्सनी दर १.१८ प्रतिशत थियो। गत वर्षको तुलनामा प्रोभिजन दोब्बर पुगेको छ।
गत वर्षको ७ महिनामा विकास बैंकको कर्जा नोक्सानी दर १ दशमलव ४२ प्रतिशत रहेकोमा यो वर्ष बढेर २ दशमलव ८२ प्रतिशत पुगेको छ।
फाइनान्स कम्पनीको कर्जा नोक्सानी ७ दशमलव ८२ प्रतिशत र लघुवित्तको कर्जा नोक्सानी दर २ दशमलव ६३ प्रतिशत पुगेको छ।
गत वर्षको ७ महिनामा फाइनान्स कम्पनीको कर्जा नोक्सानी दर ७.५ प्रतिशत र लघुवित्तको १ दशमलव ३१ प्रतिशत थियो।
माघसम्म वाणिज्य बैंकहरुले मात्रै २९ अर्ब ५२ करोड रुपैयाँ प्रोभिजन छुट्याएका छन्। गत वर्ष यसै अवधिमा वाणिज्य बैंकले १२ अर्ब ७८ करोड प्रोभिजन छुट्याएका थिए।
विकास बैंकले माघसम्ममा ४ अर्ब ३८ करोड रुपैयाँ र फाइनान्स कम्पनीले ९३ करोड २ लाख रुपैयाँ प्रोभिजन गरेका छन्। गत वर्ष यसै अवधिमा विकास बैंकले २ अर्ब ३६ करोड र फाइनान्स कम्पनीले ४८ करोड ८ लाख रुपैयाँ रुपैयाँ प्रोभिजन छुट्याएका थिए।
फाइनान्स कम्पनीको औसत प्रोभिजन दर बढे पनि रुपैयाँ भने घटेको छ।
बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्थाअनुसार असल कर्जामा १ दशमलव १३ प्रतिशत, सूक्ष्म निगरानी ५ प्रतिशत, कमसल कर्जा नोक्सानीबापत २५ प्रतिशत, शंकास्पद कर्जाबापत ५० प्रतिशत र खराब कर्जा नोक्सानीबापत १०० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ।
नेपाल राष्ट्र बैंकले सक्रिय कर्जामा असल र सूक्ष्म निगरानीका कर्जा राखेको छ।
त्यसैगरी सूक्ष्म निगरानीमा १ महिनादेखि ३ महिनासम्म भाखा नाघेका कर्जा, ३ महिनादेखि ६ महिनासम्म भाका नाघेका कमसल कर्जा, ६ महिनादेखि १ वर्ष भाका नाघेका शंकास्पद, १ वर्षभन्दा बढी अवधिको भाखा नाघेको कर्जा खराब कर्जाको रुपमा वर्गीकरण गरेको छ।
प्रतिक्रिया