ad ad

कारोबार


उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतलाई नगरकोटका स्थानीयले बाटोमै रोकेपछि

कमलविनायक–नगरकोट सडक बनाउन १ महिनाको समय
उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतलाई नगरकोटका स्थानीयले बाटोमै रोकेपछि

वसन्त अर्याल
फागुन १८, २०७९ बिहिबार १६:१८, काठमाडौँ

कमलविनायक–नगरकोट सडक ठेक्का लागेको ९ वर्ष भयो। २ वर्षमा सक्नुपर्ने सम्झौता भए पनि १५.७ किमि सडकको ८ पटक म्याद थप भइसकेको छ। 

तर काम भने अझै अलपत्र छ। यो सडकका ठेकेदार प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदा प्रसाद अधिकारी हुन्। वर्षौँ बित्दा पनि सडकको काम नभएपछि यहाँका स्थानीयबासी ठेकेदार अधिकारी र सरकारसँग आक्रोशित छन्।  

शपथ खाएलगत्तै अलपत्र कामको अनुगमनलाई तीव्रता दिइरहेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नाराणकाजी श्रेष्ठ सडकको अवस्था हेर्न बिहीबार नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवलाई लिएर नगरकोट जाँदै थिए। बास्तोला गाउँका स्थानीयले उनीहरुलाई रोके। उनीहरुमा ९ वर्षदेखिको आक्रोश स्पष्टै देखिन्थ्यो।  

‘ठेकेदार प्रधानमन्त्रीको घरबेटी हो। काम नगरे पनि समय थपिरहने? कालोसूचीमा किन नराखेको?’, बास्तोला गाउँका एक वृद्धले मन्त्री श्रेष्ठसँग भने, ‘प्रधानमन्त्रीकै संरक्षण छ। ठेकेदारले काम नगरे पनि सरकारले केही गर्दैन।’

यहाँका स्थानीयमा आक्रोशमात्र छैन, पटक–पटक आवाज उठाउँदा पनि समस्या समाधान नभएपछि आजित भइसकेका छन्। 

उनीहरुले कहिले ठेकेदारको फोटो टाँसेर विरोध गरे त कहिले सडकमा धानै रोपे। त्यसपछि अब छिट्टै बन्ने आश्वासन नपाएको होइन तर पनि अझै बन्नसकेको छैन।

बिहीबार अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले स्थानीयसँग १ महिनाको समय मागेका छन्। १ महिनामा ठेकेदारले काम नसके ठेक्का नै तोड्ने उनले आश्वासन दिएर फर्किएका छन्। 

‘तपाईंहरुको समस्या समाधान गर्नै आएको हुँ। ठेकेदारलाई १ महिनाको समय दिन्छौँ’, मन्त्री श्रेष्ठले स्थानीयलाई केही आश्वस्त पार्दै भने, ‘ठेकेदारको कारण बाटो नबनेकोमा सचेत छौँ। अब हामी त्यो सहँदैनौँ।’

सर्वसाधारणको गुनासो जायज भएको मन्त्री श्रेष्ठको स्वीकारोक्ति छ। केही महिनाअघि मात्रै भौतिक पूर्वाधारमन्त्री रेणु यादव आएर छिट्टै सडक सक्ने बताएकी थिइन्। तर काम हुन सकेन। 

‘पहिला रेणु यादव आएर बन्छ भन्नुभयो तर बनेन। फेरि नयाँ मन्त्री आए’, अर्का एक स्थानीयले अब त तत्काल बाटो बन्ने विश्वासै नभएको गुनासो पोखे, ‘फेरि मन्त्रीको पनि सरुवा होला तर बाटो बन्दैन।’

स्थानीयमात्र होइन, उपत्यकाबाट नजिकैको पर्यटकीय गन्तव्य नगरकोट जानेहरु सडककै कारण अप्ठ्यारो भोग्न बाध्य छन्। पर्यटकले बाटोको गुनासो सधैँ गर्ने होटल व्यवसायी समेत सुनाउँछन्। 

सडकको काम गर्ने भनेकै ९ वर्ष बित्दा ४–५ वर्षअघि गरेको कालोपत्रे समेत भत्किएको छ। ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धूलाम्य छ। बीच–बीचमा खाल्टाखुल्टी छन्। 

मन्त्री श्रेष्ठसँगै गएका भारतीय राजदूत श्रीवास्तव पनि कालोपत्रे बाटोको अवस्था देखेर असन्तुष्ट देखिए। 

‘बनिसकेको बाटो भत्किएको छ। यस्तो बाटो हन्तान्तरण गर्न हुँदैन’, राजदूत श्रीवास्तवले भने। 

‘ठेकेदारको नाम हेर्दिनँ’
उपप्रधानमन्त्री श्रेष्ठले आफूले ठेकेदारको नामभन्दा काम हेर्ने बताएका छन्। सडकको अवस्था हेरेपछि सोहीअनुसार आफू अघि बढ्ने भन्दै कारबाहीको संकेत गरेका छन्। 

‘मलाई ठेकेदारको नाम थाहा छैन। सरकारसँग कसैले ठेक्का सम्झौता गरेको थियो’, मन्त्री श्रेष्ठले भने, ‘जनवरीसम्मको समय थियो काम भएन। कुनै नामसँग मतलब छैन।’ 

अब काम र सम्झौतालाई मात्र हेर्ने मन्त्री श्रेष्ठको भनाइ छ। 

‘कुनै प्रसाद, बहादुरका आधारमा होइन कामअनुसार हुन्छ’, उनले भने। 

फागुन मसान्तसम्म समय दिएको उल्लेख गर्दै उनले केही समय गिट्टी बालुवाको कारण काम रोकिएको बताए। त्यसको लागि केही समय दिन सकिने उनको भनाइ छ। 

‘अब काम गर्न महिना थप गर्न सकिँदैन। दिनको हिसाबमा समय थप हुन्छ’, उनले भने। 

यो सडकको काममा भारतीय एक्जिम बैंकको सहुलियत ऋण रहेकाले भारतको समेत उत्तिकै चासो छ। 

‘सम्पन्न गर्नुपर्ने मितिपछि ७ वर्ष भइसक्यो। सरकारले अब विकास निर्माणको अवरुद्धता हेरेर बस्दैन’, उनले थपे, ‘अहिलेको काम देखेर सन्तुष्ट छैनौँ। अब १ महिनामा काम नसके ठेक्का खारेज गरिदिन्छौँ।’

ठेकेदारलाई समय थप गरिराख्ने तर बाटो नबन्ने अवस्था अब नहुने उनको भनाइ छ। नयाँ बाटो थप गर्दै जाने, भएको बाटो राम्रो नबनाउने अब नहुने बताए।

काम नगर्ने ठेकेदारको आफ्नै गुनासो 
यो सडकको ठेक्का सन् २०१४ मै लागेको हो। त्यसयता भारतीय एक्जिम बैंकसँग सफ्ट लोनको सम्झौता भई निर्माण भइरहेको छ। 

तर सडक किन नबनाएको भन्ने प्रश्नमा भने ठेकेदार आफैँ गुनासो पोख्छन्। 

‘कन्सल्टेन्ट हायर गर्न ६ महिना लाग्यो। सुरुमा दायाँ बायाँ बराबर जग्गा लिने सहमति थियो। खर्च बढ्ने हुँदा भित्ता मात्रै कटिङ गर्ने योजना बन्यो’, ठेकेदारको गुनासो छ, ‘बाटोमा जंगलको क्षेत्र पर्छ। रुख कटानको समस्या २०१८ मा मात्रै सम्पन्न भयो। त्यसपछि भुइँचालो गयो। कहिले निर्माण सामग्री अभाव भयो।’ 

निर्माण ठेक्का ढिला हुनुमा निर्माण कम्पनीको मात्रै दोष नरहेको ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनका अनुप अधिकारीले दाबी गरे। 

उनले भने, ‘अबको १ महिनामा सबै काम सक्छौँ।’

१० प्रतिशत हर्जना तिरेर भए पनि काम गरिरहेको उनको भनाइ छ। अधिकारीका अनुसार कुल सडकमध्ये २ किलोमिटर ‘डीबीएसटी’ गर्न बाँकी छ भने मोडमा आस्फाल्टसहितको पिच गरिनेछ।

२७ करोडमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर ३१ करोड पु¥याइएको छ। सडकको डिजाइन परिवर्तन भई अन्तिम भेरिएसन गर्दा २८ करोडमा झरेको कन्स्ट्रक्सनले जनाएको छ। 

१ महिनामा कालोपत्रे गर्न नसके ठेक्काबाट हात झिक्ने अधिकारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .