ad ad

कारोबार


चौकुने सिमेन्ट उद्योग : अघि बढेन निर्माण कार्य, १३ वर्षदेखि खानी 'होल्ड'

चौकुने सिमेन्ट उद्योग : अघि बढेन निर्माण कार्य, १३ वर्षदेखि खानी 'होल्ड'

दिनेश बुढा
चैत ४, २०७९ शनिबार १४:४०, सुर्खेत

वि.सं. २०३५ चौकुनेमा चुनढुंगा रहेको तथ्य पत्ता लाग्यो। चौकुनेमा चुनढुंगा रहेको पत्ता लागेपछि खानी तथा भूगर्भ विभागले ०३६ देखि ३९ सालसम्म विस्तृत अध्ययन गरेको थियो।

सम्भाव्यता अध्ययनले चौकुने क्षेत्र सिमेन्ट उद्योगका लागि उपयुक्त भएको निष्कर्ष विभागले निकालेको थियो। त्यसयता सरकारले त्यहाँ सिमेन्ट उद्योग स्थापना गर्ने भने पनि राजनीतिक अस्थिरताका कारण उद्योग सञ्चालनको काम अघि बढ्न सकेन। तर तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि २०६६ सालमा अजय सुमार्गी सञ्चालक रहेको मुक्तश्री इन्डस्ट्रिज प्रालिले उद्योग सञ्चालनको अनुमति पाएको थियो।

आर्थिक वर्ष २०६६/६७ मा चौकुने गाउँपालिकामा सिमेन्ट उद्योग स्थापनाका कम्पनीले उत्खनन् अनुमति पनि पायो। खानी तथा भूगर्भ विभागले मुक्तश्रीलाई उक्त अनुमति दिएको पनि १३ वर्ष पुगिसकेको छ, तर अझै चौकुनै सिमेन्ट उद्योगको काम अलपत्र परेको छ।

अहिलेसम्म कम्पनीले जग्गा खरिदको काम पनि पूरा गर्न सकेको छैन।

कम्पनीले अनुमति पाएपछि लाइसेन्स होल्ड मात्रै गर्ने काम गरेको भन्दै अनुमति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो। कम्पनीले पूर्वाधार अभावको तर्क पेश गरेपछि लाइसेन्स नवीकरण भयो, तर अझै कम्पनी स्थापनाको काम अघि बढ्न सकेको छैन।

सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिका ८ मा मुक्तश्रीले सात वर्षअघि कार्यालयमा ‍स्थापना गरेको थियो।

तर त्यो कार्यालयमा कर्मचारीहरू वर्षमा चार-पाँच पटक आउँछन्, घरधनी जीवन देवकोटालाई भाडा बुझाउँछन् र फर्किन्छन्।

कम्पनीले कार्यालयका लागि देवकोटाको घरमा तीन वटा कोठा भाडामा लिएको छ। मासिक ११ हजार रुपैयाँ भाडा बुझाउने गरेको छ।

मुक्तश्री, अजय सुमार्गीले सञ्चालन गरेको कम्पनी हो। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन्।

२०७६ असार ६ गते कम्पनीका अध्यक्ष अजय सुमार्गीले वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा चौकुनेमा स्थापना हुने सिमेन्ट कारखानाले २०७७ सालको भदौ महिनादेखि उत्पादन सुरु गर्ने बताएका थिए। त्यसबेला उनले सिमेन्ट उद्योग स्थापना हुनेमा कसैले शंका गर्न नपर्ने बताउँदै ०७७ देखि नै उत्पादन सुरु गरी भारतीय बजारमा बिक्री गर्ने दाबी गरेका थिए। 

‘कारखानामा सात सय जनालाई रोजगारी दिने र प्रतिदिन ६ सय मेक्ट्रिकटन सिमेन्ट उत्पादन गर्ने योजना रहेको छ,’ उनले भनेका थिए।

तर, चौकुने सिमेन्ट उद्योग सञ्चालन गर्ने वचन दिएर फर्किएका सुमार्गी त्यसयता सुर्खेत आएका छैनन्। 

स्थानीयहरू लामो समयसम्म उद्योग स्थापनाले गति लिन नसकेपछि लाइसेन्स रद्द गर्नुपर्ने बताउँदै आएका छन्। ‘उद्योग स्थापनाको कामले गति लिन नसक्नुमा कम्पनीको कमजोरी हो,' एक स्थानीयले भने, 'काम नगर्ने भए लाइसेन्स अर्कोलाई दिनुपर्छ,उद्योग स्थापनाको कामलाई ढिलाई गर्ने कम्पनीको लाईसेन्स खारेजी गर्ने ताकत सरकारले राख्न सक्नुपर्छ।’ 

उसो त नगरपालिकाले मुक्तश्रीको लाइसेन्स नवीकरण हुन नदिने निर्णय पनि गरेको छ। चौकुने गाउँपालिकाको पहिलो साधारण बैठकले उक्त निर्णय गरेको हो।

'विभिन्न बहाना बनाएर निर्माण कम्पनीले लाइसेन्स होल्ड गरेर राख्दा काम हुनसकेको छैन, उद्योग स्थापनाका लागि पटक–पटक ताकेता गर्दा पनि कम्पनीले प्रक्रिया अगाडि झन सुस्त बनेपछि पालिकाको बैठकबाट लाइसेन्स नवीकरणमा रोक लगाउने निर्णय गरेका छौँ,'  पालिका अध्यक्ष खड्क विकले बताए।  

उनले आफू काठमाडौंमा भएको र आइतबार मन्त्रालयसँग यसै विषयमा छलफल गर्ने जानकारी दिए। 'पहिले उहाँहरू उद्योगमा प्रयोग हुने उपकरण ल्याउन सडक भएन, पुल भएन, बिजुली भएन भन्नु हुन्थ्यो, तर अहिले उहाँहरूकै मापदण्डमा सडक पनि पुग्यो, बिजुली पनि पुग्यो तर अहिले जग्गा पाएनौँ भनेर काममा ढिलाई गरिरहनु भएको छ,' उनले नेपालखबरसँग भने, 'म आजभोली काठमाडौँमा छु। आइतबार मन्त्रालयमा गएर यसको बारेमा थप कुरा बुझ्ने छु।’ 

जग्गा खरिदको अन्तिम चरणमा छौं : मुक्ति श्री 
 

निर्माण कम्पनी मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजका साइट इन्चार्ज एवं आयोजना अधिकृत लोकबहादुर अधिकारीले उद्योग स्थापनाका लागि आवश्यक जग्गा खरिद अन्तिम चरणमा रहेको जानकारी दिए।

‘उद्योग स्थापनाका करिब १५० रोपनी जग्गा आवश्यक पर्नेमा हालसम्म करिब ८० रोपनी जग्गा खरिद गरिसकिएको छ। हामीले विभिन्न ठाउँमा जग्गा खोजिरहेका छौं,' उनले भने, 'कतै खरिद मूल्य नमिल्ने, कतै जग्गाधनी घरबाहिर हुँदा समस्या आएको देखिएको छ।’ 

यस्तै, आयोजना अधिकृत अधिकारीले अबको केही महिनामा आवश्यक जग्गा खरिद पक्रिया टुंग्याउने र जग्गा प्राप्त हुनेबित्तिकै उद्योग स्थापनाको काम अगाडि बढ्ने बताए। उनले भने, ‘पहिलो चरमा जग्गा खरिदको काम सकिएपश्चात् दोस्रो चरणमा उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणको काम सुरु हुने छ।’

खानी विभागले २०३६ सालदेखि २०३९ सालसम्म चौकुने र बराहतालको लखरपाटामा तीन सय मिटर ड्रिलिङ गरी ढुङ्गा परीक्षण गरेको थियो। खानी क्षेत्र चौकुने गाउँपालिका अन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओछपोखरीमा ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ। आयोजनाका लागि खानी विभागले १३ सय ८० रोपनी जग्गा अधिग्रहणको अनुमति दिएको छ। 

खानी स्थलसम्म पहुँच मार्ग विस्तार भइ सकेको छ। उद्योगका लागि आवश्यक विद्युत लाइनसमेत विस्तार भइ सकेको छ।

स्थलगत निरीक्षण गर्न जाँदैछौं : खानी विभाग 

खानी तथा भूगर्भ विभागका अनुमति तथा अनुगमन शाखाका उपसचिव शिवकुमार बास्कोटाले केही समयका चौकुने सिमेन्ट उद्योगको स्थलगत नीरिक्षण गर्ने बताए। उनले कम्पनीलाई बारम्बार उत्खनन्को काम थाल्न ताकेता गरेको भएपनि अटेर गरेपछि स्थलगत निरीक्षण गर्ने तयारी रहेको बताए।

‘एकपटक मुक्तश्रीले काम गर्दैन भनेर विभागले लाइसेन्स रद्द गरिदिएको पनि हो तर कम्पनीले अदालतबाट मुद्दा जित्यो,' उनले भने, 'उहाँहरुले भेरीको पुलबाट सिमेन्ट प्लान्टका पार्टस् लिन नसकिने तथा बिजुली र बाटो नभएको बताइरहनुभएको छ, तर पूर्वाधार बनिसकेका छन् हामी चाँडै निरीक्षण गर्न जाँदैछौं।'

पछिल्लो समय विभागले निरन्तर चासो लिएपछि मुक्ति श्रीले २ वटा माइन स्किम डकुमेन्ट पेश गरेको थियो। जसमध्ये एउटा विभागबाट स्वीकृत भएको छ, अर्को स्वीकृत हुने क्रममा रहेको उपसचिव बास्कोटाले जानकारी दिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .