भारतसँग सीमा जोडिएको सर्लाहीका बजारमा भारतीय रुपैयाँ (भारु) को अवमूल्यन हुन थालेको छ।
स्थानीय व्यवसायीले भारुलाई नेपाली रुपैयाँ (नेरु) बनाउँदा पाँच रुपैयाँ कममा कारोबार गर्न थालेका छन्।
नेपाली र भारतीय मुद्राबीच दशकौँदेखि स्थिर विनिमय दर छ। नेपालमा १०० रुपैयाँ भारुको १६० रुपैयाँ नेरु तिर्नुपर्छ। अन्य देशका मुद्राको सटही दर हरेक दिन परिवर्तन भए पनि भारुको भने हुँदैन।
तर, सर्लाहीका बजारमा बिगत केही दिनदेखि व्यवसायीले एकसय रुपैयाँ भारुको नेपाली १५५ रुपैयाँमै खरिद बिक्री गरिरहेका छन्। सर्लाही सदरमुकाम मलंगवा, सर्लाहीका ठूला बजारहरु बरहथवा, हरिवन, लालबन्दी, बयलबास लगायतका ठाउँमा अहिले भारुको अवमूल्यन भएर कारोबार भइरहेको छ।
केही बेरअघि हरिवन बजारमा भेटिएका एक व्यक्तिले स्थानीय व्यवसायी अजय साहसँग एक हजार भारुको एक हजार ५५० रुपैयाँ मात्रै नेरु लिएर कारोबार गरेको सुनाए।
‘उनले त अझै घटाउन खोजेका थिए। १५३/५४ रुपैयाँ भन्दा धेरै दिन सकिँदैन भन्दै थिए, तर मैले मानिन,’ ती व्यवसायीले भने, ‘केही महिनासम्म उनीहरु नै १०० भारु १६२ रुपैयाँ नेरु दिएर खरिद गर्थे। तर, अहिले अवस्था उल्टो भएछ। किन यस्तो भयो बुझेको छैन।’
इलाका प्रहरी कार्यालय हरिवनका इन्चार्जसमेत रहेका प्रहरी नायव निरीक्षक जीवन खड्काले स्थानीय बजारमा भारुको अवमूल्यन भएर कारोबार भइरहेको सूचना अहिलेसम्म आफूले नपाएको बताए। ‘किन त्यस्तो भएछ, अब हामी खोजी गर्छौं,’ उनले भने।
सर्वसाधारणसँग १५५ रुपैयाँ नेरुमा खरिद गरेको भारु १०० ठूला व्यवसायीले भने १६० मै कारोबार गरिहेका हरिवनकै अर्का व्यवसायीले बताए।
‘यो पनि एक प्रकारको ठगी हो। यसलाई राज्यले नियन्त्रण गर्नुपर्छ,’ उनले भने।
प्रतिक्रिया