नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा भिड्न तीनवटा प्यानल तयार छन्। उनीहरु टिम घोषणा मात्रै गर्न बाँकी राखेर बसेका छन्।
अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आफ्नो प्यानलसहित निर्वाचनको तयारी गरिरहेका छन्।
उनीहरुको टिमले समेत अनौपचारिक पूर्णता पाएको छ। जसअनुसार तीनवटै टिमको प्यानल घोषणाको तयारी भएको छ।
यसअघि अन्जन श्रेष्ठले आफ्नो टिममा को–को रहने भनेर चिनाएका थिए। पुल्चोकमा आयोजित एक कार्यक्रममा उनले अनौपचारिक रुपमा आफ्नो टिम घोषणा गरेका थिए। तर घोषणा कार्यक्रम औपचारिक रुपमा गर्न बाँकी नै रहेको उनले बताएका छन्।
उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई समेत अब टिम घोषणाको लागि तयार भएर बसेका छन्। उनीहरुले टिम पूर्ण बनाएको बताएका छन्।
तर खास माहोल अझै सुरु नभएको आउँदो निर्वाचनका सम्भावित उपाधयक्षका एक उम्मेदवार बताउँछन्।
उमेशलाल श्रेष्ठ टिमबाट उपाध्यक्ष उठ्ने तयारी गरेका उनले भने, ‘मोटामोटी अनौपचारिक टिम बनेको छ। तर पनि निर्वाचनको खास माहोल अझै सुरु नभएको महसुस मलाई भएको छ।’
निर्वाचनको माहोल सुरु हुन बढी भोट होल्ड गर्ने व्यक्तिहरु तथा घरानाहरुले कुन टिमलाई सहयोग गर्छन्, त्यो विषय बुझ्नुपर्ने भन्दै उनले त्यो अहिलेसम्म स्पष्ट नभएको बताए।
महासंघको निर्वाचनको लागि अन्जन श्रेष्ठको टिममा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी छन्।
त्यस्तै उमेशलाल श्रेष्ठको टिममा अहिलेसम्मको अवस्थामा एसोसिएट उपाध्यक्ष भरत आचार्य वा गोपाल खनाल वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहने गरी टिम सेट भएको छ।
यता रामचन्द्र संघाईको भने एसोसिएट उपध्यक्षमा सन्दिप अग्रवाल, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र सुरकृष्ण वैद्य उठ्ने गरी टिम सेट भएको छ।
यसरी टिम सेट तिनै प्यानलबाट भए पनि योपटक महासंघको चुनावी माहोल नदेखिएको ती उम्मेदवारको भनाइ छ।
विगतका चुनावमा योभन्दा अगावै माहोल देखिने भए पनि अब हुने अध्यक्ष, अहिलेका अध्यक्ष र धेरै भोट होल्ड गर्ने व्यक्तिहरुको समर्थन कसलाई रहने भन्ने देखिएको छैन। विगतको चुनावभन्दा अहिले केही फरक भएको उनको ठम्याइ छ।
चन्द्र ढकाल अब अध्यक्ष बन्दै छन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएकोले यसअघि वरिष्ठ उपाध्यक्ष जितेका ढकाल अब अध्यक्ष हुँदै छन्।
उनी निर्वाचनमा निर्णायक हुनसक्ने धेरैको आकलन छ। तर अहिलेसम्म उनी मौन छन्।
तर उनका यसअघिका सारथिहरु उमेशलाल श्रेष्ठतर्फ छन्। हुन त यसअघि उनको टिममा वस्तुगत उपाध्यक्षको उम्मेदवार उमेशलाल श्रेष्ठ थिए। त्यस्तै एसोसिएट उपाध्यक्षको उम्मेदवार संघाई थिए।
श्रेष्ठ र सांघाई वरिष्ठ उपाधयक्षको तयारी गरिरहेका छन्। अहिले उमेशलाल श्रेष्ठको टिममा नै ढकालका अन्य सारथिहरु रहने देखिएको छ।
हेमराज ढकाल चण्डीराज ढकालका भाइ हुन्। यसअघि चण्डी ढकालले चन्द्र ढकाललाई सहयोग गरेका थिए। चण्डी ढकाल जिल्ला नगरको राम्रो भोट होल्ड गर्ने व्यक्तिको रुपमा लिइन्थ्यो। त्यस्तै भरत आचार्य र गोपाल खनाल समेत चन्द्र ढकालकै टिमका कार्यकारिणी सदस्य उम्मेदवार हुन्।
ढकालकै टिमको धेरै प्रोक्सी भोट होल्ड गर्नेहरु उमेशलाल श्रेष्ठको टिममा खुलेका छन्। तर चन्द्र ढकालले भने यस टिमलाई नै समर्थन गर्ने भनेर खुलेका छैनन्।
रामचन्द्र सांघाई र उमेशलाल श्रेष्ठले भने चन्द्र ढकाल आफ्नो टिममा रहने भनेर दाबी गरेका छन्।
आइतबार धनगढीमा आयोजित उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सभामा बोल्दै संघाईले चन्द्र ढकालकै टिमबाट एसोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित संघाईले अब पनि ढकालको समर्थन समेत प्राप्त हुने बताएका छन्।
त्यस्तै उमेशलाल श्रेष्ठले त भोट माग्दा चन्द्र ढकालकै नाम लिएर माग्ने गरेका छन्।
हालका अध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारकाको पनि निर्वाचनमा महत्वपूर्ण भूमिका रहने महासंघभित्रको बुझाइ छ। उनीहरुसमेत अहिलेसम्म मौन छन्।
प्रतिक्रिया