कारोबार


वन पैदावार समितिका कर्मचारीले ७ महिनादेखि पाएनन् तलब

वन पैदावार समितिका कर्मचारीले ७ महिनादेखि पाएनन् तलब

नेपालखबर
फागुन २१, २०७९ आइतबार १३:५२, काठमाडौँ

वन तथा वातावरण मन्त्रालयअन्तर्गको वन पैदावार विकास समितिका कर्मचारीले गत भदौदेखि तलब पाउन सकेका छैनन्।

आफ्नो उत्पादित वन पैदावार बिक्री गरी कर्मचारीको तलबभत्ता बेहोरिरहेको समितिले गत असार १६ मा ल्याइएको नयाँ वन नियमावलीको परिभाषाअनुसार काठ, दाउरा बिक्री गर्न नसकेपछि समस्या उत्पन्न भएको जनाएको छ। 

समितिअन्तर्गतका सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षरोपण आयोजनाबाट उत्पादन हुने टिक, सिसौ, कर्मा, जामुन, अस्ना, टुनी, शिरिष, भुडकुल, गुटेल, बाँझी आदि प्रजातिका बल्लाबल्लीको राजस्व दर नयाँ वन नियमावलीमा उल्लेख गर्न छुट भएकाले बिक्री वितरणमा समस्या आएको समितिको भनाइ छ। 

समितिका आयोजना/परियोजनाबाट उत्पादन हुने लगभग ६० प्रतिशत काठ बल्लाबल्ली साइजका नै हुने र यिनै काठको बिक्री-वितरणबाट समितिको मुख्य खर्च चल्ने गरेको छ। नयाँ वन नियमावलीअनुसार उक्त प्रजातिका बल्लाबल्ली काठको राजस्व दरसमेत ठूला आकारका गोलिया काठकै रुपमा बुझाउनुपरेमा समितिले कुनै ‘ओभरहेड’ खर्च नपाउने भएकाले समितिको दैनिक काम चलाउन गाह्रो भएको शाखा अधिकृत अमरबहादुर चन्दले जानकारी दिए। 

नियमावलीले व्यवस्था गरेको बिक्रीको ‘नयाँ सूत्र’को प्रवधानका कारण एकातिर २७ दशमलव ३० प्रतिशत मूल्यवृद्धि भएको र अर्कातिर बल्लबल्लीको राजस्व दर उल्लेख नहुँदा गोलिया काठकै राजस्व दरमा कटान मुछान खर्च मात्र जोडी बिक्रीका लागि पटकपटक सूचना प्रकाशन गर्दासमेत बिक्री नभएको उनले बताए। 

उत्पादित काठका सम्बन्धमा १८ इन्चभन्दा कम गोलाइका काठलाई दाउरा, १८ देखि ३१ इन्च गोलाइसम्मका काठलाई बल्लाबल्ली, ३१ देखि ४८ इन्चसम्म गोलाइका काठलाई ‘बी’ वर्गको गोलिया र ४८ इन्चभन्दा बढी गोलाइ भएको काठलाई ‘ए’ वर्गको गोलिया काठमा वर्गीकरण गरिएको छ। समस्या समाधानका लागि मन्त्रालयमा पटकपटक आग्रह गर्दासमेत हालसम्म कुनै ठोस पहल हुन नसकेको समितिको गुनासो छ। 

हाल समितिको केन्द्रीय कार्यालयमा स्थायी आठ, करार पाँच र कार्यकारी अध्यक्ष एकजना, रतुवामाई आयोजनामा स्थायी १४, करार चार र दैनिक ज्यालादारीमा ३० जना तथा सागरनाथ परियोजनामा ३६ स्थायी, करार १० र दैनिक ज्यालादारीमा एकसय जना कार्यरत छन्। सबै कर्मचारीलाई तलब प्रदान गर्न मासिक करिब रु ७६ लाख खर्च भइरहेको छ। 

यसबाहेक करिब डेढ वर्षदेखि उमेरहदका कारण विभिन्न मितिमा अनिवार्य अवकाश लिएका १३ कर्मचारीले हालसम्म उपदान रकम प्राप्त गर्न नसकेको उनले जानकारी दिए। विकास समिति ऐन, २०१३ अन्तर्गत गठित समिति आफ्नो मातहतका वृक्षरोपण आयोजना/परियोजनामा छिटो हुर्किने प्रजातिका बोट, बिरुवाको वृक्षरोपण गरी हुर्किएका वयस्क रुख कटान गरेर उत्पादित काठ-दाउरा नेपाल सरकारलाई प्रचलित राजस्व बुझाई खुला प्रतिस्पर्धात्मक तरिकाबाट बिक्री गरी प्राप्त आम्दानीबाट सञ्चालन भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad