नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विभाजित माओवादी शक्तिहरु एक ठाउँमा उभिन सके अर्को क्रान्ति गर्न सकिने बताएका छन्।
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा गरेको अन्तरक्रिया कार्यक्रमलाई आइतवार सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले यसो भनेका हुन्।
'हामी फेरि क्रान्ति गर्न सक्छौँ। तर हिजोको जस्तो फेरि भरुवा बन्दुक खोज्नुपर्दैन, साम्राज्यवादीको खोसे पुग्छ', उनले भने,'अहिले त इन्टनरनेट र सामाजिक सञ्जाल सशक्त हतियार हो। त्यसलाई हामीले भरपूर उपयोग गरेर अर्को क्रान्ति गर्न सम्भव छ।'
उनले क्रान्तिका लागि अन्तर्राष्ट्रिय शक्तिलाई पनि एक ठाउँमा ल्याउन सकिने बताए। 'देशलाई मात्रै होइन अन्तर्राष्ट्रिय शक्तिलाई पनि ल्याएर अर्को क्रान्ति गर्न सकिन्छ', उनले भने, 'तर हामी कम्युनिष्ट नेतृत्वमा एउटा रोग छ। हाम्रो बिग्रेको कुरामा आत्मआलोचक हुन जरुरी छ। हामी आजीवन नेतृत्वमा बस्ने, कुर्सीमै मर्ने रोग छ। स्टालिन र माओले कुर्सीमै मर्ने गर्दा कम्युनिष्ट आन्दोलनमा पुस्तान्तरण हुन सकेन।'
उनले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ पुस्ता आउनुपर्ने बताए। 'अब नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ। म पनि हार्ने भएर गोरखामा चुनाव नलडेको होइन। जति पटक प्रधानमन्त्री भए पनि त्यही फोटो टाँस्ने हो', उनले भने, 'अब हामीले पछिल्लो ज्ञान विज्ञानमा अभ्यस्त हुन सकेमा क्रान्ति हुन्छ। नयाँ पुस्तालाई अघि सारेर हामी फेरि माओवादी एक हुन सक्छौँ।'
Shares

प्रतिक्रिया