ad ad

कारोबार


यातायातमा कान्छो प्रविधि ‘पडवे’ : तारमा गुड्ने रेल नेपाल भित्र्याउने तयारी

सहरी विकासको बजेट संशोधन प्रस्ताव अर्थमा अड्कियो
यातायातमा कान्छो प्रविधि ‘पडवे’ : तारमा गुड्ने रेल नेपाल भित्र्याउने तयारी

काठमाडौंमा हुने पडवेको डिजाइन चित्र। तस्बिर : काठमाडौं पडवे


वसन्त अर्याल
माघ १७, २०७९ मंगलबार १२:३२, काठमाडौँ

नेपालमा सार्वजनिक यातायातमा नयाँ प्रविधि ‘पडवे’ ल्याउने तयारी भएको छ। 

सहरी विकास मन्त्रालयले नेपालमा माइक्रो रेलको रुपमा ‘हाइटेक प्रविधि’ भित्र्याउने योजना अघि सारेको हो। 

काठमाडौंमा मोनो रेल, मेट्रो रेल निर्माणको विषयमा केही वर्षयता छलफल चलिरहे पनि ‘पडवे’बारे खासै सुनिएको थिएन। 

तर मास ट्रान्सपोर्टको रुपमा पडवे प्रयोग गर्न सकिने तत्कालीन सहरी विकासमन्त्री मेटमणि चौधरीले बताएका थिए।  

चौधरीले काठमाडौंका जाम कम गर्न सार्वजनिक यातायातको रुपमा विकास भएको पडवे प्रयोग गर्न सकिने ब्रिफिङ गरेका थिए।  

सोसँगै सहरी विकास मन्त्रालयले गत असोज ११ गते अर्थ मन्त्रालयलाई ‘माइक्रो रेल’को अध्ययन गर्न बजेट संशोधनका लागि पत्र नै पठाएको थियो। 

‘काठमाडौंभित्र ट्राफिक व्यवस्थापन गर्न विभिन्न स्थानहरुमा माइक्रो रेल अर्थात् स्ट्रिङ प्रविधिमा आधारित यातायात निर्माण गर्न ३१ करोडबराबरको बजेट सहरी विकास कार्यक्रमबाट व्यवस्था गर्न अनुरोध छ’, सचिवस्तरीय निर्णयमा भनिएको छ। 

सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई रकमान्तर गर्न पत्र पठाए पनि अहिलेसम्म निर्णय भने भएको छैन।

नेपालमा काठमाडौंबाहेक लुम्बिनी प्रदेशले लुम्बिनी क्षेत्रमा माइक्रो रेल सञ्चालनको लागि बजेट विनियोजन नै गरेको छ। विश्व सम्पदाभित्र लुम्बिनी क्षेत्र पर्ने भएकाले सञ्चालनबारे अध्ययनको सम्झौता नै भइसकेको छ। 

काठमाडौंमा सार्वजनिक यातायात एकदमै कम छन् भने ट्राफिक जाम ठूलो समस्या बन्दै आएको छ। चालू आवको आर्थिक सर्वेक्षणअनुसार करिब ४० लाख बढी सवारीसाधन दर्ता भएका छन्।

पछिल्लो १ वर्षसम्म दर्ता सवारीसाधनमध्ये १.४ प्रतिशत मात्रै सार्वजनिक यातायात (बस) छन् भने ८० प्रतिशत दुईपांग्रे सवारीसाधन छन्। सबैभन्दा बढी सवारीसाधन काठमाडौं उपत्यकामै गुड्दा ट्राफिक चाप बढी हुने गरेको छ। 

काठमाडौं पडवे कम्पनी प्रा.लिका को–फाउन्डर तथा उपाध्यक्ष निल भट्टराई। तस्बिर : सरोज नेपाल

के हो पडवे यातायात?
पडवे प्रविधियुक्त यातायात प्रणालीको विकास बेलारुसका वैज्ञानिक एनाटोनी युनिट्स्कीले गरेका हुन्। 

युनिट्स्की स्ट्रिङ टेक्नोलोजिजको नेपालका लागि आधिकारिक साझेदार काठमाडौं पडवे कम्पनी रहेको छ। 

यसअघि पडवे सञ्चालनको लागि गोकर्णेश्वर नगरपालिकाले बजेट नै छुट्याएको थियो। 

‘नेपालमा भित्र्याउन खोजिएका प्रविधिको असफलतालाई विश्लेषण गरेरै नयाँ प्रविध ल्याउन खोजेका हौँ’, काठमाडौं पडवे कम्पनी प्रा.लिका को–फाउन्डर तथा उपाध्यक्ष निल भट्टराईले नेपालखबरसँग भने, ‘पडवे सञ्चालनमा जग्गा अधिग्रहणदेखि निर्माणमा समेत अवरोध हुने ठाउँ छैन।’

यूएईमा सञ्चालित पडवे

केवलकारभन्दा धेरै सस्तो
पडवे स्ट्रिङ अर्थात् तारमा गुड्ने रेल हो। यो कृत्रिम बौद्धिकता (एआई)को प्रयोगले सेल्फ अटोमेटेड (स्वचालित) हुन्छ। सामान्य रुपमा हेर्दा पडवे केबलकारजस्तै हुन्छ। 

तर केबलकारको केबल घुम्छ भने पडवेको केबलमा कार घुम्छ।

केबलकारलाई मास ट्रान्सपोर्टेसनमा प्रयोग गर्न धेरै महंगो पर्छ। ठीक विपरीत पडवे सञ्चालनमा लागत खर्च केबलकारको तुलनामा ८५ प्रतिशत कम हुनसक्ने भट्टराईले बताए। 

‘अन्डर ग्राउन्ड मेट्रो रेल बनाउने लागतको ४ प्रतिशतमै पडवे निर्माण हुनसक्छ’, उनले भने। 

अहिलेका सार्वजनिक यातायात सञ्चालन ३० देखि ४५ प्रतिशत लेवर कस्ट (श्रमिक लागत), ३० देखि ५० प्रतिशत विद्युत् वा इन्धन, १० देखि २० प्रतिशत मेन्टेनेन्स एन्ड रिपेयर (मर्मतसम्भार) र १० देखि १५ प्रतिशत बाँकी खर्च लाग्ने देखिएको छ।  

तर पडवे सञ्चालनमा यिनमा भन्दा २ देखि ३ गुणाले कम खर्च हुन्छ। जसमा लेबर कस्ट ५ देखि १५ प्रतिशत, विद्युत् महशुल १५ प्रतिशत, मेन्टिनेन्स १० प्रतिशत मात्रै लाग्छ।

पडवेमा युनिकार र युनिबसहरु सञ्चालन हुन्छन्। यसमध्ये युनिकारमा ६ जना, युनिबसमा १४ जनासम्म अट्छन्। यसलाई सार्वजनिक यातायातको रुपमा चलाउँदा युनिबसलाई जोडेर २८ वा ४२ जना बोक्नसक्ने बनाउन सकिन्छ। युनिबसले राउन्ड ट्रिप गरे १ घण्टामा १५ सय यात्रुलाई गन्तव्यमा पु¥याउन सक्छ। ‘रकेट साइन्स होइन। प्रयोग गर्न सकिने प्रविधि नै नेपालमा भित्र्याउन खोजेका हौँ’, उनले भने।

कम्पनीले पडवे टेक्नोलोजीको मोटरलगायत आफैँ बनाउँछ। आउट सोर्सिङ गर्नुपर्दैन। यसमा ५ वटा ट्राक र ११ वटा ट्रान्सपोर्ट सिस्टम हुन्छ। कुन ट्राक र ट्रान्सपोर्ट आवश्यक पर्छ ठाउँअनुसार त्यसको प्रयोग गर्न सकिने भट्टराईको भनाइ छ। 

विश्वमा ५ वटा कम्पनीले स्ट्रिङ बेस टेक्नोलोजीमा काम गरिरहेका छन्। ४ वटा कम्पनीको प्रविधि अझै प्रमाणित नहुँदा युनिट्स्कीको टेक्नोलोजी नेपाल भित्र्याउनलागेको उनले बताए। 

यसको लागि क्यानडाका इन्जिनियरलाई ९ महिना काठमाडौंमा राखेर नेपालमा विभिन्न ठाउँको सम्भाव्यता अध्ययन गरिएको थियो। 

‘नेपालमा नयाँ प्रविधि नसकेर आएका होइनन्। आर्थिकरुपमा र भौगोलिक रुपमा सञ्चालन गर्न नसकिने भएर हो’, पडवे सञ्चालन सम्भावनाबारे भट्टराईले थपे, ‘नेपालमा सम्भव छ कि छैन भनी गोकर्णेश्वरमा पूर्वसम्भाव्यता अध्ययन गरेका थियौँ।’

कोभिडको समयमा गोकर्णेश्वर नगरपालिकामा पडवे सञ्चालन गर्ने विषयमा छलफल भए पनि २ वटा पालिका जोडिने भएकाले समन्वय हुन सकेन। जब कि गोकर्णेश्वर नगरपालिकाले पडवे सञ्चालनको लागि २ करोड रुपैयाँ विनियोजन नै गरेको थियो। 

‘राइट अफ वे’लगायतको निर्णय संघीय सरकारले नै गर्नुपर्ने भएकाले योजना अघि बढ्न नसकेको हो। अहिले भने सहरी विकास मन्त्रालयले नै यसलाई अघि बढाएको छ। 

काठमाडौं पडवे कम्पनी प्रा.लिका को–फाउन्डर तथा उपाध्यक्ष निल भट्टराई। तस्बिर : सरोज नेपाल

प्रतिकिलोमिटर १० रुपैयाँमा यात्रु बोक्ने लक्ष्य
नेपालमा मोनोरेल सञ्चालन गर्न चिनियाँ टोलीले पूर्वसम्भाव्यता अध्ययन गर्दा धेरै २८ किलोमिटरको लागि ८७ अर्ब लग्ने अनुमान गरेको थियो। सोसँगै काठमाडौं महानगरले यो धेरै महंगो हुँदा अघि सारेन।

नयाँ योजना अघि सार्दा मुआब्जाको समस्या नेपालमा बढी हुने गर्छ। तर पडवेको लागि छुट्टै ‘राइट अफ वे’ नचाहिने हुँदा अहिले भइरहेका सडकको बीचमै पडवे सञ्चालन गर्न सकिन्छ। 

खोलाका दुवैपट्टि पोल राखेर पडवे सञ्चालन गर्न सकिने भट्टराईले बताए। उनका अनुसार यो सडकको बीचमा राखिने आकाशे पुलजस्तै हो।

‘हामीले कुनै पर्यटन गन्तव्य छानेर ७–८ सय भाडा लिनेभन्दा पनि सर्वसाधारणलाई लक्षित गरेर ल्याएका हौँ’, उनले भने, ‘प्रतिकिलोमिटर १० रुपैयाँमा यात्रुलाई बोक्ने लक्ष्य छ।’

विद्युतबाट चल्ने पडवेमा विद्युत् खपत एकदमै कम हुँदा सञ्चालन खर्च कम रहेको उनले बताए। सहर र भौगोलिक अवस्थाअनुसारको पोल उचाइ राख्न सकिन्छ। यसले गर्दा २० फिट माथिबाटै पडवे चलाउन सकिने उनले जानकारी दिए। 

पडवे १५० किलोमिटर प्रतिघण्टा गुड्छ। एउटा पोडमा ४ वटा मोटर रहेको हुन्छ। ३ वटा बिग्रिए पनि एउटाले स्टेसनसम्म पु¥याउँछ। चल्दा चल्दै लाइन गए १०० किलोमिटरसम्म ब्याकअपबाट गुड्न सक्ने प्रविधि यसमा छ। यसमा जीपीआरएस, इन्टरनेटसँगै रेडियो वेब समेत हुने उनी बताउँछन्। 

विश्वका अधिकांश देशले २०३० बाट पेट्रोल र डिजेलका गाडी हटाउने उद्घोष गरेका छन्। सार्वजनिक यातायातको रुपमा एउटा विकल्पको रुपमा पडवे हुने भट्टराई बताउँछन्। 

‘टाइम इज मनी (समय भनेकै पैसा हो)। मानिससँग समय नै छैन’, उनले भने, ‘समय बचत हुँदा थोरै महंगो तिर्न जो पनि तयार हुन्छ।’

प्रतिकिलोमिटर पडवे बनाउन ४० करोड
युनिट्स्की स्ट्रिङ टेक्नोलोजिज अन्तर्राष्ट्रिय इन्जिनियरिङ कम्पनी हो। जसले ओभरपास ट्रान्सपोर्टेसन प्रणालीको डिजाइन, निर्माण र मेन्टिनेन्स गर्दै आएको छ। 

कम्पनीले एलिभेटेड इलेक्ट्रिक रेल प्रविधिमा काम गर्दै आएको छ।  डा. एनाटोली युनिट्स्की यसका संस्थापक हुन्। २०० भन्दा बढी इनोभेसनको पेटेन्ट (नवप्रवर्तनको अधिकार) उनीसँग छ। अहिले ६०० बढी इन्जिनियरले उक्त प्रविधिको विकासमा काम गर्दै आएका छन्। 

व्यावसायिक रुपमा सञ्चालन गर्न टेष्ट सर्टिफाइड (प्रमाणित परीक्षण) हुनुपर्छ। पडवेको रिसर्च एन्ड डेभलप्मेन्ट सेन्टर बेलारुसमा छ। बेलारुस र दुवईमा यो सञ्चालनमा छ। बेलारुस चिसो मौसम हुने देश हो भने दुवईमा बढी गर्मी हुन्छ। विश्वको सबै ठाउँमा सञ्चालन गर्न सकिने गरी उक्त कम्पनीले प्रविधिको विकास गरिरहेको भट्टराई बताउँछन्। 

दुवईमा १०० किलोमिटरमा पडवेको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइरहेको छ। इजरायल, मौरिससलगायत आधा दर्जन देशमा यसको काम भइरहेको छ। 

प्रतिकिलोमिटर पडवे निर्माणमा ३ मिलियन (३० लाख) डलर लाग्छ। यसअनुसार १ किलोमिटर बनाउन ४० करोड नेपाली रुपैयाँ लाग्छ। युरोपियन स्ट्यान्डर्डको लागत हो। नेपालमा नै पाइने वस्तु प्रयोग गर्दा लागत घट्ने कम्पनीको दाबी छ। 

स्ट्रिङबेस्ड टेक्नोलोजी २०२० मा युरोपियन र अमेरिकन प्रमाणित भइसकेको छ। त्यसबाहेक चिनियाँ, भारतीय, अस्ट्रेलियन, क्यानेडियन, रुस स्ट्यान्डर्ड लिइसकेको छ। नेपाललाई चाहिने भूकम्प प्रतिरोधात्मक समेत रहेको छ। युनेस्कोले विश्व सम्पदामा सूचीकृत ठाउँमा राख्न समेत अनुमति दिएको छ।

एफडीआईसँगै नेपालीले लगानी गर्नसक्ने
काठमाडौं पडवे कम्पनीका अध्यक्ष क्यानेडियन नागरिक जान पिटर वाल रहेका छन्। 

कम्पनीका उपाध्यक्ष रहेका भट्टराईले हाईटेक मास ट्रान्सपोर्टेसन नेपालमा भित्र्याउने उद्देश्य रहेको बताए। थाइल्यान्ड, क्यानडा, स्विट्जरल्यान्डका लगानीकर्तासँग यसका लागि एक किसिमको समझदारी बनिसकेको उनको भनाइ छ। 

उनले भने, ‘स्वीकृति र डीपीआरसँगै यसमा वैदेशिक लगानी भित्र्याउन सक्छौँ।’ 

काठमाडौं पडवे नेपालको टेक्नोलोजी पार्टनरको रुपमा रहेको छ।  नेपालमा कुनै बैंक, व्यवसायीले लगानी गर्न चाहे खुल्ला नै रहेको उनले बताए। सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न सरकारले नै तदारुकता देखाउनुपर्ने बताए। 

‘पडवे हुँदा सहरको सुन्दरता नै फरक हुन्छ’, भट्टराईले भने, ‘यसले कुनै प्रकारको प्रदूषण हुँदैन। त्यसकारण पनि काठमाडौंलाई स्मार्ट सिटी बनाउन यसको आवश्यकता छ।’

थापाथलीमा रहेको काठमाडौं पडवे कम्पनीको कार्यालय। तस्बिर : सरोज नेपाल

पडवे सार्वजनिक यातायातसँगै कार्गोको रुपमा समेत प्रयोग गर्न सकिने उनको सुझाव छ। 

‘दुईवटा पोलको बीचमा ५० टनसम्म थेग्छ। २ वटा पोलको दुरी ३ किलोमिटरसम्म राख्न सकिन्छ। पूर्व–पश्चिम राजमार्गमा चलाउन सकिन्छ’, उनले भने, ‘सरकारी निकायलाई नयाँ प्रविधिको बारेमा जानकारी दिँदा ल्याउनुपर्छ सबैले भन्ने गरेका छन्। तर तदारुकता देखाउँदैनन्।’ 

उनले सरकारले पडवे सञ्चालनको लागि ‘राइट अफ वे’ दिए सञ्चालन गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .